+
+

दुर्गा प्रसाईंको अराजकताको असर, जाजरकोटमा कालोमोसो र लुटपाट

ऋण नतिर्ने, बरु ऋणदातालाई मोसो दल्ने दुर्गा प्रसाईंको धम्की सामान्य थिएन । अझ पूर्व राजा ज्ञानेन्द्र शाहलाई सामुन्ने राखेर उनले कानुनको शासनमाथि दिएको चुनौती विरुद्ध दल, वित्तीय संस्था आदिले बोलेको सुनिएन । दुई साता नबित्दै यो मौनताका असरहरू देखिन थालेका छन् ।

विजय पराजुली विजय पराजुली
२०७९ फागुन १७ गते १८:१९
चितवनमा दुर्गा प्रसाईंले बनाएको कालोमोसो समूह । तस्वीर सौजन्य : नारायणी अनलाइन ।

१७ फागुन, काठमाडौं । व्यवसायी हुँ भन्छन्, दुर्गा प्रसाईं । तर उनको ध्यान दलपिच्छे प्रभाव पारेर शक्ति आर्जनमा छ । कहिले माओवादी त कहिले एमाले बनेर, कहिले गोविन्द केसीको सत्याग्रह विरुद्ध बोलेर अनि पछिल्ला दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि लगाएर उनी हिंडिरहेका छन् ।

व्यावसायिक सक्रियताभन्दा बढ्ता दलगत आडमा शक्ति आर्जनतिर ध्यान लगाइरहेका उनी धाकधम्कीको भाषा बोल्छन्, खिसीटिउरीलाई माध्यम बनाउँछन् । पत्रकारले सोधेका प्रश्नले उनलाई हुँदैन । आफैं युट्युबर बोकेर हिंड्छन् ।

तिनै दुर्गा प्रसाईं, जोसँग ठोस रूपमा देखाउने सफलताको कुनै कथा छैन, बरु विवादै विवादका शृंखला छन्; उनले दुई साताअघि ज्ञानेन्द्र शाहकै सामुन्ने खुलेआम धम्की दिए । आफ्नो पहलमा झापामा भेला गर्दै उनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने उद्घोष गरे ।

प्रसाईंले बैंक, लघुवित्त र सहकारीलाई २० लाखसम्मको कर्जा मिनाहा गर्न माग राखे, त्यसो नगरे तत्–तत् संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिए । ‘ती कर्मचारीलाई कालोमोसो दल्दा केही हुँदैन, पुलिसले हिरासतमा लगेर चार–पाँच दिन राख्ने न हो’, उनले धम्की दिएका थिए ।

संविधान र कानुनले प्रत्याभूत गरेको आधारभूत हकलाई चुनौती दिने गरी प्रसाईंले पूर्वराजालाई सामुन्ने राखेर बोलेका अभिव्यक्तिहरूलाई कुनै राजनीतिक संस्थाले गम्भीर रूपमा लिएको देखिंदैन ।

जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि दुईजना अज्ञात व्यक्तिले कालोमोसो दल्दै रकम लुटे । १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकामा मासिक किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि दुई व्यक्तिले कालोमोसो दलेर साथमा रहेको किस्ता असुल नगद सहितको झोला खोसेर भागेको जाजरकोट प्रहरीले बतायो । डीएसपी सन्तोष रोक्काका अनुसार लघुवित्तका कर्मचारी किस्ता उठाउन आउने बुझेर उक्त समूहले दुव्र्यवहार गरेको हो ।

‘१६ गते उक्त स्थानमा एनआईसी एशिया लघुवित्तको किस्ता उठाउने मिति रहेछ । सोही क्रममा मंगलबार लघुवित्तका कर्मचारी किस्ता उठाउन गएको ठाउँमा दुई जना व्यक्ति आएर कर्मचारीलाई कालोमोसो दलेर किस्ता असुल गरेको रजिष्टर र नगदसहित भागेछन्’ डीएसपी रोक्का भन्छन्, ‘हामीले घटनाको अनुसन्धान सुरु गरिसकेका छौं । पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

प्रधानमन्त्री प्रचण्डको आड लिएर विगतमा व्यावसायिक प्रभाव फैलाएका दुर्गा प्रसाईंलाई उनको मात्रै निकटताले पुगेन । एमाले र माओवादीबीच पाँच वर्षअघि गठबन्धन तथा पार्टी एकता क्रममा दुर्गा प्रसाईं पनि माओवादीबाट नेकपा भए । पार्टी अलग हुँदा उनी एमालेको पार्टी सदस्यसमेत नबनी सीधै महाधिवेशनको बन्दसत्र हलमा पहुँच पाउन थाले । चितवन महाधिवेशनबाट एक सालअघि एमाले केन्द्रीय सदस्य हुने उनको रहर पूरा भएन । बरु ओली आफैंले प्रसाईंलाई केन्द्रीय समितिमा केही सातापछि ताने ।

प्रसाईं एमालेसँग पनि सन्तुष्ट भएर बस्न सकेनन् । उनी अहिले ज्ञानेन्द्र शाहलाई अगाडि सारेर बैंक तथा वित्तीय संस्थामाथि नियोजित प्रहार गर्दै हिंडेका छन् ।

‘सतिश पोख्रेलको नेतृत्वमा देशभरि कालोमोसो दल्ने समूह बनाएका छौं’ झापामा दुई साताअघि प्रसाईंले भनेका थिए, ‘२० लाखसम्मको ऋण मिनाहा हुनुपर्छ । लघुवित्तका मान्छे गाउँमा आए भने च्याप्प समाउने, कालोमोसो दल्ने । बैंकका कर्मचारीले टर्चर गरे भने बैंकको बाहिर रुँघेर बस्ने र कालोमोसो दल्ने । बैंकको भित्र छिर्‍यो भने पो मुद्दा लाग्छ !’

यसरी धम्कीको भाषा बोलेका प्रसाईंले विभिन्न व्यवसायमा लगानी गर्न बैंकबाट अर्बांै ऋण लिएका छन् । विभिन्न बैंकबाट अर्बौं ऋण लिएको र उनकै नेतृत्वमा रहेको झापाको बीएण्डसी टिडिङ हस्पिटल एण्ड मेडिकल कलेजले हालै मात्रै नयाँ ऋणको लागि समेत रेटिङ गराएको छ । उनले कति ऋण लिएका छन् भनेर राष्ट्र बैंकले बैंकहरूसँग विवरण माग गरेको थियो ।

विभिन्न वाणिज्य बैंक र वित्तीय संस्थाहरूबाट प्रसाईंले करिब साढे ५ अर्ब रुपैयाँ ऋण लिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

उनकै नेतृत्वको बीएण्डसी टिचिङ हस्पिटल एण्ड मेडिकल कलेजले हालै मात्रै २ अर्ब ७० करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ ।

प्रसाईं मात्रै नभएर माओवादी पृष्ठभूमिका गुल्मी घर भएका मनिराम ज्ञवालीले लघुवित्त संस्था विरुद्धको संघर्ष समितिका नाममा संगठन बनाउँदै हिंडेको एक वर्ष बितिसकेको छ । लघुवित्त संस्था खारेज गर्नुपर्ने, कर्जा मिनाहा गर्नुपर्ने जस्ता आधारहीन मागसहित वित्तीय क्षेत्रमाथि संगठित रूपमा प्रहार हुँदा त्यसले समग्र अर्थव्यवस्था नै अस्तव्यस्त हुने जोखिम बढेको छ ।

अर्थतन्त्रको प्रमुख खम्बा बैंक तथा वित्तीय संस्थामाथि खुल्ला ‘थ्रेट’ आएपछि सरकारले सुधारोन्मुख भनेको अर्थतन्त्रको सुरक्षालाई लिएर सबै पक्ष चिन्तित बनेका छन् । अर्थतन्त्रमा मन्दी आउँदा सबै क्षेत्र प्रभावित भएका छन् । लघुवित्त संस्थाले अस्वाभाविक प्रतिस्पर्धा गर्दै अन्धाधुन्ध कर्जा लगानी गर्दा कर्जा डुप्लिकेसनका कारण कतिपय ठाउँमा समस्या आएको छ । ऋणीको आम्दानी र कर्जा तिर्नसक्ने क्षमता नहेरी कर्जा लगानी, आम्दानीको स्रोतको मूल्यांकन गर्ने र कर्जा असुली गर्दा कर्मचारीले गर्ने व्यवहारका कारण केही क्षेत्रमा समस्या रहेको छ ।

तर, कमी–कमजोरीप्रति नियामक निकायबाट नियमनका लागि पहल गर्न आग्रह गर्नु साटो दुर्गा प्रसाईंले वितण्डाकारी बाटो समाएका छन् । वित्तीय स्रोत परिचालन गर्दै आवश्यक भएकोलाई वित्तीय स्रोत उपलब्ध गराउन बैंक तथा वित्तीय संस्था र त्यसमा कार्यरत कर्मचारीलाई भौतिक आक्रमण गर्ने चेतावनी आइरहेको छ ।

नेपाल सरकारले वित्तीय सेवालाई अत्यावश्यक सेवामा समावेश गरेको छ । सोही सेवा प्रदान गर्ने कर्मचारीमाथि भौतिक आक्रमणको चेतावनी मात्रै नभई कर्जा नतिर्ने भन्दै खुला चुनौती दिने विवादास्पद व्यवसायी प्रसाईंलाई राज्यका निकायले पनि उल्टै सुरक्षा प्रदान गर्दा त्यस्ता अभियानमा थप प्रोत्साहन पुगेको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि तिर्नु पर्दैन भन्दै चलाएको अभियान र बैंकमा कार्यरत कर्मचारीमाथि भौतिक आक्रमणको धक्की दिंदै हिंड्ने विवादास्पद व्यवसायी प्रसाईं विगतदेखि नै राजनीतिक पहुँचको लाभ उठाउँदै आएका व्यक्ति हुन् ।

यस्तो अभियानमा लाग्नेले बैंकबाट लिएको कर्जा अरू कुनै आम नागरिकले बैंकमा राखेको बचत हो भन्ने कुरा पनि बिर्सन हुँदैन । नेपाल राष्ट्र बैंकको २०७९ पुससम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा कुल ४ करोड ८३ लाख निक्षेप खाताबाट ५३ खर्ब ६१ अर्ब निक्षेप संकलन गरी १८ लाख ३३ हजार कर्जा खाता मार्फत ४८ खर्ब ४४ अर्ब ऋण प्रवाह गरेका छन् ।

यस्तै लघुवित्तमा पनि ६० लाखभन्दा बढी बचतकर्ता छन् भने ऋणीको संख्या ३२ लाख ६० हजार रहेको छ । बैंक तथा वित्तीय संस्थाको पहिलो दायित्व निक्षेपकर्ताको निक्षेपको सुरक्षा गर्ने हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र ऋण लिएपछि तिर्न आनाकानी गर्ने, उल्टै धाकधम्की दिने काम दण्डनीय भएको बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नु नपर्ने भन्ने संसारमा कुनै पनि ठाउँमा हुँदैन । ऋण लिएपछि तिर्नुपर्छ’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्नु भनेको अभद्र कार्य हो । कानुनी व्यवस्थामा त्यस्तो कार्य गरिंदैन ।’

नेपाल राष्ट्र बैंकले ऋण तिर्नुपर्छ भनेर पटक–पटक आह्वान गरेको र ऋण तिर्न समस्या भएकालाई पनि सहजीकरण गर्दै आएको उनले बताए । ‘भड्काउ किसिमको गतिविधि हुनुहुँदैन । समस्या छन् भने समाधान गर्न सहजीकरण हुन्छ’ उनले भने, ‘बैंंकबाट कर्जा लिएर ऋण तिर्दिनँ, उल्टै जहाँ भेट्यो त्यहीं कालोमोसो दल्छु भन्ने किसिमका अभिव्यक्तिले काम गर्दैन ।’ ऋणीलाई कुनै कारणले असहजता भएको भए राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने उनले बताए ।

‘तरलता र ब्याजदरको समस्या पनि मत्थर हुँदै गएको छ । कर्जा तिर्दिनँ, कालोमोसो दल्छु भन्ने अराजक गतिविधिलाई प्रोत्साहन गर्नुहुँदैन’ डेपुटी गभर्नर मिश्र भन्छन्, ‘बैंकले लगानी गरेको पैसा बैंकको होइन, जनताको हो । एउटा जनताको पैसा अर्कोले नतिर्ने भन्ने हुँदैन ।’

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिएकाहरूले नै ती संस्था विरुद्ध आन्दोलन गर्नु संसारमा कतै नहुने उच्छृङ्खल कुरा भएको बताउँछन् । उनले केही दिन अगाडि अनलाइनखबरसँगको एक वार्तामा बैंक तथा वित्तीय संस्था र व्यवसायीबीचको कारोबार वा सम्बन्ध करार/सम्झौता भएको बताउँदै त्यसमा असमझदारी भए छलफल गर्न, एउटा निष्कर्षमा पुग्न सकिने भन्दै सडक आन्दोलन गरेर समस्या समाधान नहुने बताएका थिए ।

‘हामी उद्योगी–व्यवसायीहरूका संघ–संस्थासँग छलफलमा छौं । राष्ट्र बैंक पनि यसमा लागेको छ । यत्ति हुँदाहुँदै सडकमा भड्काउपूर्ण गतिविधि हुनु दुःखद् छ । हामी यस्तो हुनुहुँदैन भन्ने चाहन्छौं’ ढुंगाना भन्छन्, ‘बैंक बहिष्कार भनेको के हो ? कर्जा लिन साहु–महाजनकहाँ जाने ? निक्षेप राख्न विदेश जाने ? लिइसकेको ऋण नतिर्ने ? नेपालमा अहिले दुर्भाग्यपूर्ण कुराहरू सुन्न परिरहेको छ ।’

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?