+
+
मोरङमा आधुनिक कृषि बजार :

उद्घाटनको शिलालेख खुइलियो, चलेन कृषि बजार

हरि अधिकारी हरि अधिकारी
२०७९ माघ २८ गते १९:२९

२८ माघ, विराटनगर । १४ करोड सरकारी लगानीमा तयार भएको फलफूल तथा तरकारी बजार व्यक्तिगत टकरावका कारण अलपत्र परेको छ ।

विराटनगरलाई लक्षित गरेर कटहरी गाउँपालिका-१ मा निर्मित फलफूल र तरकारीको थोक बजार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ चैत २०७५ मा उद्घाटन गरेका थिए ।

ओलीले अनावरण गरेको शिलालेख अहिले खुइलिसकेको छ भने बजारको भौतिक संरचना भत्कन थालेका छन् ।बजार सञ्चालन भने अझै अनिश्चित छ ।

किन चलेन बजार ?

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजनाले साँघुरो र अव्यवस्थित विराटनगर महानगरपालिकाको गुद्री बजार सार्न १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँ (भ्याट बाहेक) लागतमायो बजार निर्माण गरेको थियो ।

निर्माणपछि विराटनगरका तत्कालीन मेयर भीम पराजुलीले गुद्री बजार बन्द गराएका थिए । तर, नेपाली कांग्रेसका मोरङ जिल्ला उपसभापति नागेश कोइराला बजार सार्ने निर्णयको विपक्षमा उभिए ।

नेपाली कांग्रेसबाटै मेयरमा विजयी पराजुलीको योजना बिफल पार्न कोइरालाले विराटनगर बसपार्क पछाडि रहेको आफ्नै जग्गा तरकारी  व्यापारीलाई भाडामा दिए ।

कोइरालाको जग्गामा पशुपति भगतसहितले बजार बनाएर गुद्रीका व्यापारीहरुलाई कटहरीको व्यवस्थित बजारमासर्नबाट रोके । कोही व्यापारी नआएपछि व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्टल बुकिङ खोल्दै, बन्द गर्दै गर्‍यो ।

पराजुलीपछि मेयर बनेका कोइराला महानगरपालिका बाहिरका संरचनाहरु चलाउने जिम्मेवारी आफ्नो नभएको बताउँछन् । ‘उहाँहरुले गुद्री सार्ने भएपछि व्यापारीहरु आएर जग्गा भाडामा माग्नुभयो, समग्र विराटनगरका लागि हो भन्ने लागेर मैले दिएँ,’ उनी भन्छन्, ‘टहरीको कृषि बजार विराटनगरमा पर्दैन पनि । त्यसबारे मेरो टिप्पणी पनि छैन ।’

गुद्री नसरेपछि अलपत्र परेको संरचनामा बजार चलाउन मन्त्रालयले २०७७ साउनमा नियमावली बनाएर विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई जिम्मेवारी दियो । प्रदेशका सहकारी संस्थाहरु मिलाएर बनाएको संघले पनि बजार चलाउन सकेन ।

‘विराटनगरमै नयाँ गुद्री बजार बनेपछि व्यापारी आएनन्,’ उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले भने, ‘विशिष्टीकृत सहकारी संघ बनाएर जिम्मेवारी दिएकामा त्यसले पनि कटहरीको बजार चलाउन सकेन ।अब के गर्ने भन्ने अन्योल छ।’

अहिले त मन्त्रालयले छलफलका लागि बोलाउँदा संघका प्रधिनिधि आउन पनि छाडेको उनले बताए । ‘मैले अस्ती बोलाउँदा उहाँहरु आउनुभएन,’ उनले भने, ‘नयाँ मन्त्री आउनुभएको छ, अब यो बजार सञ्चालनबारे छलफल गर्छाैं ।’

पाँच बिघा २ धुर जग्गामा निर्मित आधुनिक तरकारी तथा फलफूल बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, प्रशासनिक भवन, क्यान्टिन, क्लिनिक, बैंक, आराम कक्ष, शौचालय, पार्किङलगायत संरचना प्रयोगमा नआई जीर्ण बन्दै गएका छन् । २०७८ कात्तिकमा आएको बाढीले बजारको बाहिरी पर्खाल भत्काएको छ ।

पालिका अध्यक्ष भन्छन् : मेरो त आँसु आउँछ

कटहरी गाउँपालिका-१ माफलफूल तथा तरकारी बजार खोल्न निकै खटेकामध्ये एक हुन्, देवराज चौधरी । गत वैशाख ३० गते भएको दोस्रो स्थानीय तह निर्वाचनबाट पालिकाअध्यक्ष चुनिएका उनी बजारको पछिल्लो अवस्था हेर्दा आँसु आउने बताउँछन् ।

‘कटहरी क्षेत्रकै विकास होस् भनेर सबै लागेर बजार बनाइयो, निर्माण सम्झौतामा हस्ताक्षर गर्नेमध्ये म पनि एक हुँ,’ उनी भन्छन्, ‘अहिले यो संरचनाको अवस्था हेर्दा आखामा आँसु आउँछ । यसको माया त हामीलाईमात्र रहेछ ।’

पालिका अध्यक्ष चौधरीले संघ वा प्रदेश सरकारले चलाउन नसक्ने भए कटहरी गाउँपालिकालाई दिन माग गरेका छन् । त्यसका लागि उनले संघ र प्रदेशको सम्बन्धित मन्त्रालयलाई चिट्ठी पनि लेखेका छन् । ‘यति राम्रो संरचना नचलाएरै खुइल्याइसके,’ उनले भने, ‘पालिकालाई दिए हामी चलाएर देखाइदिने थियौं ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?