+
+

ट्वीटरले निकाल्यो थप २ सय कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १७:४९

काठमाडौं । कर्मचारी कटौतिको अर्को चरण अन्तरगत ट्वीटरले थप २ सय कर्मचारीलाई जागिरबाट निकालेको छ । यो भनेको ट्वीटरमा हाल कार्यरत करिब २ हजार कर्मचारीको १० प्रतिशत हो ।

गत अक्टोबरमा एलन मस्कले खरिद गर्नुअघि करिब साढे ७ हजार कर्मचारी रहेको ट्वीटरमा मस्कले अहिलेसम्म ५० प्रतिशत कर्मचारीको जागिर खोसिसकेका छन् ।

पछिल्लोपटक २ सय कर्मचारी कटौति गरेसँगै मस्कले ट्वीट गर्दै भनेका छन्, ‘आशा छ तपाईँको शुक्रबार राम्रो रह्यो होला । तपाईँको बाँकी जीवनको पहिलो दिन ।’

त्यस्तै ट्वीटरको ब्लू भेरिफिकेसन सब्सक्रिप्सन मोडेल हेर्ने ट्वीटर पेमेन्ट्सकी प्रमुख कार्यकारी इस्थर क्राफोर्डले आफूलाई आफ्नो टीमप्रति गहिरो गौरवानुभूति रहेको बताएकी छिन् ।

ट्वीटरको खरिद गरेको न्युजलेटर टूल रिभ्युका संस्थापक समेत रहेका वरिष्ठ प्रडक्ट म्यानेजर मार्टिज्न डी कुइज्परले एक ट्वीट गर्दै आफ्नो कार्यालयको इमेल लक भएसँगै आफूले जागिर गुमेको पत्तो पाएको बताएका छन् ।

प्रविधि उद्योगमा कर्मचारी कटौतिको लहर

ट्वीटरले पछिल्लोपटक गरेको कर्मचारी कटौति केही महिनायता प्रविधि उद्योगहरुमा चलिरहेको कर्मचारी कटौतिको श्रृंखलाको पछिल्लो कडि हो ।

अमेजन, माइक्रोसफ्ट तथा अल्फाबेट लगायतका ठूला प्रविधि कम्पनीहरुले हजारौँ कर्मचारी कटौति गरिसकेका छन् । यी सँगै स्पटिफाई, इन्टेल तथा आइबीएममा गरी ६ वटा कम्पनीमा मात्र जनवरीको अन्त्यसम्ममा १० हजार कर्मचारीले जागिर गुमाएका थिए ।

एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरीद गर्न लिएको बैंकको कर्जा तिर्नुपर्ने पहिलो ब्याज भुक्तानीको अवधिबाटै ट्वीटरमा कर्मचारी बर्खास्तगी सुरु भएको थियो । मस्कले ट्वीटर खरीद गर्दा १३ अर्ब डलर विभिन्न बैंकबाट ऋण लिएका थिए ।

त्यसको ब्याजस्वरुप गत जनवरीमा ट्वीटरले ३० करोड डलर तिरेको थियो । त्यस्तै लण्डनमा रहेको कार्यालयको घरभाडा नतिरेको भन्दै क्राउन इस्टेट नामक कम्पनीले ट्वीटर विरुद्ध मुद्दा हालेको थियो भने अमेरिकाको सनफ्रान्सिस्कोस्थित कार्यालयको घरभाडा तिर्न नसक्दा पनि ट्वीटर विरुद्ध मुद्दा परेको थियो ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?