+
+

काठमाडौंमा जन्मिएकी अभिनेत्री डिचेन हलिउड फिल्म ‘प्लानेट अफ द एप्स’को शीर्ष भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १२:४५

काठमाडौं । काठमाडौंमा जन्मिएकी हलिउड अभिनेत्री डिचेन लछम्यानका फ्यानलाई खुसीको खबर छ । डिचेन हलिउडको चर्चित फिल्म ‘किङडम अफ द प्लानेट अफ द एप्स’को नयाँ श्रृंखलामा जोडिएकी छन् । हलिउड रिपोर्टर म्यागजिनका अनुसार डिचेनलाई उक्त फिल्मको शीर्षमध्येको भूमिकामा देख्न सकिन्छ ।

सन् २०१७ मा रिलिज भएको ब्लकबस्टर ‘वार अफ द प्लानेट अफ द एप्स’ जसले नेपाली मल्टिप्लेक्समा समेत राम्रो कमाइ गरेको थियो । सोही फिल्मको सिक्वेलको रुपमा ट्वेन्टिथ सेन्चुरी फक्सले यो फिल्मलाई निर्माण गर्न लागेको हो । यो ब्यानरबाट हालै ‘अवतार : द वे अफ वाटर’ रिलिज भएको थियो ।

यो नयाँ सिक्वेलमा एप (बाँदर) र मानव सभ्यताबीचको लडाइँको कथावस्तुलाई चित्रण गरिने भएको छ । बाँदर समुदायको वृद्धि भएको छ भने मान्छेहरु जंगलीजस्तो अस्तित्वमा सीमित भएका छन् । तर बाँदर समुदायले सिजर (मुख्य चरित्र)बारे सुनेका छैनन् । साम्राज्य स्थापित गर्न मान्छेसँग सहकार्य गर्नुपर्छ भन्ने धारणा विपरीत बाँदरहरु अघि बढेका छन् भन्ने कथावस्तु नयाँ श्रृंखलामा बुनिएको छ ।

कथावस्तुको सेटिङअनुसार एक बाँदर नेताले मानव प्रविधि खोज्नका लागि अन्य समूहलाई दास बनाउन थाल्छ, जबकि अर्को बाँदर स्वतन्त्रता खोज्ने यात्रामा निस्कन्छ । आफ्नै उद्देश्य भएकी एक जवान मानव महिला स्वतन्त्रता खोज्ने बाँदरलाई सघाउने यात्रामा निस्किन्छिन् ।

अष्ट्रेलियामा फिल्मको छायांकन सुरु हुने तयारीमा छ । तर ठ्याक्कै कुन भूमिकामा डिचेनले अभिनय गर्नेछिन् भन्ने खुलाइएको छैन । अभिनेत्री डिचेनले यसअघि अर्को हलिउड ब्लकबस्टर ‘जुरासिक वल्र्ड डोमिनियन’मा समेत अभिनय गरेकी थिइन् । उक्त फिल्मले विश्व बक्स अफिसमा समेत एक बिलियन डलर कमाएको थियो ।

नेपालमा जन्मिएपनि डिचेनको राष्ट्रियता अष्ट्रेलियाली हो । सन् १९९० मा उनको परिवार नेपालबाट अष्ट्रेलियाको एडिलेडतर्फ प्रस्थान गरेको थियो । उनकी आमा तिब्बती मूलकी नेपाली नागरिक हुन् । उनका अष्ट्रेलियाली पिता जर्मन मूलका हुन् । अष्ट्रेलियाली टीभी ड्रामा ‘नेइबर्स’ सकेर उनी सन् २००७ मा अमेरिकाको लस एन्जलस प्रस्थान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?