+
+
Shares

माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ११ गते १२:११

११ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनावमा संविधान संशोधन गर्नेसँग सम्बन्धित तीन वटा एजेण्डा उठाउने भएको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधानसँग सम्बन्धित तीन वटा एजेण्डा तय गरेको हो ।

पहिलो : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ।

दोस्रो : पूर्ण समानुपातिक निर्वाचन प्रणाली ।

तेस्रो : विज्ञहरूबाट मन्त्री ।

यी विषय माओवादीले विगतमा समेत उठाउँदै आएको थियो । जेनजी आन्दोलनपछि बसेको केन्द्रीय समितिको बैठकले यसलाई चुनावमा जाँदा संविधान संशोधनसँग सम्बन्धित रहेर उठाउने निर्णय गरेको हो ।

यी तीन वटै कुरालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

केन्द्रीय समितिले फागुन २१ मै प्रतिनिधिसभाको चुनाव गराउन लाग्ने निर्णय पनि गरेको छ ।

‘तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने । निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने,’ माओवादीको निर्णय छ ।

भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् ।

उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा अन्य नेताहरूले समेत समर्थन जनाए । सोही अनुसार माओवादीले तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने र निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?