 
																			५ फागुन, काठमाडौं । आगामी आर्थिक वर्षदेखि पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा रमाइलो मेलासहित पेटी, ठेलामा अस्थायी पसल राख्न दिन ठेक्का नगर्ने भएको छ । यो शिवरात्रिमा ठेला र पेटीमा, साइकलमा पसलहरू राख्न दिन कोषले ठेकेदारमार्फत चर्को शुल्कमा ठेक्का दिएर सडक पेटीमै ठेला राख्न दिएको छ।
यसमा काठमाडौं महानगरपालिकाले असहमति जनाएपछि कोषले आगामी आर्थिक वर्षबाट प्रक्रियागत रुपमा मात्रै काम गर्न सहमति जनाएको ८ नम्बर वडा कार्यालयले जानकारी दिएको छ ।
सहमतिअनुसार यो वर्ष महानगरलाई ठेकेदार कम्पनीले कर तिर्ने, कोषले गर्ने सम्झौतामा पनि प्रचलित कानुनअनुसार महानगरसँग समन्वय गर्ने निर्णय भएको छ ।
‘उहाँहरुले विना जानकारी टेण्डर गर्नुभयो, कोषले ठेक्का मार्फत चर्को असुलेकोले हामीले असहमति जनाएका हौं । आगामी वर्षदेखि यस्तो गल्ती नगर्ने भनेपछि यो वर्षलाई यत्तिकै छोडेका छौं,’ छलफलमा सहभागी महानगरका एक कर्मचारीले भने ।
यो पटकका चर्को शुल्कमा
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषले १५ देखि २० दिनको लागि आफ्नो परिसरको विभिन्न स्थान भाडामा लगाइरहेको छ । पशुपति क्षेत्रमा रहेको पार्किङ क्षेत्र, पेटीमा साना व्यवसायहरुलाई चर्को शुल्क लिएर भाडा उठाइरहेको भेटिएको छ ।
महानगर प्रहरीले शिवरात्रिको अवसरमा गरेको अनुगमनमा कोषले ठेकेदारमार्फत चर्को शुल्क लिएर रकम असुलिरहेको भेटिएको हो । नगरप्रहरीले १७ दिनको लागि ६ वटा ठेलाको २ लाख ६० हजार रसिद काटेर एमबीबीकेएल इभेन्ट एण्ड बहुउद्देश्ययी कम्पनीले ठेक्का दिएको फेला पारेको थियो ।
यस्तै कोषले ठेक्कामार्फत एउटा साइकलसँग १६ दिनको लागि ९ हजारसम्म रकम उठाएर पार्किङ भएको स्थानमा दिएको भेट्टाएको थियो ।
हामीसँग समन्वय छैन : महानगर
काठमाडौं महानगरपालिकाले पशुपति मन्दिर परिसरको पेटी, पार्किङ क्षेत्रमा लगाएको ठेक्कामा असहमति जनाएको छ । महानगरको ८ नम्बर वडाध्यक्ष आशमान संगतले कोषले मनपरी गरेर ठेक्का लगाएको बताए ।
‘हामीसँग समन्वय भएको छैन, वडा र महानगरसँग समन्वय नगरी जथाभावी ठेक्का लगाउन मिल्दैन,’ संगतले भने, ‘यो क्षेत्र व्यापार गर्नको लागि होइन, संसारभरीबाट आउने भक्तजनहरुको लागि हो ।’
उनले पशुपति बाहिर पेटीमा ठेला, फुटपाथमा व्यापार गरे हटाउने भन्दै भित्र पनि कोषले ठेक्का लगाउन नमिल्ने तर्क गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4