
१ फागुन, विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । २ अर्ब ४२ करोड रुपैयाँ लागतमा बन्ने १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरे ।
टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो बन्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ । गौतमवुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको छ ।
विमानस्थलको दीर्घकालीन विकासका लागि देशकै ठूलो टर्मिनल भवन निर्माण गर्न लागिएको उनले बताए । विमानस्थलको धावन मार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो ।
तर बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो । विमानस्थल विस्तारको योजना तत्काल अघि नबढेपनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको हो ।
तीन वर्षभित्र टर्मिनल भवन निर्माण ठेक्का केसी डाफे जेभीले लिएको छ । यसअघि २०२५ सालमा विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो । पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङ स्थल बनाउने तयारी छ ।
मन्त्री किरातीले विमानस्थलको टर्मिनल भवन प्रदेश १ को विकासमा कोशेढुङ्गा सावित हुने बताए । उनले ठेकेदारलाई समयमा नै काम सम्पन्न गर्न निर्देशन दिए ।
धावन मार्ग पनि थप्ने तयारी
विराटनगर विमानस्थलको धावन मार्ग पनि विस्तार गरिने भएको छ । महानिर्देशक अधिकारीका अनुसार धावन मार्ग २७० मिटर विस्तार गरिने छ ।
विमानस्थलको धावन मार्ग एक हजार ५ सय मिटर छ । ठूला जहाजलाई सहज रुपमा उडान अवतरणका लागि धावन मार्ग थप गर्न लागिएको महानिर्देशक अधिकारीले बताए ।
प्रतिक्रिया 4