+
+

१० जवाफ : परिवारमा बालबच्चाले कसरी खुसी ल्याउँछन् ?

रामु पाण्डेय रामु पाण्डेय
२०७९ फागुन ७ गते १७:३३

नेपालीमा एउटा भनाइ छ, ‘पानी र माया माथिबाट तलतिर बग्छ ।’

हामी मानवजाति मात्र नभएर पशुजातिले पनि अपवादबाहेक सबैभन्दा धेरै आफ्नो सन्तानलाई बढी माया गरिरहेका हुन्छन् । यसो भन्दा अरुको मायाबाट पन्छिएको भन्ने चाहिं हुँदैन । अरु नाताप्रति कर्तव्य बहन गरिरहेका हुन्छौं भने बालबालिकाप्रति समर्पण भाव व्यक्त भइरहेको हुन्छ ।

उदाहरणको लागि हामीले अहिले पहिलो फोन कसलाई गरिरहेका छौं त ? पक्कै पनि सन्तान नै होला । त्यसपछि श्रीमान-श्रीमती, बाबु-आमा, दिदी-बहिनी, दाजु-भाइलगायत आफ्नो कथा व्यथा सुनाउने मान्छे क्रमशः आउँछन् । यसरी साना बालबालिका सबैको लागि प्यारा हुन्छन् । यिनीहरु त प्यारा मात्र होइनन् औषधि पनि हुन् ।

१. बालबच्चा जन्मिएपछि दम्पतीले अरु बढी जिम्मेवारी बोध गर्छन् । त्यसैले उनीहरु घर-परिवारमा केन्द्रित हुन्छन् । अनावश्यक भेटघाट, अनावश्यक किनमेल वा अनावश्यक खर्च गर्न छाड्छन् । बालबच्चाको लालनपालन, शिक्षादीक्षाका लागि यस्तो काम गर्न थाल्छन्, जसले सार्थक नतिजा दिन्छ ।

रामु पाण्डेय

२. वैदेशिक रोजगारी आज हाम्रो नियति बनेको छ । विवाहपछि धेरै पुरुष विदेशिएका छन् र महिलाहरु घरपरिवार चलाइरहेका छन् । यसरी श्रीमान् र श्रीमतीबीच बढेको भौतिक दूरीलाई निकट ल्याउने र प्रगाढ बनाउने मियो बनेका छन्, बालबच्चा ।

३. महंगी अनि अर्कोतर्फ दिनदिनै बढ्दो सेवा सुविधाले मान्छेको व्यायभार बढ्दो छ । मान्छेलाई राम्रो आयआर्जन नगरी खर्च व्यवस्थापन गर्न धौधौ छ । यस्तो स्थितिमा परिवारका धेरैजसो सदस्य कामको खोजीमा लाखापाखा लागेका छन् । घरमा बुढापाका मात्र बाँकी छ । उनै बुढापाकाका सबैभन्दा नजिकको दौंतरी बनेका छन्, बालबच्चाहरु । घरका हजुरबा, हजुरआमासँग खेल्ने-बोल्ने साथी बनेका छन् उनीहरु ।

४. बालबच्चा भएको घरमा खाने, सुत्ने समयतालिका एकदमै मिलेको हुन्छ । बालबच्चालाई समयमा खुवाउनु, सुताउनु, उठाउनुपर्ने भएकाले पनि घरको माहोल अनुशासित र व्यवस्थित हुने गरेको छ ।

५. बालबच्चा भएपछि घरमा फलफूल, दूध, दहीजस्ता पोषिलो र ताजा खानेकुरा ल्याउनुपर्ने हुन्छ । साथै आफ्नो भान्सामा पनि ताजा र सुपाच्य खानेकुरा पकाउनुपर्ने हुन्छ । यसरी बालबच्चाले गर्दा परिवारको स्वास्थ्य पनि राम्रो हुन्छ ।

६. बालबच्चा भएको घरमा आमाबुवा निष्क्रिय बस्न पाउँदैनन् । बालबच्चाका लागि सरसफाइ गर्नेदेखि खेल्नेसम्मको काममा उनीहरु सरिक हुनुपर्ने हुन्छ । यसरी बालबालिकाका कारण आमाबुवा एवं परिवारका सदस्य सक्रिय एवं जागरुक हुन्छन् ।

७. घरमा बालबच्चा छ भने निश्चित समय आमाबुवाले पनि घरमै बस्नुपर्ने हुन्छ । यसले गर्दा उनीहरुलाई आफ्नो परिवारको कुरा सुन्ने, छिमेकीसँग बालचित गर्ने अवसर मिल्छ । बालबच्चाले गर्दा परिवार र छिमेकीसँगको सम्बन्ध सुमधुर हुन्छ ।

८. बालबच्चाको कारण दम्पतीले झै-झगडा गर्ने, भनाभन गर्ने प्रवृत्ति त्याग्नुपर्ने हुन्छ । साथै घरमा रक्सीभोज गर्ने वातावरण पनि हुँदैन । अर्थात् जुन घरमा बालबच्चा हुन्छन्, त्यहाँको वातावरण शान्त र प्रेरणादायी हुन्छ ।

९. घरमा बालबच्चा छन् भने उनीहरुले फोहोर गर्छन्, होहल्ला गर्छन्, चकचक गर्छन् । यी यावत् कुरा आमाबुवा अर्थात् दम्पतीले सहनुपर्ने हुन्छ । यसले उनीहरुमा सहने क्षमता र व्यवस्थापन गर्ने तरिका सिकाउँछ ।

१०. समाजमा छुवाछूत, गरिब-धनी, संस्कृति आदिलाई लिएर विभेद छ । तर जहाँ बालबच्चा हुन्छन् त्यहाँ यस्तो कुनै विभेद हुँदैन । उनीहरुले सबैलाई समान देख्छन् र समान व्यवहार गर्छन् । बालबच्चाको यस्तो प्रवृत्तिले आमाबुवालाई पनि सबैप्रति समान भाव र व्यवहार गर्ने बानीको विकास हुन्छ ।

वास्तवमै बालबच्चा भनेका हाम्रा लागि खुला पुस्तक हुन् । खुसीका स्रोत हुन् । उनीहरुको प्राकृतिक जीवनबाट हामी यसै पनि आनन्दित भइरहेका हुन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?