+
+

गेटामा विश्वविद्यालय सरकारको अल्मल्याउने दाउमात्र हो : डा. गोविन्द केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १६:०७

१ फागुन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले गेटामा मेडिकल विश्वविद्यालय बनाउने भनेर फेरि अलमल्याउन खोजेको आरोप लगाएका छन् । विश्वविद्यालयको हल्लाले मेडिकल कलेज सञ्चालनको काम अनावश्यक रुपमा ढिलो हुने केसीले सोमबार विज्ञप्ति निकालेर बताएका छन् ।

‘हचुवाका भरमा त्यस्ता निर्णय गर्दै जाने र सरकारैपिच्छे नीति फेर्दै जाने हो भने गेटामा मेडिकल कलेज सञ्चालनको काम अनावश्यक रुपमा ढिला हुने निश्चित छ’ उनले भनेका छन्, ‘प्रक्रियामा छलछाम गरी तथा स्रोतको जोहो नै नगरी विश्वविद्यालयजस्तो ठूलो संरचना बनाउने निर्णय गर्नाले कहिले र कुन गुणस्तरको शिक्षा सम्भव छ भन्ने अर्को प्रश्न उठाउँछ ।’

सरकारको यो निर्णयले तत्काल रेफरल अस्पतालसहितको विशेषज्ञ सेवा र लगत्तै एमबीबीएसको पठनपाठनको पर्खाइमा रहेका सुदूरपश्चिमका नागरिकहरुको आशामाथि तुषारापात हुने केसीले बताएका छन् । त्यसैले विगतमा आफूसँग भएको सहमति अनुसार गेटामा मेडिकल कलेज सञ्चालनको काम अघि बढाउन उनले आग्रह गरेका छन् ।

‘यस्तो हचुवा निर्णय तत्काल रोकी गेटामा मेडिकल कलेज सञ्चालनका लागि यसअघि चलिरहेको प्रक्रियालाई गति दिन तथा सबै प्रदेशमा कम्तीमा एकसहित हामीसित सहमति भए बमोजिम मेडिकल कलेज निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँछौं’ उनले भनेका छन् ।

केसीले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि झण्डै डेढ महिनादेखि आन्दोलनरत अभियन्ताहरुको माग तत्काल सुनुवाइ गर्न पनि सरकारलाई आग्रह गरेका छन् । यस अगाडि आफूसँग भएको सम्झौताका अन्य बुंदाहरु कार्यान्वयन गर्न पनि केसीले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘त्यसो नभएमा कुनै पनि बेला कडा संघर्षका कार्यक्रम शुरु गर्न बाध्य हुने पनि जानकारी गराउन चाहन्छौं’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?