
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी यतिबेला बक्स अफिस हिटको खोजीमा छिन् । गत वैशाखमा रिलिज भएको उनी अभिनित ‘लक्का जवान’ र माघमा आएको ‘मनसँग मन’को व्यापारले उनलाई खुसी दिलाउन सकेनन् । यी दुवै फिल्म बक्स अफिसमा असफल रहे । चैत १० गते उनको अर्को फिल्म ‘ए साथी सुन’ प्रदर्शन तयारीमा छ ।
असफलताको हयाट्रिकबाट जोगिन समेत सिवाकोटीको यो फिल्म चल्नैपर्ने दबाब छ । यो फिल्मले सुखद व्यापार गरेको खण्डमा उनलाई ठूलै राहत मिल्ने देखिन्छ । रोमान्स र थ्रिलर जनरामा बनेको यो फिल्ममा वर्षा शीर्ष भूमिकामा छिन् । डेब्यु अभिनेता रमेश बानियाँसँग फिल्ममा उनले अनस्क्रिन रोमान्स गरेकी छन् ।
विवाहपछि पछिल्लो समय वर्षा फिल्मलाई लिएर चुजी बनेजस्तो देखिन्छ । प्रस्ताव भएका धेरै फिल्मलाई पन्छाउँदै उनले हालै दीपक वलीले निर्देशन गर्ने सोसल ड्रामा ‘क्यामिनो’लाई ‘ओके’ गरिन् । अर्कोतर्फ प्रकाश सपुतसँगको फिल्म ‘परदेशी २’ कहिले आउने टुंगो छैन । यो बेला वर्षालाई बक्स अफिस हिट फिल्मको जरुरी छ, जसले उनको स्टारभ्यालुलाई चलायमान बनाउन सकोस् ।
नौ वर्षअघि रिलिज भएको ‘नाइ नभन्नु ल २’ वर्षाको डेब्यु फिल्म हो । ‘पशुपति प्रसाद’ उनको करिअरकै सर्वाधिक सफल फिल्म हो । सुब्बा साब, लप्पनछप्पन, कारखाना, गाजाबाजा, भैरे, जय शम्भु, पुरानो बुलेट, वीरविक्रम २, श्री पनि उनी अभिनित फिल्महरु हुन् ।
प्रतिक्रिया 4