+
+

७० प्रतिशत लागू भएपछि ट्रायल पास हुने २० प्रतिशतसम्म बढे

रासस रासस
२०७९ फागुन १४ गते १५:२७

१४ फागुन, काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ ।

बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन् । नियम लागू भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ ।

कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । सुरुमा चाप बढी भए पनि पुनःट्रायल दिने कम हुने उनको भनाइ छ । लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनःदुई पटक मौका पाउने गरेका छन् । उनले भने, ‘एकै पटकमा धेरै पास भएपछि दोहोर्‍याएर र तेहेर्‍याएर दिने घट्ने भए ।’

प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए । सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बागमती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो । अरु प्रदेशमा चाप अतिन्यून रहेको र उपत्यका बाहिरका जिल्लास्थित कार्यालयको एक सातामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताए ।

विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुईपाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको छ । हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?