+
+

औसत चेतनाले ध्वस्त पारेको देश

२-४ वर्ष केही अन्तर्राष्ट्रिय संस्थामा काम गरेर एउटा स–सानो बौद्धिक तथा सामाजिक हैसियत निर्माण गरेपछि तिनीहरूलाई लाग्छ- अब राजनीति गर्नुपर्छ र आफ्नै नेतृत्वमा देशमा विकासको मूल फुटाउनुपर्छ। तर विचरा ! किन त्यस्तो हुन्थ्यो राजनीति।

गोविन्दराज केसी गोविन्दराज केसी
२०७९ फागुन १८ गते १०:५३

विज्ञता हासिल गर्न कति लामो कालकण्ड पार गर्नुपर्छ एउटा व्याख्यात्मक उदाहरणको सहाराबाट सुरु गरौं।

१४ नोभेम्बर, १९१० मा अमेरिकी विमानचालक युजिन एलीले पहिलो पटक जहाजलाई ‘युएसएस बर्मिङहम’ युद्धपोत (क्रुजर) मार्फत उडाएका थिए भने १८ जनवरी, १९११ मा ल्याण्ड गर्न सफल भए। जसले पहिलो विश्वयुद्धमा नौसैनिक युद्धको स्वरूप नै परिवर्तन गरिदियो। यो अन्वेषणले अन्य देशलाई नौसैनिक क्षमता वृद्धिका लागि चुनौती खडा गरिदियो। यही क्रममा सन् १९३२ मा पहिलोपटक चिनियाँ नौसैनिक मन्त्री छन शाओकुनले जापानी अतिक्रमणकारीबाट जोगिन चीनले २० वटा जहाजवाहक (क्यारियर) सञ्चालनमा ल्याउन जरुरी भएको मत सार्वजनिक गरे। तर चीनको आर्थिक अवस्था नाजुक भएको कारण त्यो सम्भव थिएन। एउटा जहाजवाहक खरिद गर्दा लाग्ने लागत अत्यधिक महँगो थियो। यसका लागि चीनको एक वर्षको राजस्व आम्दानीभन्दा तीन गुणा बढी तिर्नुपर्थ्यो।

सन् १९४५ मा दोस्रो विश्वयुद्धमा जापानी अतिक्रमणकारीहरूलाई परास्त गरेपछि मन्त्री शाओकुनले आगामी ३० वर्षको अवधिमा चीनले १२ वटा जहाजवाहक सञ्चालनमा ल्याउनुपर्ने मत पुनः अगाडि सारे। तर आर्थिक अभावले त्यो पुनः सम्भव भएन। सन् १९४९ मा माओत्सेतुङले नेतृत्व सल्हालेपछि फेरि उक्त बहस ब्यूँतियो। सन् १९५८ मा माओले पार्टी बैठकमा यसलाई पुनः ब्यूँताए र १९६० को दशकभित्र ६ लाख टन भारका युद्धपोत निर्माण गर्ने बहस सुरु भयो। तर त्यो योजनाको पनि व्यावहारिक रुपान्तरण भएन। गिर्दो अर्थतन्त्र, पार्टीको आन्तरिक मतभेद र १९६६ देखि सुरु भएको सांस्कृतिक क्रान्तिले यसलाई छायाँमा पार्‍यो। सन् १९७५ मा पुनः माओले ७ लाख भार क्षमताका युद्धपोतहरू निर्माण गर्ने योजना स्वीकृत गरे। तर यसपटक पनि योजना कार्यान्वयन हुनसकेन।

सन् १९९८ मा चिनियाँ उद्यमी सु जेङपिङले युक्रेनबाट सोभियत कालमा निर्माण कार्य थालेर स्थगन गरिएको जहाजवाहक खरिद गरे। ‘भर्‍याग’ नामको उक्त जहाजवाहक सन् २००२ को फेब्रुअरीमा तीन वर्षपछि अमेरिका र टर्कीको अफ्ठ्यारो छिचोल्दै चीनको डालियन बन्दरगाहमा पुग्यो। त्यसको १० वर्षपछि २०१२ मा पुनर्निर्माण सम्पन्न गरी चिनियाँ जनमुक्ति सेनालाई हस्तान्तरण गरियो। लियाओनिङ नाम राखिएको उक्त जहाजवाहक ५०-६० हजार टन भार क्षमताको छ। यसैको दोस्रो भेरियन्टको रूपमा ६०-७० हजार टन भार क्षमताको ‘शानडोङ’ २०१९ को डिसेम्बर १७ मा चिनियाँ जनमुक्ति सेनाले सञ्चालनमा ल्यायो। २०१३ देखि निर्माण कार्य थालिएको दोस्रो क्यारियर ‘शानडोङ’ पूर्ण क्षमताका साथ सञ्चालनमा आउन ६ वर्ष लाग्यो। त्यसैगरी भर्खर निर्माण सम्पन्न गरी सामुद्रिक परीक्षणको प्रारम्भिक चरणमा रहेको तेस्रो ‘फुजियान’ क्यारियरले विश्वस्तरमा निकै ठूलो चर्चा बटुलेको छ। यसको भार क्षमता ८०-९० हजार टन रहेको छ।

अमेरिकी अत्याधुनिक प्रविधियुक्त जेएल फोर्ड क्लास सुपर क्यारियरको समानस्तरमा यसलाई हेरिएको छ। अमेरिकी सुपर क्यारियरको भार क्षमता एक लाख माथि रहेको छ। क्यारियर निर्माणमा एकपछि अर्को क्रमभङ्ग गरेको चीनले १ लाख टन भार क्षमताको चौथो क्यारियर आणविक शक्तिले सम्पन्न निर्माण गर्दैछ। यसले सामुद्रिक शक्तिमा अमेरिकी एकाधिकारलाई तोडिदिएको छ। आज चिनियाँ नौसेना विश्वको सबैभन्दा धेरै युद्धपोतहरू भएको सेना बनेको छ।

सामुद्रिक परीक्षणको प्रारम्भिक चरणमा अत्याधुनिक प्रविधियुक्त तेस्रो चिनियाँ जहाजवाहक फुजियान। फोटोः वीबो

नेपालसँग कुनै साइनो नभएको विषयलाई यति लामो गरी व्याख्या किन गरिएको हो भने चिनियाँहरूले झण्डै ८० वर्ष अविचलित यात्रा गरेर मात्र जहाजवाहक निर्माण गर्ने विशाल लक्ष्य प्राप्त गरे। अमेरिकीहरूले १०० वर्ष पहिले अनुसन्धान गरी सञ्चालनमा ल्याएको प्रविधि उपयोग गर्न चिनियाँहरूलाई १०० वर्ष झेल्नुपर्‍यो। तर पनि उनीहरूले हिम्मत हारेनन्। एयरक्याफ्ट क्यारियरको सपना देख्ने कम्तीमा दुई पुस्ताका सयौं मानिस अस्ताए तर उनीहरूको लक्ष्य, रणनीति र दृढता कहिल्यै अस्ताएन। स्रोतसाधनको अपर्याप्तता हुँदा कामलाई स्थगन मात्र गरे पूर्णतः परित्याग गरेनन्।

एउटा लामो र कठिन श्रृङ्खला पार गेरर मात्र दक्षता र विज्ञता प्राप्त गर्न सकिन्छ। सुरुमा जटिल देखिने हरेक समस्या एउटा चरणको क्रमभङ्गतापछि तीव्र गतिमा विकास हुन्छ भन्ने यो उदाहरणले पुष्टि गर्छ। ६० वर्षसम्म कछुवाको गतिमा रहेको एयरक्र्याफ्ट क्यारियरको अवधारणाले २० वर्षमा विश्वलाई नै आश्चर्यचकित पार्ने गरी छलाङ मार्‍यो। हाईपोथेसिसलाई वास्तविकतमा कसरी रुपान्तरण गर्न सकिन्छ यो एउटा सपाट उदाहरण पनि हो।

सन् १९१० मा अमेरिकी विमानचालक युजिन एलीले पहिलो पटक जहाजलाई युएसएस बर्मिङ्हम युद्धपोत (क्रुजर) बाट उडाउँदै । फोटोः विकिपेडिया

अब हाम्रा बर्बादीका कुरा गरौं।

औसत हुनुको सुखद पाटो पनि छ जीवनमा। धेरै कष्ट गर्नु नपर्ने, अरुको लहलहैमा पछि लागे पुग्ने, कसैले जितिहाल्छ कि भनेर चिन्ता पनि नहुने, भरपुर चाकडी गरेपछि मौका परे राज्यसत्ताको माथिल्लो ओहोदा पनि प्राप्त भइहाल्ने। तर औसतभन्दा माथि उठ्न, विज्ञ र विश्लेषक बन्न पापड नबेली सम्भव छैन। त्यो माथि उल्लेखित चिनियाँ उदाहरणले पुष्टि गर्छ। फेरि यो तत्काल आजको भोलि प्राप्त हुने पनि होइन। झन् ख्याति प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गरेर वा दुई-चार लेख छापेर हुने त हुँदै होइन। तर हाम्रो जस्तो तेस्रो विश्वमा यस्तै हुन्छ, जसको यातना भोग्न समाज विवश छ।

नेपाली नेताहरूलाई यहाँका प्रबुद्ध वर्ग स्वतन्त्र तबरले सोच्ने र योजना निर्माण गर्न सक्षम छ भन्ने विश्वास नै छैन। समाजको सचेत वर्गमा पर्ने शिक्षक, प्राध्यापक, लेखक, बुद्धिजीवी लगायतको पनि आफ्नै सोच्ने र लेख्ने दिमाग कम छ। यस्तो वर्गले जानेको तर नेताले नजानेको वा नसोचेको केही नवीनतम धारणा वा विचार भयो भने बल्ल नेताले प्रबुद्ध समूहका कुरा सुन्ने, पढ्ने र योजना माग्ने हो। तर त्यस्तो संभावना कम छ। अनि त्यस्तो समूहले भन्छ- नेताहरूले हाम्रा कुरै सुन्दैनन्।

राजनैतिक नियुक्तिको लागि नेताको दैलो चहार्ने, नियुक्ति पाइसकेपछि कार्यसम्पादन सन्तोषजनक नगर्ने र कार्यकाल सकिएपछि थमौती वा पुनः नियुक्ति खानको लागि नेताको दैलो चहार्ने संस्कृतिले नेतासमेत वाक्क छ। पङ्क्तिकारसँग राजनीतिक दलका नेताहरूले गर्ने गुनासो सुन्दा यस्तो टपरटुईयाँ बौद्धिक वर्गको चरम कुर्सी लिप्सा र अबौद्धिकताप्रति धिक्कार लाग्छ। जसलाई नागरिक तहले समेत अनुभूत गरेको छ।

अलिअलि सामाजिक सञ्जालमा पोस्ट गर्न सक्ने स्ट्याटस वा केही नाम चलेका राष्ट्रिय दैनिक र अनलाइन पोर्टलमा लेख्ने लेखकहरूलाई नियालेर अध्ययन गरौं। के तिनका लेखमा समाजलाई आलोकित गर्ने कुनै जादु छ। यसको मतलब उनीहरूलाई निरुत्साहित गर्न खोजेको पक्कै होइन। तर राजनैतिक दल र नेताहरूलाई गाली गर्ने तिनै कतिपय चिनजानका अग्रज तथा साथीभाइहरू आफैं राजनैतिक दल खोलेर चुनावमा जमानत समेत जोगाउन नसक्नेहरू हुन्।

विदेशका ख्यातिप्राप्त विश्वविद्यालय पढेको भनिएका केही मानिस तथा विज्ञहरूको झन् ट्वार ट्वार त यति कर्कश, असामाजिक र स्तरहीन छ कि चर्चा गर्न लायक पनि छैन। समाजमा नकारात्मकता फैलाउने, घृणा पैदा गर्ने, असामाजिक तत्वहरूको उत्थानका लागि वातावरण निर्माण गर्ने चरम नकारात्मक सोचाइ भएका यस्ता मानसिकता समाज निर्माण र आर्थिक विकासका ऐंजेरू हुन्।

पुष्पक विमान, अग्नेयास्त्र, वायुयानको कल्पना पनि सचेत र उत्कृष्ट दिमागले नै हो गर्ने। तर विज्ञान र प्रविधिको युगमा भनाइ भन्दा गराइ प्रमुख हो। वैज्ञानिक पुष्टाईं नगरी मिथकको आधारमा बडप्पन प्रस्तुति गर्ने शास्त्रीय नेपाली चरित्र आज पनि ज्यूँका त्यूँ छ जुन अनुसन्धान, विकास र प्रगतिको मुख्य बाधक हो

लेखकले पछिल्लो दुई वर्षमा विदेशका झण्डै पाँच दर्जन ख्यातिप्राप्त बौद्धिक समुदायका लेखहरू अध्ययन गर्दा र झण्डै एक दर्जन अनुसन्धानमूलक संस्थाहरूका ७०० भन्दा माथि भिडियो अन्तर्वार्ताहरू सुन्दा उनीहरूको अभिव्यक्ति, आलोचना-समालोचना, तर्क र तथ्यहरू हेर्दा शालीन, स्वीकार्य, आफ्नो सैद्धान्तिक विचार वा धारणाप्रति को दृढ देखिन्छन्। यता नेपाली बौद्धिक वर्गको चेत तुलना गर्दा हाम्रो पिंध थाहा हुन्छ। यस्ता बौद्धिक व्यक्तित्वहरूमा राजनीति, कूटनीति, अर्थशास्त्र र सुरक्षा क्षेत्रका व्यक्तित्वहरू धैरै थिए भने संस्थाहरूमा एसिया फाउण्डेशन, हुवर, लोवी, पिटरसन, अमेरिकन इन्टरप्राइजेज इन्स्टिच्युट, ब्रुकिङ्स, र्याण्ड, आईआईएसएस, एसईएसआईएस जस्ता संस्थाहरू छन् भने बहस गर्ने वर्ल्ड इकनोमिक फोरम, राइसिना डायलग, साङ्ग्रिला डायलग, भारतको ओआरएफ, म्युनिख सेक्युरिटी कन्फेरेन्स लगायत छन्। नेपालमा यस्तो बृहत् बहस गर्ने संस्थाहरूको विकास अहिलेसम्म भएको छैन। यद्यपि पाइलाहरू चाल्न सुरु भएको छ जसले आगामी दिनमा पक्कै गति लिनेछ।

नेपालमा हुने थोरै बहस हाम्रो मौलिक कोणसहित नभएर कि त पश्चिमा कि त चिनियाँ कोण छन्। लोकतन्त्र, समाजवाद, उदारवाद, बहुलवाद जस्ता अवधारणामाथि विमर्शका प्रयास छन् तर ती उतैबाट साभार गरिएका खुद्रा मतहरू मात्र हुन्।

आज सूचना र सञ्चारले मानवीय प्रवाहलाई अन्त्यहीन बनाइदिएको छ। केही दशक अघिसम्म सडक यातायात, विद्युत, टेलिभिजन, मोबाइल, इन्टरनेट जस्ता प्राविधिक विकासको अनुभव र उपभोग गर्न नपाएको नेपाली समाज आधा दशकमै अभ्यस्त भइसकेको छ। आधा शताब्दीमा हुन नसकेका कामहरू पछिल्लो आधा दशकमा सम्भव भएका छन्। तर विकासको रफ्तार भने अपेक्षाकृत गतिमा हुनसकिरहेको छैन।

समाजको चेतनामा आएको अभूतपूर्व विकास र आधुनिकतासँगको साक्षात्कार मोह लाग्दो छ। तर त्यसले विकासको रफ्तार नदिंदो रहेछ। विकासको लागि भित्रैदेखि भोक जगाउने नेतृत्व र सचेत जनशक्ति चाहिने रहेछ। नेपालले नपाएको त्यो महत्वाकांक्षा र इच्छाशक्ति भएको जनशक्ति हो।

नेपालीलाई लाग्छ आजको अमेरिका, चीन, जापान वा कोरिया सहजै विकास भएका हुन्। तर त्यस पछाडिको खटाई, लगाव, दृढता र धैर्य नेपालीले देख्दैनन्।

सबैभन्दा दुःख त के लाग्छ भने कोरिया, जापान, अष्ट्रेलिया बसेर १८ घण्टा काम गरेर आएको मानिस पनि त्रिभुवन विमानस्थल झरेपछि तोरीलाउरेमा बदलिन्छ। उसको रहनसहन, उठबस, चालढाल बदलिन समय लाग्दैन। नाकमा नत्थी लगाएको गोरु जसरी विदेशमा जोतिएको नेपाली नेपालमा असनको साँढेभन्दा बढी निर्लज्ज र फुक्काफाल देखिन्छ।

नेपालीको ठूलो समस्या ज्ञानको हस्तान्तरण (नलेज ट्रान्सफर) र अनुसन्धान केन्द्रित नहुनु हो। तर काल्पनिक क्षमता नेपालीको उत्कृष्ट छ। वैज्ञानिक अनुसन्धानको लागि जुन मोडेलिङ गर्ने विधि र प्रक्रिया हो, त्यो युगमै प्रवेश गर्न सकेनौं। त्यही भएर कहिलेकाहीं हामी भावनामा बगेर सबै वेदमा छ भन्छौं। छ पनि तर त्यसको व्यावहारिक प्रयोजन र वैज्ञानिक अनुसन्धान पुष्टि अरुले गरेपछि त्यसको पेटेन्ट वा बौद्धिक अधिकार उसैले लैजान्छ र सम्पत्ति पनि उसैको हुन्छ। पुष्पक विमान, अग्नेयास्त्र, वायुयानको कल्पना पनि सचेत र उत्कृष्ट दिमागले नै हो गर्ने। तर विज्ञान र प्रविधिको युगमा भनाइ भन्दा गराइ प्रमुख हो। वैज्ञानिक पुष्टाईं नगरी मिथकको आधारमा बडप्पन प्रस्तुति गर्ने शास्त्रीय नेपाली चरित्र आज पनि ज्यूँका त्यूँ छ जुन अनुसन्धान, विकास र प्रगतिको मुख्य बाधक हो।

औसत मानिसको सबैभन्दा ठूलो विशेषता यसले आफ्ना दोष, गल्ती र कमि–कमजोरी अर्काको काँधमा हालेर आफू पानीमाथिको ओभानो बन्ने हैसियत राख्छ।

२०४० सालपछि अलिअलि पढेलेखेका, शिक्षक, राजनीतिकर्मी तराईका समथर भूभाग र मुख्य शहरतिर लागे। उब्जाउ जमिनलाई कित्ताकाट गरेर अव्यवस्थित शहरीकरण मात्र गरेनन्, दलालीकरणको माध्यमबाट नेपाली भूमिलाई विश्वकै ‘महँगो’ जग्गामा बदलिदिए। औद्योगीकरण, कृषिको आधुनिकीरण र नव-प्रवर्तन भन्दा व्यापारिक अर्थतन्त्रमा उनीहरूको जोड रह्यो। वस्तु तथा सामानको आयात गरेर अधिक मुनाफा कमाउने अभ्यासले स्वदेशी उत्पादनले सस्तो र गुणस्तरीय प्रविधिले बनेका मालहरूसँग प्रतिस्पर्धा गर्न सकेनन्।

कानुन हातमा लिएर आफ्नो अनुकूलमा न्याय प्रणाली बदल्ने हैसियत औसत ज्ञानीहरूले बाहेक अरुले गर्न सक्दैनन्। कानुन नतोड्ने हो भने व्यापारिक लाभ, कमिसन, बोनस, लाभांशको ठूलो हिस्सा नै आउँदैन। राज्यको आम्दानीको स्रोत घटोस् तर आफ्नो व्यक्तिगत आम्दानी मनग्गे बढ्नै पर्छ भन्ने चिन्तनले राजस्व तथा भुक्तानी सन्तुलनलाई नै प्रभावित गरिरहेको छ, जसका लागि यस्ता औसत बौद्धिकहरू जिम्मेवार छन्।

अक्सफोर्ड, क्याम्ब्रिज, हार्बर्ड, यल, स्टयान्फोर्डको विद्यावारिधिको ट्याग भए पनि, सिलिकन भ्यालीमा काम गरे पनि उसको हैसियत कार्यसम्पादन र जिम्मेवारीले निर्धारण गर्ने हो। दिमागमा नेता बन्ने भूत सवार भएसँगै उनीहरूले आफ्नो लगाम बिर्सन्छन्। उसलाई लाग्छ म राजनीतिमा लागें भने एक निमेषमा जादुको छडीले आजका समस्या हल गरिदिन्छु। जब मैदानमा ओर्लिन्छ उसको औसत क्षमताले आजका सगरमाथा जस्ता समस्याको हल दिन सक्दैन। त्यसपछि पुनः ऊ आफ्नै व्यक्तिगत दुनियाँमा फर्कन्छ वा कुनै खास दल र नेताको फेरो समातेर वैतरणी तर्न बाध्य हुन्छ।

२-४ वर्ष केही अन्तर्राष्ट्रिय संस्थामा काम गरेर एउटा स–सानो बौद्धिक तथा सामाजिक हैसियत निर्माण गरेपछि तिनीहरूलाई लाग्छ- अब राजनीति गर्नुपर्छ र आफ्नै नेतृत्वमा देशमा विकासको मूल फुटाउनुपर्छ। तर विचरा ! किन त्यस्तो हुन्थ्यो राजनीति। उसले गरेको व्यक्तिगत प्रोफाइल सरलरेखीय हुन्छ। उपलब्ध निजी स्रोतसाधनको उपयोगबाट उसले जति धेरै परिश्रम र मिहिनेत गर्न सक्छ त्यति नै छिटो प्रमाणपत्र र वृत्ति–विकास गर्न सक्छ। तर जब ऊ भिन्न क्षेत्रमा स्वार्थ समूहसँग टक्कर लिन आइपुग्छ र व्यक्तिगत जीवनमा जस्तो छिटोछिटो परिणाम प्राप्त गर्नेभन्दा उल्टो महत्वपूर्ण लगानीबाट अवसर लागत (अपर्चुनिटी कस्ट) समेत गुमाउँछ तब उसको औसत दिमागले बल्ल ठेस खाँदै नाथ्री फुट्ने गरी लडेर रक्तमुछेल भएको मेसो पाउँछ। विडम्बना उसले राजनीतिमा कडा हस्तक्षेप गर्ने अन्य विविध आयाम हुँदाहुँदै पनि धेरै अवसर लागतको लोभमा राजनीतिमा आउने जमर्को गरेको हो।

नीतिगत तहमा हस्तक्षेप गरेर नेताहरूलाई नै सुधार गर्ने लामो प्रक्रियामा ऊ सामेल हुन चाहँदैन। आखिर अमेरिका, युरोप, जापान जस्ता विकसित देशमा त्यस्ता थिङ्क ट्याङ्कहरूको अविच्छिन्न हस्तक्षेप र नवीनतम विचारले त्यो देशको राजनीतिले स्थिरता प्राप्त गरेको र समृद्धिले फड्को मारेको देखेर, भोगेर र बुझेर पनि उनीहरू बेवास्ता गर्छन्।

हिमालयको कञ्चन र मनोरम वातावरण, सफा पानीका मुहानहरू र प्राचीनकालमा ऋषि-महाऋषिहरूको तपस्या स्थल र ज्ञान हासिल गरेको स्थानमा किन यस्तो विचारहीनताको अन्तहीन शृङ्खला चलिरह्यो ? चिन्ता गर्नलायक सवाल छ

उसलाई लाग्छ म नभएर सब बिग्रिएको हो। अरु खराब र आफू सही भएपछि समस्याको हल भइहाल्छ। समाजमा विद्यमान व्यवस्था, दल र नेताप्रति ठूलो वितृष्णा छ। नाम चलेका ठूला विश्वविद्यालयको प्रमाणपत्रले त्यस्ता समस्याको हल सजिलै दिन्छ। तर ती समस्याको हल उसको प्रमाणपत्र भन्दा पर अन्त कतै हुन्छ। उसको सरलरेखीय एकल अवयवको समीकरणलाई जब बहुअवयवको समीकरणले फेरो हाल्न थाल्छ उसले बुझ्छ समाज, राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध गणितीय समस्याले मात्र हल गर्न सकिंदैन। मानौं फलानो समीकरणलाई मिलाउन यतिले भाग वा गुणन गरौं वा यति घटाउँ। किनकि समाज विज्ञान १+२=३ मात्र हुँदैन, १+२=० पनि हुन्छ।

कतिपय विदेश पढेका औसत ज्ञानीहरू पुराना पुस्ताका नेता १२/१५ वर्ष जेल बसेको भन्दा त्यसको घृणा र अपमान गर्छन्। जेलनेल खाएर, आन्दोलन गरेर, बलिदान दिएर देश बन्ने भए किन यस्तो दुःख गर्नुपर्थ्यो भन्ने आवाज हामीले चौतर्फी सुन्छौं। यसो सुन्दा त हो नै जस्तो पनि लाग्छ तर त्यसपछिको समर्पण र त्यागको विरासत कहालीलाग्दो छ। देश निर्माण र रुपान्तरणको लागि विनासित्ति दशकौं नारकीय जीवन गुजार्नुपर्ने अवस्था कति पीडादायी होला ? तर पनि त्यसले परिणाम नदिंदा त्यो भयानक त्यागको पनि मूल्य नहुँदो रहेछ। आजको औसत पुस्ता १ हप्ता त के १ दिन मात्र पनि इन्टरनेटको दुनियाँबाट टाढा बस्नुपर्‍यो भने डिप्रेसनको सिकार बन्छ।

उनीहरूको एउटै चिन्ता देश बनेन भन्ने हुन्छ। देश तिनै औसत दिमाग भएका बाउबाजेले बिगारेका हुन् भन्नेमा कुनै शंका छैन। तिनीहरूका बाउबाजे कुनै जमानाका मुखिया, जिम्मवाल, प्रधान, जमिनदार, नेता, मन्त्री वा सांसद थिए। नेपालका हरेक गाउँ वा वार्डमा हेर्ने हो भने त्यसको छर्लङ्ग तस्विर आइहाल्छ। त्यस्तो ओहोदा समातेर बसेका तिनका बाउबाजेहरू आज तराई, मधेश वा मुख्य शहरमा हैकम जमाएर बसेका छन्। गाउँमा आर्जेको सम्पत्ति शहरमा अव्यवस्थित शहरीकरण गर्ने, कृषियोग्य जमिनको विनाश गर्ने, राजनीतिमा दलाली गर्ने, कानुन मिच्ने, भ्रष्टाचारको सञ्जाललाई सुदृढ गर्ने, ठेक्कापट्टा, कमिशन दलाली गर्ने सबै यही औसत मानिसहरूका बाउबाजे हुन्। त्यही जगमा उभिएर उसले आज समृद्ध नेपालको परिकल्पना गरिरहेको छ। तर रोगको निदानमा उसको कुनै रुचि छैन, जसको इतिहासले आफ्नै चिहान खन्न पनि सक्छ।

नेता बन्ने भूत सवार भएपछि उसको दिमागमा नकारात्मकताले बास गर्छ। अहिलेका केही नाम चलेका र चलनचल्तीका मिडियाकर्मी, अन्तर्वार्ताकार, लेखकहरूलाई सूक्ष्म ढङ्गले हेरौं। सामाजिक सञ्जाल फेसबुक, ट्विटरतिर उनीहरूका धाराप्रवाह संकीर्ण, नकारात्मक र उत्तेजित मतहरूले उनीहरूको राजनैतिक नेतृत्व स्तरबारे स्पष्ट पार्दैन। त्यस्तो उत्पात मानसिकताको विचार स्वाभाविक हिसाबले न्यून उत्पादन प्रक्रिया र संकीर्ण सामाजिक संस्कारले निर्माण गरिरहेको हुन्छ।

अमेरिकी पूर्व फर्स्ट लेडी एलेनोर रुजबेल्टले भनेकी छन्, ‘महान् दिमागहरू विचारबारे कुराकानी गर्छन्। औसत दिमागहरू घटनाबारे चर्चा गर्छन् भने छोटो दिमागहरू व्यक्तिबारे चर्चा गर्छन्।’ अब यसलाई नेपाली सापेक्षतामा हेरौं। नेपालीहरू विचारको विमर्श कमै गर्छन्। उनीहरू प्रायः घटनामा केन्द्रित भएर धारणा निर्माण गर्ने र सोही अनुरूपको योजना निर्माण गर्छन्। लामो प्रक्रियाबाट गुज्रनुपर्नेमा छिटोछिटो परिणामको अपेक्षा गर्ने र सो अनुरूप नभए तत्काल मत, योजना र निर्णय नै बदलिदिने गर्छन्। राजनीतिक दलदेखि नेता, बुद्धिजीवी, प्राध्यापक सबै यही क्याटेगोरीमा पर्छन्। सैद्धान्तिक विकास र व्याख्यालाई पुष्टि र पुनर्पुष्टि गर्नको लागि लामो अवधि गुजार्नुपर्ने हुन्छ। त्यस्तो हामी अनुभव गरेका छैनौं। केही नेताहरूले त्यस्तो प्रयास नगरेका होइनन्, तर उनीहरूले त्यस्तो कार्य आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्ने र मत बदल्ने कुचेष्टा गरे फलत: उनीहरू पनि औसत दर्जाको जनशक्ति र उपयोगितावादी अवसरवादको सिकार हुनपुगे।

नेपाल भूखण्डमा कम्तीमा पछिल्लो ५०० वर्ष यताको इतिहास हेर्ने हो भने कुनै पनि क्षेत्रमा त्यस्तो रणनैतिक क्षमताको मानिस भेट्न मुस्किल पर्छ। पृथ्वीनारायण शाहको रणकौशलको चर्चा गरे पनि उनी स-साना भूगोलको विस्तार गर्न सफल भएतापनि अंग्रेजहरूको जगजगीका अगाडि नतमस्तक थिए। भारत-तिब्बतको दुईदेशीय व्यापारलाई व्यवस्थित गर्नुभन्दा धार्मिक आसक्तिका कारण त्यसलाई धरापतिर धकेलिदिए। अंग्रेज वा पश्चिमाहरू सात समुद्र काटे। भारतहुँदै नेपालसमम आइपुग्दा समेत समुद्रको रणनीतिक महत्व कति हो भन्ने पृथ्वीनारायण शाहको दिमागमा कतै घुसेको देखिंदैन। जबकि आजको अन्तर्राष्ट्रिय व्यापार ८० प्रतिशत सामुद्रिक मार्ग भएर हुने गर्दछ।

हिमालयको कञ्चन र मनोरम वातावरण, सफा पानीका मुहानहरू र प्राचीनकालमा ऋषि-महाऋषिहरूको तपस्या स्थल र ज्ञान हासिल गरेको स्थानमा किन यस्तो विचारहीनताको अन्तहीन शृङ्खला चलिरह्यो ? चिन्ता गर्नलायक सवाल छ। मेरो औसत दिमागमा पनि बारबार यस्तै नकारात्मकताको बाढी आउँछ।

लेखकको बारेमा
गोविन्दराज केसी

त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका लेखक भू-अर्थ राजनीतिमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?