+
+

फ्रिज कसरी बिग्रिन्छ ?

दीपक थापा दीपक थापा
२०७९ फागुन १७ गते १०:०६

फ्रिज मुख्यतः तीन प्रकारको हुन्छ- सिङ्गल डोर, डबल डोर र डिप फ्रिज । तर घरमा धेरै प्रयोग हुने फ्रिज भनेको सिङ्गल डोर र डबल डोर हो ।

फ्रिजलगायत घरेलु उपकरणको बारेमा केही सामान्य जानकारी भने सबैलाई हुनु जरुरी छ । कहिलेकाहीं फ्रिजमा धेरै बरफ जमेर त कहिले चिसो नभएर तनाव हुन्छ । फ्रिजको बारेमा सामान्य जनकारी भयो भने सामान्य समस्या भयो भने घरमै समाधान गर्न सकिन्छ ।

फ्रिजको प्रयोग खानेकुरा संरक्षण गर्न, औषधि भण्डारण, दूध संरक्षण, मासु र माछा लामो समयसम्म राख्ने आदिका लागि प्रयोग गरिन्छ । फ्रिजमा दुई भाग हुन्छन्- कुल कम्पार्टमेन्ट र चिसो डिब्बा-फ्रिजर । फ्रिजको मुख्यतः चारवटा कम्पोनेन्ट हुन्छ, कम्प्रेसर, कन्डेन्सर, एक्सपेन्सन भल्भ र इभापोरेटर । जसले फ्रिजलाई चिसो बनाउन मद्दत गर्छ ।

फ्रिजको पछाडि जमेको पानी 

फ्रिजको पछाडि भागमा रहेको एउटा ट्रेमा प्रायः पानी जम्मा भएर बसेको हुन्छ । त्यो पानीलाई फाल्नुपर्छ कि पर्दैन भन्ने जिज्ञासा धेरैलाई हुन्छ । तपाईंको फ्रिजले राम्ररी काम गरिरहेको छ भने त्यो जमेको पानीलाई फाल्नुपर्दैन । फ्रिज लगातार चल्ने क्रममा कम्प्रेसर मेसिन तात्छ । तातेको कम्प्रेसरले नै त्यो पानीलाई तताएर बाफको रूपमा उडाउँछ ।

फ्रिजमा चाहिने भन्दा बढी आइस जम्यो भने ट्रेमा बढी पानी जम्यो भने चाहिं फ्रिजमा केही समस्या भएको हुन सक्छ ।

फ्रिजको आवाज आउँदा 

फ्रिज चलाउँदा आवाज आयो भन्ने गुनासो पनि धेरैको हुन्छ । तर आवाज आउनु सामान्य हो । फ्रिज चलाएपछि फ्रिजमा भएको मेसिनहरु चल्नुपर्‍यो, जसले गर्दा आवाज आउँछ । फ्रिज चलाएपछि पनि आवाज आएन भने त्यो चाहिं समस्या हो ।

फ्रिजमा धेरै आइस जम्दा 

फ्रिजको चिसो डिब्बा वा फ्रिजरमा धेरै नै आइस जमेको छ भने थर्मास्टेट सेन्सरले राम्ररी काम नगरेको हुनसक्छ । धेरै आइस जम्यो भने त्यसलाई कोट्याउनु हुँदैन । यसो गर्दा ग्यास पास हुने पाइप फुट्छ र फ्रिज बिग्रिन्छ । त्यसैले आइस धेरै जम्यो भनेर धारिलो कुराले कोट्याउनु भन्दा थर्मास्टेटलाई बनाउनुपर्छ ।

फ्रिज राम्ररी चिसो नहुँदा 

फ्रिजको कम्पे्रसरमार्फत ग्यास लगातार फ्रिजमा जाने र कम्प्रेसरमा फिर्ता जाने भइरहन्छ । यसरी ग्यास ‘साइक्लिङ’ ओहोरदोहोर भएर फ्रिज चिसो हुने हुन्छ । कुनै कारणले ग्यास पास हुन पाएन कतै जाम भयो भने फ्रिज राम्ररी चिसो हुँदैन ।

फ्रिज राम्ररी सफा नगर्दा

फ्रिज राम्ररी सफा नगर्दा धेरै पटक यसमा फङ्गस पनि बढ्न थाल्छ । यो फङ्गस फ्रिजको धेरै भागमा फैलिन्छ र फ्रिजमा राखिएका सामानसँगै यसले फ्रिजको ढोका, शेल्फको किनार र अन्य धेरै लुकेका भागहरु बिगार्छ ।

ध्यान दिनुपर्ने कुरा

फ्रिजलाई यताउता सार्दा

फ्रिजलाई यताउता सार्दा ढल्काएर सारेको छ र तुरुन्त त्यसलाई चलाएको छ भने फ्रिज बिग्रन सक्छ । यदि घर तथा कोठा सर्दा फ्रिजलाई टाढा ढल्काएर नै लैजानुपर्ने छ भने लैजाने बित्तिकै फ्रिजलाई चलाउनु हुँदैन । ढल्काएर लगिसकेपछि सिधा पारेर राखेको २४ घण्टापछि वा कम्तीमा पनि १२ घण्टापछि मात्र फ्रिज चलाउनुपर्छ ।

बत्ती आउने जाने गर्दा

कहिलेकाहीं बत्ती जाने आउने भइरहन्छ । हाइ भोल्टेज आउँदा हामी फ्रिज बन्द गर्छौं । तर त्यसरी बत्ती जाने आउने क्रममा बन्द गरेको फ्रिजलाई तुरुन्त चलाइहाल्नु हुँदैन । त्यसो गर्दा तत्काल फ्रिज चल्न सक्दैन । किनकि कम्प्रेसरले ग्यास निकाल्न दबाब पर्छ र कम्प्रेसर बिग्रन सक्छ  । त्यसैले बत्ती जाने आउने गरेको छ भने बत्ती राम्ररी नआउन्जेल फ्रिज बन्द गर्नु उचित हुन्छ ।

(उनी विद्युतीय उपकरण प्राविधिक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?