+
+

पोखरा महानगर : ६ महिनामै सकियो खाजा र इन्धनमा सवा करोड

मेयर भन्छन्ः ल्यान्डफिल साइट व्यवस्थापन गर्दा ठूलो रकम इन्धनमा गयो

विकास रोकामगर विकास रोकामगर
२०७९ फागुन १३ गते ९:०३

१३ फागुन, पोखरा । पोखरा महानगरले पूरै आर्थिक वर्षका लागि छुट्याएको खाजा र इन्धन खर्च ६ महिनामै सकेको छ ।

माघ मसान्तभित्रै पूरै आर्थिक वर्षका लागि खाजा र इन्धनका लागि छुट्याइएको १ करोड १२ लाख रुपैयाँ पोखरा महानगरले खर्च गरेको हो ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा महानगरले ८७ लाख ७१ हजार रुपैयाँ इन्धनमा मात्रै खर्च गरेको छ ।

विविध शीर्षकमध्ये चियापानमा मात्रै ८ लाख २१ हजार रुपैयाँ पुस मसान्तसम्ममात्रै खर्च भएको तथ्यांक अनलाइनखबरले प्राप्त गरेको छ ।

महानगरबाट इन्धनका लागि कर्मचारी, जनप्रतिनिधि तथा दमकल, डोजरगायत सवारी साधनका लागि निश्चित मापदण्ड तयार बनाएको छ । तर, पहुँचका आधारमा ‘कुपन’मा सही छाप गर्दै अनधिकृत र असम्बन्धित व्यक्तिले पनि इन्धन लगिरहेका छन् ।

महालेखा परीक्षकको कार्यालयले गत वर्ष सार्वजनिक गरेको स्थानीय तहको प्रतिवेदनले पोखरा महानगरमा खाजा खर्चको नाममा चरण लापरबाही भइरहेको देखाएको थियो । एक आर्थिक वर्षमै २ करोड ४० लाख रुपैयाँ खाना, खाजामै खर्च भएको प्रतिवेदनमा उल्लेख थियो ।

पोखरा महानगगरबाट खाजा खानामै ठूलो रकम खर्च भइरहेको तर, त्यसको प्रयोजन नखुलेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले भनेको थियो, ‘खर्चको प्रमाण हेर्दा बिलमात्रै आएको देखिन्छ, प्रयोजन खुल्दैन । यस्तो प्रवृत्ति नियन्त्रण गरी खर्चमा मितव्ययिता कायम गर्नुपर्छ ।’

तर, महालेखाको सुझावलाई लत्याउँदै यस आर्थिक वर्षमा त झन् आधा कार्यकालमै पोखरा महानगरले खाजा, खानामै ठूलो रकम खर्चिएको छ ।

महानगरले चालु आर्थिक वर्षमा खाजा, खाना तथा अतिथि सत्कारका नाममा ‘विविध’ शीर्षकमा २५ लाख रुपैयाँ छुट्याएको थियो । चालु आर्थिक वर्षका लागि इन्धनका लागि महानगरले १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

सम्बन्धित जनप्रतिनिधि, कर्मचारीबाहेक ककसले, कतिकति इन्धन लगे वा दिइयो भन्नेबारे महानगरले तथ्यांकसमेत राखेको छैन । जसका कारण इन्धनका नाममा लाखौं रकम हिनामिना भइरहेको महानगर स्रोतको दाबी छ ।

पोखरा महानगरबाट प्राप्त तथ्यांकअनुसार पनि मासिक १२ देखि १४ लाख रुपैयाँसम्म इन्धनमै खर्च भइरहेको देखिन्छ ।

‘हामीले दिन मिल्दैन सम्बन्धित विभागको कुनै प्रमुख वा कसैलाई अख्तियारी दिइन्छ । उनीहरुले सही गरेपछिमात्रै इन्धन कुपन पाइने हो,’ महानगर स्रोत भन्छ, ‘बरु महानगर कर्मचारीको निश्चित हुन्छ । बाहिरबाट आउने पाहुना, आफन्तहरुले झन् धेरै महानगरको इन्धन प्रयोग गर्छन् ।’

लेखापाल तोरण कुँवरका अनुसार महानगरबाट इन्धन कुपन लिएर कालिका फ्युल, ओम पेट्रोलिङ र रानीपौवा पेट्रोल पम्पबाट इन्धन लैजान पाउने सुविधा छ । जसमध्ये दमकलले मासिक १८ हजार रुपैयाँ रानीपौवा पेट्रोलपम्पबाट अनिवार्य इन्धन भर्नुपर्ने व्यवस्था रहेको उनी सुनाउँछन् ।

झपट रानाभाटको संयोजकत्वमा गठित सार्वजनिक लेखा समितिले पनि महानगरलाई इन्धन, खाजालगायत शीर्षकमा खर्च कटौती गर्दै कार्ययोजना तयार पारी सार्वजनिक गर्न कार्यपालिकालाई सुझाव दिएको थियो । तर, उक्त सुझावसमेत कार्यान्वयनमा आएको छैन ।

‘पोखरालाई सुशासनका हिसाबले शिक्षित र सभ्य महानगर बनाउन महानगरका पदाधिकारी र कार्यपालिकालाई मात्रै नभई स्थायी सरकार कर्मचारीलाई पनि घच्घच्याउने काम, दिशाबोध र निर्देश गर्ने काम गर्न हामी कटिबद्ध छौं,’ संयोजक रानाभाटले भने ।

महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जीतेन्द्रमान केसीले भौगोलिक रुपमा ठूलो महानगर भएकाले स्वदेशी तथा विदेशी पाहुनाको उपस्थिति भइरहँदा चियाखाजामा ठूलो खर्च देखिन गएको सुनाए । उनले चियापानमा ठूलो खर्च अघिल्लो आर्थिक वर्षको भुक्तानीका कारण पनि हुन सक्ने जानकारी दिए ।

‘सायद यो गतवर्षको बाँकी भुक्तानी पनि त्यसमा पर्‍यो होला ! अर्को भनेको पोखरा महानगर देशकै ठूलो महानगर पनि भएकाले कम्तिमा १३ वटा विभिन्न देशसँग भगिनी सम्बन्ध छ,’ सूचना अधिकारी केसीले भने, ‘विश्वबैंकदेखि एसियाली बैंकसम्मका दातृ निकायका प्रतिनिधिहरु पनि आइरहन्छन् । धेरै विदेशी पाहुनाको आवतजावत हुँदा पनि खाजाखानामा खर्च भएको हुन सक्छ ।’

सूचना अधिकारी केसीले विविध शीर्षकमा भएको खर्च सिंगो महानगरकै भएकाले पनि एकै पटक ठूलो रकम खर्च भएको बताउँछन् । ‘तर, पनि खाजा र इन्धनमा ठूलो रकम गइरहेको भन्ने विषयलाई गम्भीर रुपमा लिएका छौं । यसबारे मिटिङ पनि बसिरहेका छौं, यसमा हामी कसरी मितव्ययी बनाउने भन्ने छलफलमै छौं,’ उनले भने ।

महानगर प्रमुख धनराज आचार्यले महानगरको खाजा, खानामा त्यति ठूलो खर्च नभएकाले शीर्षकअनुसार नै हेर्नुपर्ने बताए । ‘महानगर सम्मेलन गर्दा केही खर्च भएको हुनसक्छ । तर, खाजा खर्चमै त्यति ठूलो खर्च नहोला,’ उनले भने, ‘नेपाल सरकारको निर्देशनअनुसार हामीले पनि तलसम्म मितव्ययीता अपनाइरहेका छौं ।’

पोखरा महानगरबाट २०५४ सालदेखि यताका केही जनप्रतिनिधि र पहुँचवालालेसमेत इन्धन लिनेको यसअघिदेखि नै चर्चा र चासोको विषय बन्दै आएको थियो ।

प्रमुख आचार्यले इन्धनमा भने ल्यान्डफिल साइटको व्यवस्थापन गर्नुपर्दा ठूलो रकम खर्च भइरहेको बताए । उनले भने, ‘त्यहाँ ठूलो डोजर, टिपरहरु प्रयोग हुने र नयाँ ठाउँमा पनि एस्काभेटर चलाउँदा दिनमै ८, ९ लाख पनि खर्च भइरहेको छ,’ उनले भने । तर, खर्च कटौती गरी तिव्ययिता अपनाउन भने आफू गम्भीर रहेको उनको भनाइ छ ।

यो पनि पढ्नुस् –

पोखरामा खाजामै साढे २ करोड खर्च

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?