+
+

सन्दीपसँग हात नमिलाएका स्कटल्याण्डका प्रशिक्षक भन्छन् :  हामी हिंसालाई समर्थन गर्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १८:३२

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल आएको स्कटल्याण्ड नेपालसँगका दुवै खेल हारे पनि च्याम्पियन बनेको छ ।

क्रिकोणत्मक शृंखलामा नामिबियासँगका दुवै खेल जितेको स्कटल्याण्ड लिग टूका ३६ खेलमा ५० अंक जोड्दै च्याम्पियन बनेको छ ।

तर उसले लिग टू जितेको भन्दा पनि नेपाली बलर सन्दीपसँग हात नमिलाएको घटना नेपाली सञ्चार माध्यममा मात्र नभएर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि हेडलाइन बने ।

नेपालसँगका दुवै खेलपछि स्कटल्याण्डले नाबालिग बलात्कारको आरोपी लागेका सन्दीपसँग हात मिलाएन । पहिलो खेलमा हात नमिलाएपछि यसबारेमा कुराकानी नगर्ने बताएको स्कटल्याण्ड टोलीले शृंखलाका खेल सकिएपछि भने मुख खोलेको छ ।

स्कटल्याण्डका क्रिकेट प्रशिक्षक शेन बर्गरले नेपाली पक्षलाई पूर्व जानकारी गराएरै बलर सन्दीप लामिछानेसँग हात नमिलाएको स्पष्ट पारेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालसँगको खेलपछि बर्गरले पत्रकारसित कुरा गर्दै आफूहरुले कुनै पनि हिंसालाई समर्थन नगर्ने बताए । उनले सोसाइटीमा रोल मोडल भइसकेको व्यक्तिले आफूले के गर्ने भनेर विचार गर्नुपर्ने बताए ।

राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौ २०७८ मा एक किशोरीले प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी थिइन् ।

त्यसपछि पक्राउ परेका लामिछानेलाई प्रारम्भिक सुनुवाइबाट पुर्पक्षका लागि थुनामा पठाइए पनि उच्च अदालत पाटनले कडा शर्तहरुसहित २८ पुसमा रिहा गर्न आदेश दिएको थियो । तर, अदालतबाट मुद्दा छिनोफानो नभइ लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको भन्दै विरोध भएको थियो ।

यसबारेमा महिला अधिकारकर्मीले स्कटल्याण्डको धारणा माग गरेपछि स्कटल्याण्ड क्रिकेटले यसअघि नै आफूले कुनै पनि प्रकारका दुर्व्यवहारलाई समर्थन नगर्ने बताउँदै सन्दीपलाई टिममा राख्ने बारेमा नेपाल क्रिकेट संघ क्यान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विचार गर्नु पर्ने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?