+
+

प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्दा ओलीको प्रतिवाद

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ माघ २७ गते २०:४५

२७ माघ, काठमाडौं । संयुक्त संसद बैठकमा राष्ट्रपति विद्या भण्डारीको सम्बोधन सुनेर बालकोट लाग्नुअघि एमाले अध्यक्ष केपी ओली लोसपा अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो कारमा पस्न सहजीकरण गर्दैै थिए । ठाकुर तिनै नेता हुन्, जसले ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदैगर्दा समर्थन दिएका थिएनन् । विश्वासको मत चाहिँ दिएका थिए ।

ठाकुर गाडीभित्र पसेपछि छिर्नै लागेका ओलीलाई रोकेर सञ्चारकर्मीले सोधे, ‘सुदूरपश्चिम सरकार जोगाउन सक्नुभएन, काठमाडौंको सरकार के होला अध्यक्षज्यु ?’

ओलीले भने, ‘हेर्दैजाउँ ।’

स्पष्टवक्ता ओली आज बानेश्वरमा स्पष्ट सुनिएनन् । उसो त उनले आफूले चाहेकै व्यक्ति राष्ट्रपति बन्ने जिकिर नदोहोर्‍याएका होइनन् । तर बालुवाटार र बालकोटका पछिल्ला बैठकहरु उनले ‘चाहेकै व्यक्ति’ तर्फ लक्षित छैनन् । त्यसको असर उच्चस्तरीय संयन्त्र बैठकमै पर्न गयो । घरि स्थगन, घरि अर्को तिथिमा संयन्त्र अड्केको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका आइनपुगेको कारण देखाउँदै बिहीबार उच्चस्तरीय संयन्त्र बैठक रोकिएको थियो । शुक्रबार उनी केही ढिलोगरी आइपुगे, तर त्यसले कुनै नतिजा दिन सकेन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सुषुप्त द्वन्द्व बिस्तार हुँदै जाँदा त्यसको असर संयन्त्रमा पर्न थालेको हो । ओली संयोजक रहेको संयन्त्र बैठकमा रास्वपा सभापति रवि लामिछाने उपस्थित थिए । नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि सत्ता–बहिर्गमित तिनै लामिछानेलाई देखाउँदै ओलीले प्रधानमन्त्रीलाई भने, ‘उहाँहरु बाहिरिएको प्रोसेस नै त्यत्ति मिलेको जस्तो लाग्दैन प्रधानमन्त्रीजी । पुस १० को सहमति कार्यान्वयन गर्दै फेरि सरकारमा ल्याउनुपर्‍यो स्वतन्त्र पार्टीलाई ।’

प्रधानमन्त्रीले ओलीलाई ‘हुन्छ’ भन्न सकेनन् । ‘हुन्न’ भन्ने स्थिति नै थिएन । मौनतामै उनले आफूलाई सीमित राखे ।

बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै एक सहभागी नेताले भने, ‘पहिलेका बैठकमा उहाँहरुको सल्लाह ठ्याक्क मिल्थ्यो । बाहिर छुट्टै सल्लाह गरेर संयन्त्रमा आएजस्तो लाग्थ्यो हामीलाई । अचेल आ–आफ्नै लाइन छ ।’

ती नेताका अनुसार अभुतपूर्व विश्वासको मत पाएपछि प्रचण्डमा जुन आत्मविश्वास बढेको छ, त्यसलाई ओलीले सहज रुपमा पचाइरहेका छैनन् । क्याबिनेटमा नबसे पनि सत्तामाथिको सर्वाधिकार बनाएका ओलीलाई प्रचण्डले धीमा चुनौती पेश गर्न थालेका छन् ।

आज शुक्रबारको संयन्त्र बैठकमा त्यसको प्रत्यक्ष प्रभाव पर्‍यो । संयन्त्र बैठक सुरु हुने बित्तिकै प्रचण्डले राष्ट्रपति चुनावको प्रसंग उप्काएका थिए । हिजो बिहीबारमात्रै उनले दलका कार्यकर्ता राष्ट्रपति हुँदा दुःख पाएको भन्दै अब साझा र सर्वस्वीकार्य व्यक्तिको खोजी गर्ने टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको साझा उम्मेदवार भन्नेबित्तिकै एमाले अध्यक्ष ओलीले उनीतिर नहेरी, तर उनैलाई लक्षित गर्दै फर्काए, ‘अब यसमा सल्लाह गर्नुपर्ने कुरा के छ र ? त्यो त हामीबीचमा सहमतिमा पहिल्यै तय छ नि होइन र ?’

पुस १० मा ओली निवास बालकोटमा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिले प्रचण्डलाई प्रधानमन्त्री बनाएको हो । राष्ट्रपति र सभामुख एमालेको भागमा जान नेताहरु सहमत भएका थिए ।

प्रधानमन्त्रीले आजको बैठकमा राष्ट्रपति राष्ट्रकै अभिभावक भएकाले त्यसमा व्यक्ति छनोट हुँदा साझा एकताको सन्देश जानुपर्ने तर्क गर्न खोजे । तर ओलीले कांग्रेसको भ्रममा नपर्न र अरु कुनै किसिमको टिप्पणी गरेर समझदारी नबिगार्न परोक्ष चेतावनी दिए ।

एमालेको पछिल्लो सचिवालय बैठकमा ओलीले राष्ट्रपति चुनावको विषयमा कुनै टिप्पणी गर्ने बेला आइनसकेको भन्दै नेताहरुलाई नबोल्न निर्देशन दिएका थिए । संयन्त्रको आजको बैठकपछि नेताहरुले नयाँ सत्ता समीकरणका लागि असहजता बढ्दै गएको निष्कर्ष निकालेका छन् ।

‘सुदुरपश्चिममा विश्वासको मत नपाएर सरकार ढलेको, कांग्रेसका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले समर्थन गरेको देखिहाल्नुभो,’ एक नेताले अनलाइनखबरसँग भने, ‘एमालेको ठाउँमा माओवादीको मुख्यमन्त्री भएको भए कांग्रेसले खुरुक्क भोट हाल्थ्यो । यहीँबाट बुझ्नुस्, परिस्थिति कुन हदसम्म बिगार्न खोजिएको छ ।’

प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले सरकारका कतिपय स्वायत्त काम कारबाहीमा मन्त्रिपरिषदमै नभएका सदस्य हाबी हुन खोज्दा गलत सन्देश जाने भएकाले प्रधानमन्त्री रोकिन खोजेको तर्क गरे । ‘राष्ट्रपतिमा छलफल गरौं भन्ने प्रधानमन्त्रीको प्रस्ताव ओलीजीले मान्नुभएन, त्यसपछि ओलीजीले रास्वपालाई फेरि सरकारमा ल्याउनुपर्छ भन्दा प्रधानमन्त्रीले पनि नसुन्ने स्थिति बन्यो,’ ती नेताले भने, ‘शीर्ष तहमा असमझदारी सुरु भएको छ, तर यत्तिका कारण अहिले सत्ता समीकरणमै प्रतिकुलता आउला भन्ने मलाई लाग्दैन ।’

एमाले उपमहासचिव विष्णु रिमालले केही छिटफुट अवरोध देखिएको स्वीकार गर्दै यसका बाबजुद हालको सत्तासमीकरण अगाडि बढ्छ भन्ने विश्वासमा एमाले रहेको बताए । राष्ट्रपति चुनावका बारेमा अहिले नै कुनै निष्कर्ष निकाल्न हतारो हुने भन्दै उनले भने, ‘विभिन्न कोणबाट तर्कहरु आएका छन्, तर हामीले पुरानो गठबन्धन भत्काएर जुन नयाँ समीकरण बनाएका छौं, त्यसैभित्रको सहमति पालना हुन्छ । यसबाहेक अरु केही होला भन्ने लाग्दैन ।’

तर राष्ट्रपति पदका लागि आकांक्षी देखिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्लो ट्वीटमा उक्त पदको चुनावले देशमा थप कम्पन ल्याउन सक्ने देखिएको संकेत गरेका छन् । उनले भूराजनीति पनि यसै वरिपरि तात्तिएको बताए । प्रचण्डका लागि साबिकको चुनाव क्षेत्र छाडेका उनले अहिलेको घडीमा शीतल निवासको साँचो बुझ्न चाहेको प्रष्ट भएको छ । तर उच्च राजनीतिक सुत्रहरुका अनुसार प्रचण्ड कांग्रेस नेता कृष्णप्रसाद सिटौला, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा यस्तै कुनै पात्रलाई राष्ट्रपतिमा देख्न चाहन्छन् । एमाले अध्यक्ष ओलीले उनको इच्छा बुझेर असन्तुष्टि जनाइसकेको ती सुत्रहरु बताउँछन् ।

एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ, ईश्वर पोखरेलमध्ये एकलाई राष्ट्रपति उम्मेदवार खडा गर्ने तयारी छ, जसबाट प्रधानमन्त्री प्रचण्ड आशंकित र भयभीत देखिन्छन् । उनले विगतका दुई राष्ट्रपतिबाट दलीय चिन्तनभन्दा माथि उठ्ने काम नभएको तर्क दिएका छन् ।

भारत, चीन, अमेरिका, बेलायत, युरोपेली युनियन लगायत देशका कुटनीतिज्ञका सिलसिलेवार नेपाल भ्रमणका पछाडि आसन्न राष्ट्रपति चुनावमा आफू अनुकुलको पात्र खडा होस् भन्ने चाहना कहीँ न कहीँ अभिव्यक्त भएको बुझिन्छ ।

चैत १५ मा हुने डेमोक्रेसी समिटका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रचण्डलाई निम्तोपत्र पठाइसकेका छन् । भारतले त्यसभन्दा अगावै माओवादी विचारका प्रधानमन्त्रीलाई नयाँ दिल्लीका लागि कार्पेट बिच्छ्याउन चाहेको छ । सोमबार विदेशसचिव विनयमोहन क्वात्रा दिल्लीबाट दुईदिने भ्रमणमा आउँदैछन् । यसअघि नेपालका लागि भारतीय दूत रहिसकेका क्वात्रासँग रेगुलर सपिङ लिस्ट होइन, खासमा प्रचण्डलाई मोदीका तर्फबाट पठाइने निम्तोपत्र बुझाउनु मुख्य कार्यसूची रहेको छ ।
‘तेस्रो राष्ट्रपति को बन्ला भन्ने चासोमा त्यो मिटिङ पनि जोडिएको छ जस्तो लाग्छ,’ एक नेताले बताए ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?