
१८ फागुन, काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर मत मागेका छन् ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार पार्टीका नेताहरुसहित राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् ।
नेम्वाङ एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरुसहित राप्रपा कार्यालयमा पुगेका थिए । भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङ्देनसँगै नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत सहभागी थिए ।
भेटपछि राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले सौहाद्र्धपूर्ण तरिकाले कुराकानी भएको बताए । उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताए ।
एमाले सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरुको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरिन् । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया 4