 
																						१ फागुन, दाङ । ७५ वर्ष पुगेका दाङ घोराहीका दुखराम चौधरीलाई सम्झना छ, सशस्त्र द्वन्द्वताका माओवादीले जनतामा बाँडेका परिवर्तनका सपनाहरु । माओवादी भन्थे, ‘यो लडाइँ हाम्रो लागि होइन, जनताका लागि हो । जातीय छुवाछुत, वर्गीय विभेद जस्ता सबैखाले विभेदहरु अन्त्य हुनेछ । हाम्रा जीवन बदल्नेछ ।’
राजनीतिक व्यवस्थासँगै सामाजिक व्यवस्था उथलपुथल गर्न माओवादीले नयाँ जनवादी क्रान्तिको लक्षसहित सशस्त्र द्वन्द्व सुरु गरेको थियो । द्वन्द्व सुरु हुँदै गर्दा उनलाई पनि लागेको थियो, द्वन्द्वका त्रासपूर्ण दिनपछि समाजमा भएका असमानता र विभेद, गरीबी र उत्पीडन सबै अन्त्य हुनेछन् । हाम्रा दुःख सकिनेछन्, सुखका दिन आउला ।’
उनले आफूजस्तै किसान मजदुरको जीवनमा ठूलै हेरफेर आउला भन्ठानेका थिए । त्यहीक्रममा उनले द्वन्द्वको चर्काे मूल्य पनि चुकाउनु पर्यो । उनकी माहिली छोरी सीता चौधरीलाई ८ असार ०५९ मा सेनाले घर नजिकैको जंगलमा गोली हानी हत्या गर्यो । छोरी गुमाउनुको पीडा भोगे पनि परिवर्तनको आशामा उनले जसोतसो मन बुझाए । उनलाई लागेको थियो, ‘छोरीको रगतको मूल्य खेर जाने छैन ।’
२७ वर्षपछि आज उनलाई छोरीको बलिदानी खेर गएजस्तो लागेको छ । किनभने जनताका जीवनस्तर बदल्ने सपना बाँडेर सुरु भएको सशस्त्र द्वन्द्वले उनीजस्तो सामान्य नागरिकको जीवनमा कुनै परिवर्तन ल्याउन सकेन । बरु छोरी गुमाउनुको आलो घाउ दियो । ‘यो लडाइँले हामीजस्तालाई केही दिएन’ उनले भने, ‘अहिले म छोरीको रगत खेर गयो भनेर सम्झेर रुन्छु ।’
हुन पनि उनको व्यक्तिगत जीवनमा खासै ठूलो परिवर्तन आएन । उनी दिनभर खेती किसानी गर्थे । हिजो पनि जीवन गुजारा गर्न धौ–धौ थियो । वर्षभरी काम गर्दा पनि राम्रोसँग खान लाउन नपुग्ने । आफ्नो सारा जीवन दुःख र अभावमा बिते पनि युद्धले परिवर्तन ल्याउला र सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्ला भन्ने सोचेका थिए उनले ।
तर, उनका सन्तानले पनि त्यही नियती भोगे । गरिबी र अभावसँग जुद्धाजुद्धै उनीहरुले राम्रोसँग पढ्न लेख्न पाएनन् । त्यहीकारण अहिले उनका सन्तान ज्याला मजदुरीमा छन् । ‘यस्तो दुःख भोगेपछि दिन फेरिएलान् भन्ने लाग्याथ्यो’ उनले भने, ‘तर हाम्रो दुःख उस्तै छ ।’
१ फागुन २०५२ का दिन, अर्थात २७ वर्षअघि आजकै दिन तत्कालीन विद्रोही पक्ष माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकीमा एकैदिन आक्रमण गरेर सशस्त्र द्वन्द्व सुरु गरेको थियो । यहीँबाट आक्रमण थालनी भएर मुलुकभर फैलिएको जनयुद्धले राजनीतिक व्यवस्था बदल्यो । तर युद्धमा ज्यादती खेपेका रुकुम, रोल्पा, दाङ, सल्यान, जाजरकोट, बर्दिया लगायत जिल्लाका नागरिकका दुःख फेरिएनन् । १० वर्षे जनयुद्धले नागरिकमा सामाजिक जागरण र चेतना ल्याए पनि उनीहरुको जीवनस्तर बदल्ने परिवर्तन ल्याउन सकेन ।
आत्मविश्वास दियो, अवस्था बदलिएन
दाङ घोराहीका ५५ वर्षीय दमन नेपाली द्वन्द्वका भुक्तभोगी हुन् । उनले द्वन्द्वका सबैखाले परिदृश्य देखे, भोगे । उनलाई द्वन्द्वका सुरुवाती दिनहरु अझै राम्रोसँग सम्झना छ । ‘त्यो बेला समाजमा जातीय विभेद र छुवाछुत जरा जाडेर बसेका थिए’ उनले ती दिन सम्झिदै सुनाए, ‘दलितलाई पानी पँधेरामा, मन्दिरहरुमा पूजापाठ गर्न रोक लगाइन्थ्यो । ठूलो जातको घरमा पानी पिउन समेत दिइँदैनथ्यो । जातीय विभेदका नाममा अनेका खालका अपमान, तिरस्कार भोग्नुपर्थ्यो ।’
त्यही थिचोमिचो अन्त्य गर्न माओवादीले द्वन्द्वका बेला जातीय विभेदका नारा ल्याए, गाउँ–गाउँमा जातीय छुवाछुत विरुद्धको अभियान चलाए । ‘युद्धले हामीलाई अन्यायविरुद्ध बोल्न सिकायो, अधिकार निम्ति लड्ने आत्मविश्वास दियो’ उनी भन्छन् । युद्धले ल्याएको जागरण स्वरुप आज उनी विभेदविरुद्ध खुलेरै बोल्न सक्ने भएका छन् ।
दश वर्ष चलेको युद्धले यस्ता थुप्रै सामाजिक विभेदहरु धेरै हदसम्म चिर्यो । सामाजिक चेतना र जनतामा जागरण ल्याउने काम गर्यो । तर जनताको जीवनस्तर उकास्ने रुपान्तरण भने ल्याउन सकेन । जसको उदाहरण दमन आफैं हुन् ।
हिजो २७ वर्षअघिको उनको जीवन र आजमा खासै बदलाव आएको छैन । ‘युद्धबाट केही परिवर्तन भए’ उनी भन्छन्, ‘तर यसले हाम्रो जीवन फेर्न सकेन । हाम्रो अवस्था जस्तो थियो, आज पनि त्यस्तै छ । हाम्रो दुःख हिजोजस्तै छ ।’ उनी आज पनि अभावका बीच आफ्नो जीवन गुजारा गरिरहेका छन् । युद्धले व्यवस्था बदले पनि आफूहरुको अवस्था बदल्न नसकेको उनी बताउँछन् ।
द्वन्द्वकै उद्गम थलो रोल्पा र रुकुमले चर्काे मार खेपे । द्वन्द्वका बेला यहाँका सर्वसाधारणले सबैभन्दा बढी मूल्य चुकाउनु पर्यो । सबैभन्दा धेरै मानवीय क्षती भोगेको रोल्पाबाट ९६५ र रुकुमबाट ६६३ गरी एक हजार ६ सय मान्छे मारिए । द्वन्द्वका बेला मार्ने र वेपत्ता पार्नेजस्ता हिंसात्मक श्रृंखला भए । त्यसमाथि युद्धका दौरान राज्यपक्ष र विद्रोही दुवै पक्षबाट कुट्ने र यातना दिने जस्ता ज्यादती गाउँलेमाथि भए ।
द्वन्द्वमा सबैभन्दा धेरै चपेटामा परेका यो जिल्लाले परिवर्तनको अनुभूति गर्न नपाएको बताउँछन् रोल्पाका नागरिक अगुवा खेम बुढा । ‘द्वन्द्वका बेला यहाँका नगारिक राज्य र विद्रोही दुवैका निशानामा परे’ उनले भने, ‘द्वन्द्वमा यहाँका नागरिकले जति मूल्य सायदै अरु कसैले चुकाए होलान् ।’ तर त्यसको बदलामा जनताले पाउनुपर्ने परिवर्तन नपाएको उनी बताउँछन् ।
मुलुकमा गणतन्त्र स्थापना, राज्यका हरेक निकायमा समावेशी समानुपातिक प्रतिनिधित्व, जनताले आफ्नो संविधान आफ्नै प्रतिनिधिद्वारा लेख्ने जस्ता उपलब्धिहरु भए पनि जनताको अवस्था बदल्ने गरी परिवर्तन भने नआएको उनी बताउँछन् । ‘युद्धले नागरिकलाई सचेत बनायो, आत्मविश्वास दियो, जागरुकता ल्यायो’ उनी भन्छन्, ‘यो युद्धको सकारात्मक पाटो हो ।’
‘युद्धले हिजोको हेरी एक खालको चेतना ल्याएको छ, थुप्रै अधिकारहरु प्राप्त भएका छन्,’ उनी भन्छन् । तर नागरिकको सामाजिक र आर्थिक जीवनशैलीमा परिवर्तन नआएको उनको भनाइ छ । ‘मुख्य कुरा त युद्धका उपलब्धिको रुपमा यहाँका नगारिकको जीवनशैली, ग्रामिण अर्थतन्त्र फेरिनुपर्थ्यो’ उनी भन्छन्, ‘तर त्यो केही भएको देखिँदैन ।’
बरु ग्रामिण आर्थिक उपार्जन झन् खस्किएको उनी बताउँछन् । ‘हिजो गाउँहरुमा हुने खेती उत्पादन कम हुँदै गएको छ’ उनले भने, ‘पहिलेका ऊर्जा अहिले वैदेशिक रोजगारीमा परिणत भएको छ ।’ उनले वैदेशिक रोजगारमा जानेक्रम बढेको बताए ।
यता द्वन्द्वले लैंगिक समानताबारे जागरण ल्याउने काम गरेपनि व्यवहारमा परिवर्तन आउन नसकेको बताउँछिन् महिला मानवअधिकार राष्ट्रिय सञ्जाल रोल्पाकी अध्यक्ष तीर्थ आचार्य । ‘युद्धले केही जागरण ल्यायो तर त्यो सोचाइमात्र भयो’ उनी भन्छिन्, ‘आज पनि यहाँ धेरै महिला हिंसाका चपेटामा छन् । बालविवाह बढ्दो छ ।’ शिक्षा र स्वास्थ्यमा लगानी नहुँदा महिलाको अवस्था बदलिन नसकेको उनी बताउँछिन् ।
लडाकुको अवस्था झनै दर्दनाक
परिवर्तनका सपना बोकेर सशस्त्र द्वन्द्वमा होमिएका माओवादी लडाकुको अवस्था झनै दर्दनाक छ । कतिसम्म भने उनीहरु आफैंले लडेर ल्याएको परिवर्तनको अनुभूति समेत गर्न पाएका छैनन् । युद्धको घाइते शरीर बोकेका उनीहरुले आज राम्रो उपचार समेत पाएका छैनन् ।

दाङ तुलसीपुर–१७ का लालबहादुर वली र सीता केसी दम्पती यसको उदाहरण हुन् । पूर्व माओवादी लडाकु दुवै जना सशस्त्र द्वन्द्वका घाइते हुन् । उनीहरु दुवैका शरीर युद्धले आधा खाइदिएको छ । मुलुकमा थुपैै परिवर्तन ल्याउने सपनाले हिँडेका लालबहादुरको त संसार नै अँध्यारो छ भने सीता शरीरमा गोली बोकेर बाँचिरहेकी छन् ।
जनताका दुःख बदल्न भनेर उनीहरु माओवादी युद्धमा होमिएका थिए । युद्धका दौरान दर्जन बढी भिडन्तहरु जितेका उनीहरु शान्ति सम्झौता पछि भने आफ्नै जीवनको लडाइँ हारेझैं भयो । युद्धबाट फर्किंदा लालबहादुरको दृष्टि गुमाए भने सिता गोली लागेर घाइते थिइन् ।
त्यसपछि उनीहरुले बाँच्नका लागि फेरि अर्को लडाइँ लड्नु पर्यो । ‘युद्धका बेला थुप्रै ब्याटल लडियो, जितियो’ उनले भने, ‘युद्धबाट फर्किंदा जीवनको ब्याटल हारेझैं भयो,’ सीता भन्छिन् ।
दशक लामो युद्ध लडेर ल्याएको परिवर्तनप्रति उनीहरु दुवै जना खुसी छैनन् । आज आफ्नै घाइते शरीर उनीहरुका लागि भारी भएको छ । आँखाको ज्योती गुमाएका लालबहादुर र घाइते सिताले केही काम गर्न सक्दैनन् । उनीहरुलाई जीवन गुजारा गर्नै धौ–धौ छ ।
युद्धका घाइते दुवै जनाले उचित उपचार पाएका छैनन् । महिनैपिच्छे औषधी र उपचारमै पैसा सकिन्छ । ‘हामी जीवनको प्रवाह नगरी युद्ध लडेको उपहार घाइते शरीर पायौं’ लालबहादुरले भने, ‘युद्धले नेताहरूलाई सत्ता मिल्यो, हाम्रो बिजोग भयो ।’ दुवैजना काम गर्न नसक्ने भएपछि अहिले उनीहरुलाई घर व्यवहार चलाउनै कठिन छ ।
लालबहादुर दम्पतीका धेरै ठूला माग छैनन् । राज्यले आफूहरुलाई जनयुद्धका घाइते भनेर सम्मान दिनुपर्ने र निःशुल्क उपचार गरिदिनुपर्ने उनीहरु बताउँछन् । ‘हामीले जे भोग्नु थियो भोगिसक्यौं । अब हामीलाई धेरै चाहिएको होइन,’ लालबहादुर भने, ‘हाम्रो औषधी उपचार निःशुल्क होस् ।’ औषधी उपचार साह्रै महँगो भएकाले उपचारमा निकै समस्या भएको उनले बताए ।
जनयुद्धले मुलुकको राज्य व्यवस्था बदले पनि त्यसको अनुभूति गर्न नपाएको उनले सुनाए । ‘हिजो कति दुःख भोग्नुपर्यो, भनिसाध्य छैन’ उनले भने, ‘हाम्रा रगतले मुलुकले बदल्यो, हाम्रा दिन फेरिएन ।’
युद्धले उनी जस्तालाई केही दिएन । बरु आधा शरीर आफैंलाई भारी भयो । बिडम्बना कस्तो छ भने उनका नेता/कमाण्डर आज सत्तामा छन् । उनीहरुले आज बिर्सिएका छन् । त्यसैले त उनलाई अब केही आश छैन । ‘हाम्रा कमान्डरहरू अहिले ठूलो पदमा छन्,’ उनी भन्छन्, ‘उनकै निर्देशनमा ज्यानको प्रवाह नगरी लड्यौं । अहिले हाम्रो आँसु नेताहरु देख्दैनन् । दुःख जति सबै नेताका लागि गरिएछ भनेर आज मन पोलिरहन्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4