+
+
सत्तारुढ सांसदको भेला :

ढुक्क देखिए सत्तारुढ गठबन्धनका नेता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते २१:३४

१८ फागुन, काठमाडौं । राष्ट्रपति पदका दुई उम्मेदवार बिहीबार दिनभर आफ्नो पक्षमा मत माग्न व्यस्त भए । कांग्रेससहित ८ दलीय गठबन्धनका उम्मेदवारले सांसदहरुको भेलामा सम्बोधन गर्दै मत मागे र सांसदहरुलाई मतदानको आग्रहसहितको पत्रसमेत दिए ।

एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले भने प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई भेटेर मत मागे । पौडेल तीनकुनेस्थित रोयल ब्याङ्केटमा भेला भएका सांसदहरुसँग मत माग्न व्यस्त भएका बेला नेम्वाङ भने एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको पार्टी कार्यालय पुगेर नेताहरुसँग भेट गरे ।

राष्ट्रपति निर्वाचनअघि गठबन्धन बनाएका आठ राजनीतिक दलले बिहीबार प्रतिनिधिसभा र राष्टिय सभाका सांसदहरुका लागि आयोजना गरेको अभिमुखीकरण  कार्यक्रममा एमाले–माओवादी गठबन्धन भत्किएर चुनावअघिको गठबन्धन कायम रहेकामा नेताहरु प्रसन्न देखिन्थे ।

आठ दलका शीर्ष तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाबी भए । नयाँ गठबन्धन बन्दाको खुशी उनले लुकाउन सकेनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको पक्षमा बोलेपछि नयाँ गठबन्धनको आधार तयार गर्न मद्धत पुगेको बताएका उनले सत्ता गठबन्धनमा सहभागी हुने दलको संख्या बढ्ने पनि जिकिर गरे ।

२६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको वातावरण बनेपनि त्यसलाई ओलीले लत्याएको भन्दै उनीप्रति असन्तुष्टि व्यक्त गरे । ‘सुशासनमा देखा परेका समस्याहरु समाधान गर्नका लागि तपाईं र मसँगै जाऔं । नेपाली कांग्रेसलाई राष्ट्रपति तपाईंहरु बनाऔं भन्ने प्रस्ताव राखेको थिएँ’ प्रचण्डले भने ।

अभिमुखीकरण कार्यक्रममा सम्बोधन गरेका धेरैजसो नेताले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान सीमारेखा नाघेको जिकिर गरे । ‘पटक पटक राष्ट्रपति पदको गरिमा, संविधानको मर्म र भावना गतिविधि गर्ने घटनाक्रम व्यहो¥यौं’ प्रचण्डको भनाइ थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको जिम्मेवाुरी र अधिकारबारे प्रष्टता आवश्यक रहेको धारणा राखे । ‘राष्ट्रपतिको जिम्मेवारी र अधिकारका बारेमा सबैभन्दा पहिले प्रष्टता हुनु आवश्यक छ’, कार्यक्रम पछि पत्रकारसँग कुरा गर्दै नेपालले भने, ‘अहिलेसम्म प्राप्त अनुभवहरुलाई ध्यानमा राखेर विगतका त्रुटिहरु हेरेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर जिम्मेवारी बहन गर्नुहुनेछ भन्ने कुरा मैले राखें ।’

चुनावअघिको गठबन्धन व्यँुतिएकोमा सर्वाधिक खुसी कांग्रेस छ । केन्द्रदेखि प्रदेशको सरकारबाट विमुख भएको कांग्रेसको सत्तारोहण नजिकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल सांसदहरुको सामू प्रफुल्लित मुद्रामा प्रस्तुत भए ।

कार्यक्रम हल प्रवेश गर्दागर्दै सभापति देउवाले गठबन्धनका साझा उम्मेदवारले राष्ट्रपतिमा जित्नेमा ढुक्क रहेको बताए । अभिमुखकीरणमा बोल्ने क्रममा उनले आफूले गुन तिर्ने गरेको दाबी समेत गरे । वरिष्ठ नेता पौडेललाई सभापति देउवाले कुनै भूमिका नदिएको विगतमा लाग्ने आरोप सकिएको उनले सुनाए ।

समकालीन भएपनि पाँचपटक प्रधानमन्त्री देउवा हुँदा पौडेल कार्यकारी प्रमुख बन्न पाएका छैनन् । राष्ट्रपतिमा देउवाकै अडानका कारण अन्य नेताले आकांक्षा राखेपनि पौडेल नै उनको रोजाइमा परे ।

१० पुसमा एमाले–माओवादी गठबन्धन बनेयता पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी देउवाले भने ‘ तपाईंहरूलाई शेरबहादुरले रामचन्द्रलाई केही दिएन भन्ने परेको होला । राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गर्‍यौं ।’ पौडेललाई राष्ट्रपति बनाएपछि संविधान माथिको बलमिच्याई भावी दिनमा नहुने देउवाले बताए ।
केन्द्रदेखि प्रदेशसम्म दलका सांसदहरुको मत सुरक्षित गर्ने उद्देश्यले आठदलीय गठबन्धनले अभिमुखीकरण कार्यक्रम राखेको हो । सोमबार प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण राखिएको छ ।

राष्ट्रपति बन्नेमा ढुक्कजस्तै देखिएका पौडेलले संविधानको दायराभित्र रहेर आफ्नो भूमिका निर्वाह गर्ने अभिव्यक्ति दिए । विगतको राजनीतिक इतिहास, लोकतन्त्रप्रति आफ्नो इमान्दारिता, जेल जीवन लगायत सांसदलाई सुनाए । समाजवादको व्याख्या गर्दै उनले भने, ‘ निमुखलाई न्याय र विपन्नलाई आय नै समाजवाद भनेको हो ।’

पौडेलले राष्ट्रपतिको भूमिका विवादस्पद हुन नदिने प्रतिवद्धता व्यक्त गरे । संंविधान र राष्ट्रपतिको भूमिकामाथि प्रश्नहरु उठेका उल्लेख गर्दै भने, ‘मेरो कोशिस सधैं त्यस्ता प्रश्नहरु उठ्न नदिने हुनेछ । संविधानको संरक्षक र परिपालकको भूमिका र जिम्मेवारी निभाउने कुरामा म कुनै पनि कसर बाँकी राख्दिन ।’ प्रधानमन्त्रीको प्रस्ताव अनुसार आफूले भूमिका निर्वाह गर्ने पौडेलले बताए ।

अभिमुखीकरणको क्रममा पौडेलले सांसदहरुलाई सम्बोधन गरेर लेखेको पत्र पनि वितरण गरेका थिए । पत्रमा २५ फागुनमा हुने राष्ट्रपतिको चुनावमा आफू योग्य उम्मेदवार भएको दाबीसहित मत मागिएको छ ।

पौडेलले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिवद्धता जनाउँदै मत मागेका छन् । ‘सबै धर्म संस्कृति, जात वर्ग लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको पालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारका रुपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु’ पत्रमा पौडेलले लेखेका छन् ।

बिहीबारको कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारको ढोका आजैबाट खुलेको छोटो प्रतिक्रिया दिए ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?