+
+

‘छक्कापञ्जा ४ लाई राजनीतिक कथावस्तुमा बनाउने जोखिम लिएकै हौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १४:३१

काठमाडौं । यस वर्षको प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ । दीपकराज गिरीको शीर्ष भूमिका रहेको फिल्मको केन्द्रीय कथावस्तुले राजनीति वरपर फन्को मार्छ ।

अघिल्ला तीन सिरिज समाज, वैदेशिक रोजगारी, विवाह र सम्बन्धको कथावस्तुमा केन्द्रित भएपनि चौथो श्रृंखलासम्म आइपुग्दा दर्शकले राजनीतिक विषयवस्तुमा ताजापन महसुस गर्ने निर्माता तथा अभिनेता गिरी बताउँछन् ।

अनलाइनखबरसँगको संक्षिप्त कुराकानीमा गिरीले पछिल्लोे पुस्ताले फिल्म रुचाउने बताएका छन् । नेपाली फिल्मको प्रचार शैली बदल्नुपर्ने जरुरी रहेको बताउँदै उनले अब सामाजिक सञ्जालको प्लेटफर्मलाई प्रयोग गरेर मात्र दर्शकसामु पहुँच पुर्‍याउनुपर्ने धारणा राखे । रिलिजको पूर्वसन्ध्यामा गिरीले अनलाइखबरसँग गरेको कुराकानीको सम्पादित अंश :

अघिल्ला श्रृंखलाभन्दा चौथो भाग कुन अर्थमा भिन्न छ ?

सबै पात्रहरु एउटै हुन् हाम्रा । एक र दुईमा भिन्न थिए । दुई र तीनमा भिन्न थिए । चारमा त पूरै भिन्न छ । शतप्रतिशत यो पोलिटिकल ड्रामा हो । सुरुदेखि अन्त्यसम्म तपाईंले यसमा नेपालको राजनीति देख्नुहुन्छ । हामीलाई लगाइने आरोप चाहिं के हो भने यसमा राजा राजै छ, माग्ने माग्ने छ । पात्र एउटै भएकाले कतिपयले फिल्म एउटै हो भन्ने भन्ठान्छन् । भिन्न–भिन्न सिरिजको भिन्न तरिका हुन्छ । उदाहरणका लागि ‘कबड्डी’को पात्र पनि उही र कथा पनि उही । कथा काजीको विवाह । हाम्रो चाहिं पात्र उही तर घटनाक्रम फरक । हाम्रो चलचित्रको मूल द्वन्द्व नै फरक छ ।

समग्रमा राजनीतिप्रति दर्शकीय वितृष्णा देखिन्छ । चौथो भागको कथावस्तु राजनीति वरपर घुमेको छ । फिल्मसँग दर्शकले कसरी अपनत्व महसुस गर्लान् ?

हाम्रो काम भनेको समाजमा जस्तो छ त्यो चीज देखाइदिने हो । भइरहेको चीजलाई देखाइदिएपछि मान्छेले रिलेट गरुन् भन्ने हाम्रो अपेक्षा हो । हाम्रो काम भनेको समाधान दिने होइन । हाम्रो काम भनेको देशको अवस्था यो छ, यो कारणले समस्या छ भन्ने दर्शाउने हो । दर्शकले हाम्रो फिल्मबाट अनुभूति गर्नुहुन्छ । ‘तीतो सत्य’को बेलादेखि नै हामीले समाजमा भइरहेका घटनाक्रमसँग कथानकमा राखेर प्रस्तुत गर्न मलाई रहर लाग्छ । तीनै रहरको उपज हो यो फिल्म ।

कुन कुरालाई तपाईंहरुले ‘छक्कापञ्जा ४’मा ठूलो जोखिम लिनुभयो ?

फिल्मको सबैभन्दा ठूलो जोखिम नै यस सिनेमाको विषयवस्तु हो । अहिलेसम्म राजनीतिलाई लिएर सुरुदेखि अन्त्यसम्म नेपालमा निकै कम पोलिटिकल ड्रामा बनेका छन् । पोलिटिकल ड्रामा भएकाले मलाई लागेको डर चाहिं के हो भने नयाँ पुस्ताले त मन पराउँछ । आमा दिदी बहिनीले चाहिं त्यही राजनीति नै रहेछ भन्छन् कि भन्ने डर हो ।

यसपटक भौतिक रुपमा प्रचारप्रसार गर्नुभएन । सबै भर्चुअल गर्नुभयो । के नेपाली फिल्मको प्रचार शैली बदल्नुपर्ने स्थिति आएको हो ?

नेपाली सिनेमाले मात्र होइन, हामी सबैले आफ्नो सामानको प्रवद्र्धन गर्न फरक सोच्नुपर्छ, फरक शैली अपनाउनुपर्छ । अहिले सबैको हात–हातमा मोबाइल छ । हातमा मोबाइल छ भने आँगनमा उफ्रिएर काम छैन । उसकै हातमा उफ्रिनुपर्‍यो । सामाजिक सञ्जाल नै अहिलेको लागि सफल चीज हो । उदाहरणका लागि अनलाइनअघि हामी छापा मिडियामा निर्भर हुन्थ्यौं । यसबाट पनि के बुझिन्छ भने हामीले प्रचारको शैली केन्द्रीकृत गर्नुपर्छ सोसल मिडियामा विशेषगरी सहरी क्षेत्रमा ।

छक्कापञ्जा’ श्रृंखलाको शीर्ष पात्र राजालाई चौथो भागमा कसरी प्रस्तुत गर्नुभएको छ ?

राजा भन्ने पात्र आधारभूत रुपमा एउटा गुण्डा क्यारेक्टर हो । गुण्डा पात्रको यात्रा यसमा देखाइएको छ । उसको यात्रा, विगत, वर्तमान र उसमा आउने रुपान्तरण यही नै फिल्मको कथावस्तु हो ।

दर्शकलाई के भन्न चाहनुहुन्छ ?

हामीले पछिल्ला श्रृंखलाबाट भन्दा धेरै मेहनत गरेका छौं । पछिल्ला श्रृंखला ४०-४५ दिनमा सुटिङ सकिन्थे, अहिले सुटिङ गर्न ७० दिन लागेको छ । यसपटक राजनीतिक विषयवस्तु भएकाले पनि धेरै मेहनत गर्नुपर्‍यो । तपाईंलाई के लाग्दैन भने नाम ‘छक्कापञ्जा ४’ भएपनि कथा पुरानो रहेछ भन्ने सोच्नुपर्दैन । नयाँ–नयाँ चीज घटनाक्रम, नयाँ द्वन्द्व देख्न पाउनुहुनेछ । नेपाली सिनेमामा कमजोरी त होला नै एउटा ताजा फिल्म हेरेको महसुस हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?