+
+

प्रेमको प्रतीक रानीमहल ब्राण्डिङको पहल

टोपराज शर्मा टोपराज शर्मा
२०७९ फागुन २ गते १२:१९

२ फागुन, बुटवल । नेपालको ताजमहलको उपनामले चिनिने पाल्पा तानसेनको रानीमहलमा विदेशी पर्यटक भित्राउन अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ र मार्केटिङको पहल थालिएको छ ।

प्रेमको प्रतीक मानिने रानीमहल विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना भएपनि अहिलेसम्म देशबाहिर प्रचार प्रसार हुन सकेको छैन ।

पाल्पाको तानसेन नगरपालिका-१३ र पाल्पाकै बगनासकाली गाउँपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरबार हो । वि.सं. १९५० मा शिलान्यास भई १९५४ सालमा जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा आकर्षक चारतले दरबार बनाउन लगाएका थिए । सोहीकारण रानीमहललाई प्रेमको प्रतिक मानिन्छ ।

तर यसको ऐतिहासिक र धार्मिक महत्व विश्वसामु प्रचार गर्न नसक्दा पर्यटक आकषिर्त गर्न नसकिएकाले अन्तर्राष्ट्रियस्तरमा मार्केटिङ गर्न भ्यालेन्टाइन डे (प्रणय दिवस) फेब्रुअरी १४ को अवसर पारेर तानसेन नगरपालिकाले पहल थालेको हो ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल (नाट्टा) लुम्बिनीको सहकार्यमा आज रानीमहलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । रानीमहलको ढोका अगाडि रातो कार्पेटमा २५ विवाहित जोडीलाई सम्मान, उनीहरुबीच एक आपसमा गुलाब साटासाट, रानीमहलमा रहेको महादेव मन्दिरमा सिक्का चढाउने र संगीतमा नचाउने, क्याम्प फायर लगायतका कार्यक्रम राखिएको तानसेन नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताए ।

उत्तर वाहिनी गंगा (कालिगण्डकी) सँगै रहेको महादेव मन्दिरमा सिक्का चढाउँदा प्रेम दिगो र अमर हुन्छ भन्ने धार्मिक विश्वास छ । यो विषय ओझेलमा परेकाले यसलाई नेपाली, अंग्रेजी र हिन्दी भाषामा भिडिओ बनाएर अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न प्रणय दिवसमा कार्यक्रम आयोजना गरिएको आचार्यले बताए ।

प्रणय दिवसमा आयोजना गरिएको कार्यक्रमको तीनवटा भाषामा बनाइने भिडिओलाई विदेशमा प्रचार गरी रानीमहल प्रोडक्टको ब्राण्डिङ र मार्केटिङ गर्न तीनै तहका सरकारले बजेट दिनुपर्ने नाट्टा लुम्बिनी अध्यक्ष रचना पन्तले बताइन् । ‘रानीमहलको प्रचार प्रसारका लागि आजको कार्यक्रम अहिलेसम्मकै महत्वपूर्ण हो, यसमा तीनै तहका सरकारको ध्यान जानुपर्छ’ पन्तले भनिन्, ‘रानीमहललाई लुम्बिनीसँग जोडेर अन्तर्राष्ट्रिय स्तरसम्म मार्केटिङ र ब्राण्डिङ गर्न सकियो भने बर्सेनि लाखौं पर्यटक आकषिर्त गर्न सकिन्छ, यसले लुम्बिनी प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुग्छ ।’

संरक्षणमा केन्द्र र प्रदेश सरकारको बेवास्ता

ऐतिहासिक, पुरातात्विक र पर्यटकीय सम्भावना बोकेको रानीमहल क्षेत्र पहिरो र नदी कटानको उत्तिकै जोखिममा छ ।

रानीमहलको माथिपट्टि कालिगण्डकी कोरिडोरको सडक निर्माणले बर्सेनि पहिरो जाँदा र कालिगण्डकी नदीको बाढीले पुरातात्विक महत्वका संरचनामा क्षति पुग्ने गरेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ बताउँछन् ।

‘पहिरो र नदीको बेगले रानीमहल एकदमै जोखिममा छ’ श्रेष्ठ भन्छन्, ‘संरक्षण गर्न नगरपालिकाको बजेटले पुग्दैन, यसको दिगो संरक्षणमा केन्द्र र प्रदेश सरकारको चासो र लगानी दुवै हुनुपर्‍यो ।’ महलको रंगरोगन वषर्ायाममा पानीले बिगारिदिने भएकाले एक वर्ष बिराएर नगरपालिकाले रंगरोगन गर्नुपरेको श्रेष्ठले बताए ।

पाल्पा सदरमुकाम तानसेनबाट करिब १४ किलोमिटर दूरीको सडकमध्ये कालीगण्डकी कोरिडोरतर्फ ७ सय मिटर दूरीको चट्टानले रानीमहल पुग्ने बाटो पीचमा अवरोध गरेको छ ।

रानीमहल दरबार तानसेन नगरपालिकामा र आंगन लगायत खाली क्षेत्र बगनासकाली गाउँपालिकामा पर्ने हुँदा दुई पालिकाबीच रानीमहलको एकीकृत विकासमा बेला-बेला समस्या समेत आउने गरेको छ । पार्किङ शुल्क र विभिन्न व्यवसाय सञ्चालन गर्न दिएर बगनासकालीले आम्दानी गर्ने गरेको छ ।

रानीमहललाई देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने आधारसहित ७ करोड रुपैयाँ बराबरको डीपीआर संघीय सरकारमा बुझाएको नगर प्रमुख श्रेष्ठले बताए । रानीमहल व्यवस्थापनको लागि दिइएको १० वर्षको स्वीकृति सकिन लागेकाले अवधि थप्न पनि माग गरिएको उनले बताए ।

पुरातात्विक महत्वको रानीमहलमा लुम्बिनी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेटमा वातावरणमैत्री ईको पार्क बनाएको छ ।

कस्तो छ रानीमहल ?

दरबारको एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै रहेको र महलभित्र २४ वटा कोठा, २ वटा पोखरी, महादेव र गंगा मन्दिर, बगैँचा र पाटी, घोडातबेला सहितका संरचनाहरू छन् ।

महल जीर्ण भएपछि ०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले २ करोड ७२ लाख ३७ हजार २ सय ४७ रुपैयाँ लागतमा रानीमहलको पुनर्निर्माण गरेको थियो । पुनर्निर्माणपछि अहिले रानीमहल आकर्षक भएको छ ।

रानीमहल दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढंुगाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमका शिव र गङ्गाका दुई मन्दिर छन् ।

यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुडि्कला तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ ।

प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार मानिने भएकाले यहाँ तिर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको छ ।

१९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोजे भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफ्नो हातमा लिएका थिए ।

खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमूल्य वस्तु छाडेर तीनवटा साँचो र सरकारी ढुकुटी लिई भारत पलायन भएपछि प्रेमको प्रतीक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको भनाइ छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?