+
+

बागमती प्रदेश सभाबाट कर्मचारी सम्बन्धी दुईवटा विधेयक सर्वसम्मत पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते २१:४०

१३ फागुन, हेटौंडा । बागमती प्रदेश सभाले कर्मचारी सम्बन्धी दुईवटा अध्यादेशको प्रतिस्थापन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

आइतबार बेलुका बसेको प्रदेशसभाको दोस्रो बैठकले प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकहरु पारित गरेको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा निर्णायार्थ पेश गरेको दुई वटै अध्यादेशको प्रतिस्थापन विधेयकहरुलाई पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रमाणीकरण भएपछि यी विधेयक ऐनको रुप लिनेछन् ।

यसअघि आइतबार साँझ बसेको प्रदेश सभाको पहिलो बैठकमा विधेयक व्यवस्थापन विशेष समितिका संयोजक डा.दिनेशचन्द्र देवकोटाले समितिले गरेको निर्णयको प्रतिवेदन सभामा पेश गरेका थिए ।

प्रतिवेदन तयार गर्नुअघि आज पटक–पटक प्रदेश सभा सचिवालयमा विशेष समितिमा विधेयकहरुका सम्बन्धमा छलफल भएको थियो । छलफलमा समितिका सदस्यहरुका साथै मुख्यमन्त्री शालिकराम जमकट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, प्रदेश सचिवहरु लगायतको सहभागिता रहेको संयोजक देवकोटाले सभालाई जानकारी गराएका थिए ।

विधेयक छलफलका क्रममा १८ जना प्रदेश सभा सदस्यबाट संशोधन प्राप्त भएको उनले बताए । विस्तृत छलफल गरेर प्रदेश सरकारबाट स्वीकार भएका संशोधनका बुँदाहरु समेटि समितिले परिमार्जन सहितको प्रतिवेदन पारित गरेको उनले उल्लेख गरे ।

पहिलो बैठकमा प्रदेशसभा नियमावली २०७४ को नियम २११ उपनियम १ बमोजिम नियम निलम्बन गरी दोस्रो बैठकमा विद्येयकहरु माथि छलफल गरीएको थियो । प्रदेशसभा नियमावली अनुसार संसदमा पेश भएको २४ घण्टासम्म कुनैपनि प्रतिवेदन माथि छलफल गर्न नमिल्ने भएकाले नियम निलम्बन गरिएको थियो । नियम निलम्बन गरी दोस्रो बैठकबाट विधेयकहरु सर्वसम्मतिबाट पारित गरिएको थियो ।

शनिबार बसेको प्रदेश सभा बैठकमा फागुन १० गते संसदमा पेश भएको कर्मचारी सम्बन्धी दुईवटा अध्यादेशको प्रतिस्थापन विधेयकमाथि दफावार छलफल गर्न र प्रतिवेदन पेश गर्न १५ सदस्यीय विधेयक व्यवस्थापन विशेष समिति गठन गर्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?