२९ माघ, काठमाडौं । उज्वल थापाप्रति कृतज्ञ नभए विवेकशील साझा पार्टीको इतिहास कृतघ्न बन्नेछ । वैकल्पिक राजनीतिमा आफ्नो भविष्य देखेर आएका, तर प्रियतावादी नाराहरुमा तत्कालको राजनीतिक फाइदा देखेर छिट्टै मार्ग परिवर्तन गरेका रवीन्द्र मिश्रको समीक्षा नगर्दा पनि यो पार्टीको इतिहासबाट ‘राजनीति’ छुट्न जानेछ ।
निरन्तर ‘एक्टिभिज्म’ गर्ने गोविन्द नारायण, मिलन पाण्डे, रञ्जु दर्शना, पुकार बम, कर्मा तामाङ, समीक्षा बाँस्कोटा, रमेश पौडेल इत्यादिको सूचीमा अरु थुप्रै नाम थप्न सकिन्छ । यिनीहरुमध्ये कसैले पार्टीलाई विगतको विवेकशील नेपाली दल जस्तो मात्रै देख्न चाहे । कसैले साझा पार्टीजस्तो देख्न चाहे । कसैले वैकल्पिक वामपन्थी पार्टीजस्तो । कसैले वैकल्पिक राप्रपाजस्तो ।
माघ २७ र २८ मा आफ्नो पहिलो महाधिवेशन सफल पार्दैगर्दा विवेकशील साझा पार्टीले यी सबैको यथोचित विश्लेषणमात्रै गरेको छैन, आफ्नो राजनीतिक कित्ता स्पष्ट गरेको छ । उसले लोकरिझ्याइँको लहरमा नबग्ने संकल्प गरेको छ । दैनन्दिन राजनीतिका उतारचढावमा तरंगित नभई वैकल्पिक राजनीतिको लामो यात्रा तय गर्ने वैचारिकी लिएको छ । यही वैचारिकीसहित विवेकशील साझा पार्टीको दुई दिने महाधिवेशनले ११ हजार शब्द लामो राजनीतिक दस्तावेज पारित गरेको छ ।
अनि यो पार्टीले दुई महिलाहरुलाई अध्यक्ष र महासचिव जस्ता मूख्य कार्यकारी पदहरुमा निर्वाचित गर्दै नयाँ–पुराना सबै दलहरुलाई एउटा शक्तिशाली सन्देश पनि दिएको छ । समीक्षा बाँस्कोटा अध्यक्ष चुनिँदा रञ्जु दर्शना महासचिव बनेकी छन् । सानो समूहबाट राजनीति सुरु गरेर राम्रै आयतनमा फैलिँदा यो दलले विभिन्न संकट झेल्नुपरेको थियो । राजनीतिक दस्तावेज पढ्दा विवेकशील साझा पार्टीमा गल्ती सकार्ने, अनुभवहरुबाट सिक्ने इच्छाशक्ति देखिन्छ ।
अनलाइनखबरले यो पार्टीले पारित गरेको दस्तावेजलाई केलाउने जमर्को गरेको छ । यसलाई उक्त दलले ‘परिवर्तनको संकल्प, सामाजिक न्याय र संमृद्धिको अठोट’ शीर्षक दिएको छ ।
यस दस्तावेजको पहिलो धारा, पहिलो अनुच्छेदको पहिलो वाक्यमा आफैंलाई प्रश्न सोधिएको छ, ‘हामीले किन नयाँ राजनीतिको यात्रा सुरु गर्यौं ?’
र, बाँकी ११ हजार शब्दहरु यसको जवाफमा खर्च भएका छन् । दस्तावेजमा भनिएको छ, ‘वास्तवमा हामीले थप एउटा पार्टी बनाउने रहर गरेका होइनौं । हामीले इतिहासको गतिलाई अझ अगाडि बढाउदै परिवर्तनको संकल्प, सामाजिक न्याय र समृद्धिको अठोटलाई साकार बनाउन नयाँ युगको नयाँ राजनीति स्थापित गर्न चाहेका हौं । हामी नयाँ राजनीति स्थापित गर्न चाहन्छौं र पार्टी त त्यसको एक साधन मात्र हो ।’
०६२/६३ शान्तिपूर्ण जनक्रान्तिलाई परिवर्तन मान्ने कि नमान्ने भनी विगतमा यसको राजनीतिक वैधतामाथि नै प्रश्न उठाउँदै आएका यो पार्टीका कतिपय नेताहरुभन्दा अघि बढेर विवेकशील साझाले त्यसको उपलब्धिका रुपमा आएको संविधानप्रति गौरव गरेको छ । तर त्यस लगायत परिवर्तनहरुबाट नागरिकले देखेका सपना पूरा हुने संकेत नदेखिएको भन्दै निराशा व्यक्त गरेको छ ।
विवेकशील साझाले सामाजिक न्याय, पूर्ण लोकतन्त्र र समृद्धिका मुद्दा उस्तै रहेको भन्दै असन्तुष्टि जनाएको छ । राज्य विस्तारै लोकतन्त्रका आधारभूत मूल्यमान्यता, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, मानव अधिकार र जनजीविकाका विषयमा अनुदार बन्दै गएको, भ्रष्टाचार तीब्र तथा राज्य दोहन चर्को भएको उसको ठहर छ ।
‘उल्टो राजनीतिक परिवर्तनका उपलब्धिहरुलाई उल्ट्याउने र उल्टो हिँड्ने प्रतिगामी विचारहरु संगठित हुँदै गइरहेका छन् । परिणाम जनता निराश छन् र सरकारले जनतामा थोरै पनि आशा जगाउन सकिरहेको छैन’, उसको ठहर छ ।
पहिलेझैं विचारका आधारमा मात्रै नभई आर्थिक स्वार्थका आधारमा देश–विदेशमा ध्रुवीकरण भइरहेको दस्तावेजमा उल्लेख छ । अरबी मोडल, स्केन्डिनेभियन मोडल, ल्याटिन अमेरिकी मोडल, युरोपेली, चिनियाँ मोडल जस्तै नेपालले आफ्नै मोडल खडा गर्न सक्ने उसको भनाइ छ ।
समाजवादी र पूँजीवादीहरुको डेढ शताब्दी लामो प्रयोग असफल भएको भन्दै यो पार्टी भन्छ, ‘हिजो समाजवादीहरुले राज्यनियन्त्रित पुँजीको प्रधानतालाई प्राथमिकता दिए । उदार पुँजीवादीहरुले बजार अर्थतन्त्रलाई प्रवर्द्धन गरे । झण्डै डेढ शताब्दीको अनुभवले भन्छ, आखिर यी दुबै मोडेलहरु असफल भए । अतः आज राज्य, बजार र नागरिकको समन्वयमा अर्थतन्त्र परिचालित हुन आवश्यक छ । आजको युग न त समाजवादी न त पुँजीवादी बरु समन्वयत्मक अर्थतन्त्रको युग हो ।’
विगतमा नारा नै नबनेका विषयहरु अहिले स्थापित भएको भन्दै यही परिवर्तनलाई आत्मसात गर्नुपर्ने पार्टीको निर्माणमा वकालत गरिएको छ । दस्तावेजमा थुप्रै नयाँ विषय उठाइएको छ ।
एउटा अर्को प्रसंगमा भनिएको छ, ‘हिजो लैंगिक अल्पसंख्यकको मुद्धा थिएन, आज त्यो प्रखर बनेको छ । आज प्राकृतिक स्रोतको संरक्षण, पर्यावरण, वैकल्पिक उर्जा जस्ता विषयहरु राजनीतिका महत्वपूर्ण मुद्धा बनेका छन् । हाम्रै सन्दर्भमा हिजो हामी लोकतन्त्रका लागी लड्यौं । लोकतन्त्र प्राप्त भयो । तर अब हाम्रो लागि लोकतन्त्रको प्रवर्द्धन, विकास, सामाजिक न्याय र समृद्धिका मुद्धाहरु महत्वपूर्ण बनेका छन् । मुद्दाहरुमा परिवर्तन आउनु यो युगको अर्को महत्वपूर्ण विशेषता हो । यसर्थ नै आजको युगले नयाँ राजनीतिको अपेक्षा गरेको छ । त्यो नयाँ राजनीतिनै हामीले चाहेको राजनीति हो । त्यो नयाँ राजनीतिलाई नै हामीले वैकल्पिक राजनीति भनेको हो । र, त्यही राजनीति नै विवेकशील साझा पार्टीले गर्न चाहेको राजनीति हो ।’
दस्तावेजको भाषामा विगतमा कांग्रेस र कम्युनिस्टहरुले प्रयोग गर्ने गरेका भाष्यहरुको आफ्नै किसिमको प्रभाव झल्के पनि विवेकशील साझा पार्टीले त्यसलाई मौलिकतामा ढाल्ने कोसिस गरेको छ । उसले अब विगतका वैचारिक रुझानमा मात्रै आधारित भएर राजनीति गरे बदलिँदो समयको पदचाप सुन्न नसकिने ठहर गरेको छ ।
महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष केशव दाहालले यो दस्तावेज महाधिवेशनमा टेबुल गरेका हुन्, जसमा सामान्य परिमार्जनसहित पार्टीले अनुमोदन गरेको छ । यसको अन्तिम सम्पादित रुप हामी छिट्टै सार्वजनिक गर्नेछौं ।
प्रतिक्रिया 4