
१४ फागुन, काठमाडौं । नेपाल आयल निगमले ८० हजार लिटर डिजेलमा मिसावटको आंशकामा छानबिन थालेको छ ।
झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्यांकरको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको निगमको चारआली कार्यालय प्रमुख भीम विकले बताए ।
‘चार वटा ट्यांकरमा भारतबाट नेपाल ल्याइएको ८० हजार लिटर डिजेलमा घनत्व कम भएको पाइएको छ,’ विकले भने, ‘अहिले केन्द्रीय कार्यालयबाट आएको टोलीले अनुसन्धान थालेको छ ।’
कार्यालयकाअनुसार गत बुधबार भारतीय आयल कर्पोरेसन (आईओसी) को सिलिगुडी डिपोबाट लोड गरिएको मे. १ ख. २१४९, मे. १ ख. २१५१, ना.७ ख. १५०७ र ना. ७ ख. ६९७४ नम्बरको ट्यांकरको डिजेलमा घनत्व कम भएको पाइएको छ ।
आयल निगमले ८ सय २० देखि ८ सय ५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएको डिजेलमा तल्लो प्यारामिटर भन्दा तल रहेको पाइएको छ ।
डिजेलमा भएको मिसावट के हो भन्नेबारे भने निगमको केन्द्रीय कार्यालयले गठन गरेको प्राविधिक टोलीको छानबिनपछि मात्रै निर्क्यौल हुने निगमको प्रदेश एक कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4