+
+
ब्लग :

कोरोना महाव्याधिको हालखबर

महाव्याधिकालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन। यो कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ।

डा. प्रबीण श्रेष्ठ डा. प्रबीण श्रेष्ठ
२०७९ फागुन १४ गते ७:५८

कोरोना महाव्याधि सुरु भएको करिब तीन वर्ष पुग्न लागेको छ। ११ मार्च २०२० मा विश्व स्वास्थ्य संगठनले कोरोना महाव्याधिको घोषणा गरेको थियो। डिसेम्बर २०१९ मा चीनको हुवेइ प्रान्तको राजधानी शहर वुहानबाट फैलिन सुरु भएको कोरोना संक्रमणलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नामकरण गर्‍यो र यो संक्रमण या रोग हाल पनि पूर्ण निर्मूल भइसकेको छैन।

कोरोनाभाइरस विश्वमा धेरैअघि नै देखापरिसकेको भएतापनि यसले विश्व महाप्रकोप या महाव्याधिको रूप लिएको थिएन। यसपालिको कोरोनाभाइरस अघिको भन्दा फरक र नौलो भएको हुनाले यसलाई सुरु–सुरुमा २०१९ नोवेल कोरोनाभाइरस (2019-nCoV) भनिएको थियो। पछि यस भाइरसलाई ह्युम्यान कोरोना भाइरस २०१९ (HCoV-19) पनि भनियो किनभने यसले अघिको कोरोनाभाइरसका विपरीत जनावर या पशुपन्छीलाई मात्रै होइन, मानव जातिलाई पनि संक्रमण गरेको थियो।

सन् २००२ मा चीनकै ग्वांगदोङ्ग प्रान्तको फोसान शहरमा एउटा सानो प्रकोप सुरु भई विश्वका अन्य देशहरूमा फैलिएको थियो जसलाई सार्स (Severe Acute Respiratory Syndrome) भनिएको थियो। सार्स रोगको भाइरस र वर्तमान कोरोना महाव्याधिको भाइरसको प्रकृति निकै मिल्दोजुल्दो भएको हुनाले विश्व स्वास्थ्य संगठनले सार्स रोगको भाइरसलाई SARS-Cov-1 र वर्तमान कोरोना महाव्याधिको भाइरसलाई SARS-Cov-2 नामकरण गर्‍यो।

कोरोना महाव्याधि सुरु भएको करिब तीन वर्ष हुन लाग्यो र हालसम्म विश्वभरि करिब पौने एक अरब जनसंख्या यस संक्रमणबाट संक्रमित भइसकेका छन् भने करिब पौने एक करोडभन्दा केही कमले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म अमेरिकामा सबैभन्दा धेरै अर्थात् विश्वको कुल कोरोना संक्रमणको करिब १३.५ प्रतिशत संक्रमण देखापरिसकेको छ भने त्यसपछि क्रमशः चीनमा करिब १३ प्रतिशत, भारतमा ६ प्रतिशत, फ्रान्समा ५ प्रतिशत, जर्मनीमा ५ प्रतिशत, ब्राजिलमा ५ प्रतिशत, जापानमा ४.५ प्रतिशत, कोरियामा ४ प्रतिशत, इटालीमा ३.५ प्रतिशत र बेलायतमा ३ प्रतिशत जनसंख्यामा संक्रमण देखापरेको छ। त्यस्तै नेपालमा हालसम्म विश्वको कुल संक्रमणको करिब ०.१ प्रतिशत संक्रमण भेटिएको छ।

त्यसैगरी विभिन्न महादेशमध्ये हालसम्म युरोपमा विश्वको कुल कोरोना संक्रमणमध्ये करिब ३६ प्रतिशत, एशियामा ३५ प्रतिशत, उत्तर अमेरिकामा १६ प्रतिशत, दक्षिण अमेरिकामा ९ प्रतिशत, अस्ट्रेलियामा २ प्रतिशत र अफ्रिकामा १.५ प्रतिशत संक्रमण भेटिएको छ।

नेपाल सरकारका अनुसार १० फागुन २०७९ बुधबारका दिनसम्म देशभर जम्मा १० लाख १ हजार १३७ संक्रमण (पीसीआर परीक्षण अनुसार) देखापरेका छन् भने १२ हजार २० जनाको यसैका कारण मृत्यु भइसकेको छ।

गत वर्ष माघ (सन् २०२२ को जनवरी—फेब्रुअरी) तिर महाव्याधिको ठूलो लहर आएको थियो जुन करिब एक महिना लम्बियो। त्यतिबेला दैनिक ९ हजार ५०० भन्दा धेरै नयाँ संक्रमण भेटिएको थियो। यद्यपि त्यस लहरको बेला कोरोनाले मृत्यु भने अघिल्लो लहरको तुलनामा निकै कम भएको थियो, दैनिक करिब १०-१५। तत्पश्चात, विगत करिब एक वर्षभन्दा लामो समयदेखि नेपालले फेरि कोरोनाको त्यति ठूलो जोखिम भोग्नु परेको छैन। नेपाल मात्रै होइन, समग्र दक्षिण एसियाले त्यसपछि कोरोना महाव्याधिको त्यति ठूलो क्षति व्यहोर्नु परेको छैन।

विगत एक वर्षभन्दा लामो समयदेखि भारत लगायत यस क्षेत्रका अन्य देशहरूमा पनि कोरोना संक्रमण न्यून र यसको प्रवृत्ति घट्दो नै देखिएको छ। यद्यपि हाल पनि विश्वमा युरोपका केही देश चीन, जापान, कोरिया, ताइवान आदिमा कोरोना आतंक जारी नै रहेको देखिन्छ।

चित्रमा नेपालको विगत करिब दुई महिनाको कोरोना संक्रमणको प्रवृत्ति देखाइएको छ। चित्रमा देखाइए जस्तै यसै वर्षको पुस महिनामा कोरोना संक्रमण दैनिक औसतमा करिब १० जना जति देखिने गरेकोमा त्यसपछिका दिनहरूमा यो थप घट्दै गएको छ। पछिल्लो समय नेपालमा औसतमा दैनिक करिब ३ जना मात्रै नयाँ संक्रमण देखिने गरेको छ। हुन त पछिल्लो समय संक्रमण कम हुँदै जाने क्रममा दैनिक पीसीआर परीक्षण पनि कम हुँदै गएको छ।

चित्रमा देखाइए जस्तै गत दुई महिनामा दैनिक औसत करिब ३९८ जनाको मात्रै पीसीआर परीक्षण हुने गरेको छ जसमध्ये औसतमा करिब ३ जना संक्रमित देखिने गरेको हो। त्यस अनुसार दैनिक संक्रमण दर करिब ०.७ प्रतिशत जति हुने गरेको छ। स्मरणरहोस्, विश्व स्वास्थ्य संगठनका अनुसार, दैनिक संक्रमण दर ५ प्रतिशतभन्दा माथि भएमा संक्रमण समुदायमा फैलिएको अवस्था भन्ने बुझिन्छ।

त्यस्तै कोरोना मृत्यु पनि नेपालमा निकै न्यून देखिन्छ आजभोलि। २०७८ को साउन (सन् २०२२ को जुलाई अगस्ट) सम्म दैनिक औसतमा २-३ नयाँ कोरोना मृत्यु भेटिने गरेकोमा हाल यो संख्या शून्यप्रायः भएको छ। नेपालमा अन्तिम कोरोना मृत्यु यसै वर्षको पुस २३ (जनवरी ७) का दिन एक जनाको भयो। त्यसअघि पनि करिब साढे दुई महिना दैनिक मृत्यु शून्य रही यसै वर्ष कत्तिक ७ (गत वर्षको अक्टोबर २४) का दिन एक मृत्यु भेटिएको थियो। त्यसअघि पनि करिब एक महिना दैनिक कोरोना मृत्यु शून्य नै थियो। त्यस अर्थमा विगत करिब ६ महिनामा नेपालमा जम्मा दुई मात्रै कोरोना मृत्यु देखा परेका छन्।

संक्षेपमा, पछिल्लो समय विश्वमा कोरोना संक्रमण समग्रमा कम हुँदै गएको छ। त्यही नै स्थिति दक्षिण एसिया र नेपालको पनि देखिन्छ। हाल दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमणमा निकै कमी आएको छ र विगत दुई महिनाको प्रवृत्ति हेर्ने हो भने यो अझै घट्दो देखिन्छ। यद्यपि हाल पनि विश्वका कैयौं देशमा कोरोना आतंक जारी नै रहेको देखिन्छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वव्यापी र देशव्यापी रूपमै निकै कमी आइसकेतापनि उन्मूलन भने भइसकेको छैन।

महाव्याधिकालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन। यो कुरा हाल विश्वका विभिन्न देशहरूमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्दछ।

तथ्यांकले जेसुकै देखाए पनि महाव्याधिको यथार्थलाई आत्मसात् गर्न बाँकी नै छ। हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुराहरू कडाइका साथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरूमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिंदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?