+
+

त्रिशुली अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप

मेडिकल काउन्सिलमा उजुरी दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १४:३३
त्रिशुली अस्पताल

११ फागुन, काठमाडौं । त्रिशुली अस्पतालमा २४ बर्षीया सुत्केरीको मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् । उनीहरुले चिकित्सकविरुद्ध मेडिकल काउन्सिलमा उजुरी दिने तयारी गरेका छन् ।

मृतकका श्रीमान् भीमसेन गजुरेलले चिकित्सकले शल्यक्रिया गर्दा लापरबाही गरेको र बिरामीको अवस्था गम्भीर भइसक्दा पनि रेफरमा ढिलाइ गरेको बताए ।

नुवाकोटको विदुर नगरपालिकाकी सरिता न्यौपाने गत सोमबार गर्भ जाँच गराउन माइक्रो बस चढेर ५ किलोमिटर टाढाको त्रिशुली अस्पपताल पुगेकी थिइन् । भिडियो एक्सरेको रिपोर्टमा चिकित्सकले बच्चाको मुटुको धड्कन कम भएको र गर्भवतीको पेटमा पानीको मात्रा कम रहेकाले नर्मल डेलिभरी हुन नसक्ने भन्दै छिट्टै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए ।

‘शल्यक्रिया चाँडै नगरेमा बच्चा र आमाको स्वास्थ्यमा तलमाथि हुने भनेकाले हामीले त्रिशुलीमा शल्यक्रिया गर्न राजी भयौं’, गजुरेलले अनलाइनखबरसँग भने, ‘साँझ शल्यक्रिया पनि सफल भयो । तर, बिरामीलाई केही घण्टामै इन्फेक्सन भएर गाह्रो बनाइसकेको रहेछ ।’

गजुरेलका अनुसार शल्यक्रिया गर्न चिकित्सकले साढे ५ बजे अप्रेसन थिएटर लगेका थिए । शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य पनि ठीक थियो । तर, आमाको रक्तचाप थोरै कम भएको चिकित्सकले बताएका थिए ।

‘केही घण्टामै बिरामीको पेट दुख्न थाल्यो । तर, त्यहाँ भएका स्वास्थ्यकर्मीलाई बिरामी हेर्न आग्रह गर्दा शल्यक्रिया गरेको ठाउँमा दुख्छ भन्ने जवाफ दिए,’ गजुरेलले भने ।

राति २ बजेपछि श्वासप्रश्वासमा पनि समस्या देखियो । दिइरहेको अक्सिजनले पुगेन । स्वास्थ्यकर्मीले अक्सिजन पनि बढाए । आफन्तले चिकित्सकलाई बोलाउन आग्रह गरे । तर, चिकित्सक बिहान ५ बजेमात्र आइपुगे । एक्सरे गरेर हेर्दा चिकित्सकले बिरामीलाई निमोनिया भएको बताए ।

‘निमोनिया भएका आमालाई पनि आईसीयूमा राखेर थप उपचार गर्नुपर्ने र सुधार नभए काठमाडौं लैजानुपर्छ भनेका थिए । चिकित्कसले एन्टिबायोटिक चलाएका रहेछन् । अस्पतालमा एक चिकित्सक मेरो आफन्त हुनुहुन्थ्यो । उहाँले यस्तो बिरामीलाई यहाँ राख्न नहुने सुझाव दिएकाले तुरुन्तै काठमाडौं लैजाने तयारी गयौं,’ गजुरेलले भने ।

तर, अस्पतालको एम्बुलेन्सले बिरामी ल्याउन पनि गाह्रो मान्यो । बाहिरको एम्बुलेन्सले खोजेर आफन्तले दिँउसो १ बजे काठमाडौंको मनमोहन मेमोरियल शिक्षण अस्पताल पु¥याए । तर मनमोहनका चिकित्सिकले बिरामीको सबै अंगले काम गर्न छोडिसकेको भन्दै बाँच्ने सम्भावना कम रहेको बताएको गजुरेलले बताए ।

केही छिनमै बिरामीको मृत्यु भयो । ‘इन्फेक्सनलाई निमोनिया देखाएर एन्टिबायोटिक औषधि चलाएका रहेछन् । अस्पतालमा भएका दुई स्त्री रोग विशेषज्ञ पनि बिदामा हुनुहुँदो रहेछ । अन्य चिकित्सकले अप्रेशन गरेको भन्ने सुनिएको छ’ गजुरेल भन्छन् ।

‘शल्यक्रिया गरेका चिकित्सकले अझै बेलुकासम्म बस्न भनेका थिए । बिरामीको स्वास्थ्य एकदमै बिग्रिएकाले काठमाडौं ल्याइयो । तर, अघिल्लो दिनमै बिरामीलाई काठमाडौं ल्याउन सकिएको भए बाँच्ने रहछ’ उनले भने ।

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले गर्भवतीको मृत्यु हुनुमा अस्पतालको व्यवस्थापकीय वा चिकित्सककीय कुनै पनि पक्षमा गल्ती नभएको दाबी गरे ।

उनका अनुसार बिरामीको पाठेघरमा पानी कम भएकाले तत्कालै शल्यक्रिया गर्ने तयारी गरिएको थियो । अस्पताल प्रशासनका अनुसार गर्भवतीको शल्यक्रिया एमडीजीपी डा. डा. दिपेश कुँवरले गरेका थिए ।

‘हामीले सुरुमै सक्नुहुन्छ भने काठमाडौं लैजानुहोस् भनेर भनेका थियौं । तर, उहाँहरुले त्रिशुलीमा गर्छौं भन्नुभएकाले शल्यक्रिया गरियो,’ डा. पाण्डेले भने, ‘शल्यक्रियापछि अक्सिजन कम भएकाले आईसीयूमा सारेका थियौं ।’

‘यस्तो समस्या ४०–५० हजार शल्यक्रिया गर्दा एक–दुई वटामा देखिन्छ । पाठेघरभित्र खेल्ने पानी आमाको रगतमा जान्छ । त्यसले जटिलता देखाएर बिरामीको मृत्यु हुन्छ’, डा. पाण्डेले भने ।

तर, आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएकाले नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित निकायममा उजुरी दिने तयारी गरेका छन् ।

अहिले बच्चाको स्वास्थ्यको सामान्य रहेको र मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

‘यस्तो घटना भएको त्रिशुलीमा पहिलो पटक मात्रै होइन । पटक–पटक यस्तो घटना भइरहेको छ । बिरामीको पोष्टमार्टम भएपछि हामीले सम्बन्धित निकायमा चिकित्सक र अस्पताल प्रशासन विरुद्ध उजुरी दिने तयारी गरेका छौं,’ गजुरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?