+
+

मेयर बालेनसँग दरबारमार्गका व्यवसायीको आक्रोश, पार्किङ नदिने भए राजीनामा देऊ

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ फागुन १५ गते २०:१७

१५ फागुन, काठमाडौं । सोमबार अपरान्ह ४ बजे व्यवसायीहरुको एउटा समूह दरबारमार्गको मुल सडकमा कालो ब्यानर लिएर अन्दोलनमा उत्रिए । करिब तीन सयको संख्यामा रहेका व्यवसायीहरुको भीडमा थिए, व्यवसायी ठाकुरप्रसाद अधिकारी । उनी दरबारमार्गमा रहेको कपडा पसलको सटर बन्द गरेर आन्दोलनमा आएका थिए । दरबारमार्ग परिक्रमा गरिरहेको आन्दोलनको भीडमा अधिकारी उत्तेजित हुँदै भन्थे, ‘बालेन साह पार्किङ देऊ, पार्किङ नदिए राजिनामा देऊ ।’

अधिकारीकाअनुसार महानगरले पार्किङ हटाएपछि पसलको व्यापार चौपट भएको छ । दरबारमार्ग क्षेत्रमा पार्किङ छैन भन्दै ग्राहक नै नआएको अधिकारीले बताए । पार्किङ अभावमा उनी र छिमेकीका व्यवसाय ६० प्रतिशतले घटेको अधिकारी बताउँछन् । उनी सहभागी विरोध र्‍यालीमा अगाडि रहेकाहरुले सिट्टी फुक्दै भन्छन्, ‘मेयर साप, पार्किङ नदिए राजिनामा देऊ ।’ अधिकारी ‘हो–हो’ भन्दै ताली पिट्छन् ।

सामान्यतय साँझ पर्नै लाग्दा दरबारमार्ग क्षेत्रमा चहलपहल बाक्लिन्छ । तर, सोमबार अपरान्ह व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरेर महानगरविरुद्ध आन्दोलनमा उत्रिए । आन्दोलनमा भेटिएकाहरुको एउटै स्वर थियो ‘महानगर पार्किङ देऊ ।’

आन्दोलनमा रहेका ज्ञानेश्वर श्रेष्ठ दरबारमार्गमा ज्वेलरी पसल सञ्चालन गर्छन् । श्रेष्ठकाअनुसार १९ पुसमा महानगरले दरबारमार्ग क्षेत्रबाट एक्कसी एक लाइन पार्किङ हटाएपछि यहाँका व्यवसायीहरु निकै ठूलो संकटमा परेका छन् । केही विकल्प होलाकि भनेर कुर्दा कुर्दै हरेक दिन व्यवसाय चौपट भइरहेको उनले बताए । ‘पार्किङ हटायो भन्ने खबरले मानिस नै दरबारमार्गमा आउँदैनन् । यहाँ सुनसान भइसक्यो,’ श्रेष्ठले भने, ‘अब कसरी सहनु ? हामी भाग्नु अघिको अवस्थामा आन्दोलनमा छौं । ’

किनमेल र घुमफिरका लागि प्रख्यात रहेको दरबारमार्ग अहिले साँझ ६ बजेपछि नै सुनसान हुने गरेको उनले बताए । उनले महानगरको पार्किङ व्यवस्थित गर्ने कार्य सही भएपनि विकल्पविहीन निर्णयको विरोध गरिएको उनले बताए ।

दरबारमार्गका व्यवसायीहरु आन्दोलनको अगुवाइ गरिरहेका दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारी मेयर साहले सरसल्लाह नगरी पार्किङ हटाएको आरोप लगाउँछन् । दरबारमार्गको इतिहासमै पार्किङका लागि भनेर निर्माण गरिएको ठाउँमा महानगरले अनुचित काम गरेको उनले बताए । कुनै विकल्प नदिई गरिएको निर्णयका कारण ग्राहक दरबारमार्ग नआएको र व्यवसायी भाग्नु पर्ने अवस्था सृजना भएको अधिकारीले बताए । ‘करोडौं खर्च गरेर यस क्षेत्रमा व्यवसाय गरिरहेकाहरु ग्राहक नआउने वातावरण पछि कहाँ जाने ?,’ अधिकारी प्रश्न गर्छन्, ‘यसबारे मेयर बालेनले सोच्नु पर्छ ।’

पटक–पटक मेयरसँग यसबारे छलफलका लागि भेट्न जाँदा भेट्न अस्वीकार गरेको पनि अधिकारीले बताए । ‘हामीले लिखित रुपमा मेयरको सचिवालयलाई यसबारे जानकारी गराएका छौं । तर यलाई बेवास्ता गरियो,’ अधिकारी भन्छन्, ‘अब महानगरले बेवास्ता गरे सडकमा जबरजस्ती पार्किङ गर्छौँ ।’

दरबारमार्ग विकास बोर्डका पूर्वअध्यक्ष सुन्दरलाल कक्षपतिले दरबारमार्गको पार्किङ हटाउने निर्णय फिर्ता हुनु पर्ने बताए । महानगरले एक पक्षीय ढंगबाट पार्किङ हटाएर अन्याय गरेको र दरबारमार्गको ऐतिहासिक महत्व नबुझको कक्षपातिको भनाइ छ । ‘पार्किङ गर्न कै लागि भनेर बनाएको ठाउँबाट सवारी साधन हटाइनु सर्वथा गलत हो’ कक्षपातिले आक्रोसित हुँदै भने, ‘दरबारमार्गको पार्किङले कसलाई असर गरेको छ ? यो कुरा मेयर बालेनले प्रष्ट्याउनु पर्छ ।’

गत १९ पुसमा ट्राफिक प्रहरीको आग्रहमा महानगर प्रहरीले दरबार मार्ग क्षेत्रको बायाँतर्फको सडकको एकतर्फी पार्किङ हटाएको थियो । पार्किङ हटेका कारण त्यस क्षेत्रमा रहेका करिब ३ सय वटा पसल कबुलमा ग्राहक नआएको व्यवसायीहरुको आरोप छ ।

दरबारमार्ग क्षेत्रमा निकै कम मात्रामा बेसमेन्ट पार्किङ रहेको भन्दै व्यवसायीहरुले ग्राहकका लागि त्यसबाट नपुग्ने बताए । दरबारमार्ग विकास बोर्डकाअनुसार अहिले हटाइको क्षेत्रमा करिब ३ हजार मोटरसाइकल र एक सय हाराहारी गाडी पार्किङ गर्न मिल्ने अवस्था थियो । पार्किङको समस्या घरबेटीको होकी महानगरको भन्ने जिज्ञासामा बोर्डका पूर्वअध्यक्ष कक्षपातिले भने, ‘व्यवसायी र कर्मचारीको पार्किङ घरबेटीको हो । तर ग्राहकको पार्किङ व्यवस्था राज्यले गर्नुपर्छ । विना विकल्प हटउन पाइन्न ।’

दरबारमार्गमा पार्किङको वैकल्पिक उपायबारे सडकको कुनै एक भाग प्रयोगबाहेक अन्य कुनै विकल्प नरहेको पनि बोर्डको दाबी छ ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?