+
+

‘मोबाइल पसलमा भएको लुटपाटको क्षतिपूर्ति राज्यले दिनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १२:१४
नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई ।

२ फागुन, काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ । महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।

यातायात मजदुरहरुले ट्राफिक प्रहरीले लिने जरिवाना लगायतको विरोध गर्दै सोमबार दिउँसो काठमाडौंको बालाजु माछापोखरी र गोंगबु नयाँ बसपार्क अगाडि विरोध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन अनियन्त्रित हुँदा प्रहरी भ्यान र प्रहरी बिटमा आगजनी भएको थियो । साथै बेलुकीपख मानिसहरुको भिडले नयाँबसपार्क क्षेत्रभित्र रहेको ल्होत्से मलमा तोडफोड गर्दै मोबाइल पसलमा लुटपाट गरेको थियो ।

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको अनलाइनखबरसँग बताए । उनले भने, ‘यो घटनाबाट हाम्रो सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुन्छ । यसको सम्पूर्ण क्षतिपूर्ति हामीलाई राज्यले दिनुपर्छ ।’

सोमबारको घटनाले नेपालमा निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको उनको टिप्पणी छ । त्यसैले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने निर्णय आफूहरुले गरेको भट्टराईले बताए । आज मध्याह्न १२ बजे ल्होत्से मलमा पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी गराउँदै आफूहरुका माग सार्वजनिक गर्ने उनले बताए ।

सामाजिक सन्जालमा सार्वजनिक भएका भिडिओहरुमा ल्होत्से मलको सिसा फुटाएर युवाहरु भित्र प्रवेश गरेको र मोबाइल पसलमा लुटपाट गरेको देखिन्छ । अर्को एक भिडिओमा पसलको सटर खोलेर मोबाइल लुटिरहेको देखिन्छ ।

नेपाल मोबाइल व्यवसायी महासंघले लुटपाट र तोडफोडमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?