+
+

सैनिक अनुशासन उल्लंघन गरेको भन्दै उपरथी शाहीलाई बर्खास्त गर्ने आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १९:४१

१८ फागुन, काठमाडौं । सैनिक अनुशासन विपरीत काम गरेको भन्दै नेपाली सेनाले उपरथी प्रेम शाहीलाई बर्खास्त गरेको छ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सैनिक ऐन, २०६३ विपरीतको कसूर गरेर सैनिक अनुशासन उल्लंघन गरेकाले शाहीलाई सेवाबाट हटाउने निर्णय भएको अनलाइनखबरलाई बताए ।

उपरथी बाबुराम थापाको नेतृत्वमा गठन भएको कोर्ट अफ इक्वायरीले दिएको प्रतिवेदनका आधारमा उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा जनरल समरी अदालत गठन भएको थियो । पाण्डे नेतृत्वको अदालतमा सैनिक विद्रोह सम्बन्धी कसूरमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । आदेशमाथि चित्त नबुझे ३५ दिनभित्र विशेष अदालतमा पुरावेदन गर्नसक्ने व्यवस्था छ ।

न्याय परिषद्को सिफारिसमा पुनरावेदन अदालतको न्यायाधीशको अध्यक्षतामा रक्षा मन्त्रालयका सचिव र सेनाको प्राड विवाकका प्रमुख सदस्य रहेको अदालतले उनीहरुको पुनरावेदनमाथि सुनुवाइ गर्नेछ ।

‘जनरल समरी अदालतबाट आज यो फैसला भएको हो’, भण्डारीले अनलाइनखबरसँग भने । शाहीलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई भने विभागीय कारबाही गर्ने निर्णय भएको भण्डारीले बताए । स्रोतका अनुसार दुवै जनाको दुई वर्ष बढुवा रोक्का गर्ने निर्णय भएको छ ।

बुधबार तिमसिना र शाहलाई जंगीअड्डा बोलाएर सेनाले थुनामा राखेको थियो । यो विषयमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजालसले तीन दिनभित्र दुवै जनालाई अनुसन्धान प्रतिवेदनसहित उपस्थित गराउन आदेश दिएको थियो ।

उक्त आदेश दर्ता गराउन पुगेको परिवार र सर्वोच्च अदालतका कर्मचारीको टोलीलाई दिनभर कुराएर जंगीअड्डाले फर्काएको थियो । दुवै अधिकृतको मोबाइल समेत सेनाले केही दिनअघि खोसेको थियो ।

उपरथी शाहीसहित तिनै जना अधिकृत पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा निकट अधिकृतका रुपमा चिनिन्थे । स्रोतका अनुसार त्यसबेला शाहीले हालका प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध गतिविधि गरेको आरोप सैनिक नेतृत्वले लगाउने गरेको छ ।

उनै शाहीलाई सेनाले ४ पुस २०७९ मा ५८ वर्षे उमेर हदका कारण २० पुसदेखि अवकाश हुने भन्दै पत्र थमाएको थियो । तर, उनले आफ्नो जन्ममिति गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिए ।

उनले सेनामा प्रवेश गर्नुअघि जारी भएको प्रमाण पत्रमा आफ्नो जन्ममिति २०२३ रहेको उल्लेख गर्दै अदालतमा निवेदन दिएका थिए । सेनाले शैक्षिक प्रमाण पत्रमा भएको मिति अनुसार अवकाशको पत्र थमाएको थियो ।

आफूले एसएलसी परीक्षा दिएको बूढानिलकण्ठ स्कुलले समेत उमेर सच्चाउँदै पत्र पठाइसकेको भन्दै उनले अदालतमा निवेदन दिएका थिए । सेनाको आन्तरिक समितिले पनि उनको जन्ममितिमा त्रुटि भएको भन्दै नागरिकता अनुसारको जन्ममिति कायम गर्न सिफारिस गरेको थियो ।

तर तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले त्यसलाई सदर गरेको थिएन । अन्याय भएको भन्दै उनी अदालत पुगेका थिए । १३ पुसमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनलाई अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको थियो ।

आदेशपछि हाजिर हुन जाने क्रममा सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिएको थियो । आर्थिक अनुशासनको आरोप लगाउँदै शाहीको घरमा सेनाले छापासमेत मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?