+
+

‘फूलबारी’ले हलमा फर्कायो दर्शक, मल्टिप्लेक्सले शो बढाए

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १३:०६

काठमाडौं । विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘फूलबारी’लाई तीन दिन लामो सप्ताहन्त बिदाको फाइदा पुगेको छ । घरेलु बक्स अफिसमा ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित यो फेमिली ड्रामाले सोमबारसम्म एक करोडभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ ।

मंगलबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण छ । मंगलबार मध्यान्हसम्म प्रमुख मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशतभन्दा माथि छ, जुन कमाइका लागि सुखद पक्ष हो ।

शुक्रबारभन्दा शनिबारको कमाइ उच्च रह्यो भने आइतबार प्रजातन्त्र दिवसको बिदाले कमाइलाई करोडभन्दा माथि लैजान सक्यो । सोमबार ड्रप देखिएको अकुपेन्सी पुनः मंगलबारको ल्होसार बिदाले पुनः उकालो लागेको छ ।

‘महापुरुष’ र ‘दुई नम्बरी’पछि कुनैपनि नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका थिएनन् । ‘अवतार २’ र ‘पठान’जस्ता विदेशी फिल्मले दर्शक फर्काए पनि नेपाली फिल्म दर्शक फर्काउने मामलामा कमजोर देखिएका थिए । तर ‘फूलबारी’ले दर्शक फर्काउन सकेको छ । यसपछाडि मुख्यतः तीन कारण देखिन्छन् जसमा लगातारको सार्वजनिक बिदा, सकारात्मक समीक्षा र ‘कबड्डी’ ब्राण्डले प्रचारप्रसारमा दिलाएको साथ ।

लगातार तीन दिनको सार्वजनिक बिदाले फिल्मको कमाइमा फाइदा पुग्यो । यसै साता रिलिज भएको हलिउड फिल्म ‘एन्टम्यान एण्ड द वास्प’ र बलिउडको ‘शेहजादा’ले कमजोर प्रदर्शन गर्दाको फाइदा पनि ‘फूलबारी’लाई मिल्यो । नेपालमा पारिवारिक कथावस्तुमा बनेका फिल्म चलेको इतिहास छ । परिवारिक दर्शक ओइरिएकाले पनि वर्ड अफ माउथ बलियो बन्न सक्यो । अर्कोतर्फ, निर्देशकदेखि अधिकांश कलाकार पनि कबड्डीसँग जोडिएकाले फिल्मले मल्टिप्लेक्समा प्राथमिकता पायो ।

क्यूएफएक्स, बिग मुभिज, आईएनआईजस्ता ठूला मल्टिप्लेक्सले शोमा वृद्धि गरेका छन् । शेहजादा र एन्टम्यानको शोमा कटौती गर्दै हलले फूलबारीको शोमा बढोत्तरी गरेका छन् । जसले गर्दा हलको प्राइम टाइम पनि फूलबारीले पाएको छ ।

यशोधा फिल्म्सको ब्यानरमा रामबाबु गुरुङ निर्देशित फिल्म फूलबारीमा विपिन कार्कीले ६० वर्षीय अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन् । अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, सोमनाथ खनाललगायत पनि मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?