+
+

उद्योग मन्त्रालयले गर्‍यो इन्भेष्टमन्ट कम्पनी स्थापना गर्ने शर्त संशोधन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १६:४०

१९ फागुन, काठमाडौं । गैरआवासीय नेपाली र सरकार मिलेर खोलेको इन्भेष्टमेन्ट कम्पनीलाई सहजीकरण गर्नेगरी उद्योग मन्त्रालयले इन्भेष्टमेन्ट कम्पनी स्थापनाका शर्त संशोधन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको संशोधन पछि अब गैरआवासीय नेपालीले नेपाल सरकारसँग मिलेर खोलेको इन्भेष्टमेन्ट कम्पनीले लगानी विस्तार र प्रतिफल फिर्तामा सहजता प्रदान गर्नेछ ।

गैरआवासीय नेपालीलाई नेपालमा लगानी भित्र्याउन प्रोत्साहन गर्नेगरी कम्पनी स्थापनाको शर्त संशोधन गरिएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

‘उद्योगको रुपमा अब गैरआवासीय नेपाली र सरकारले खोलेको कम्पनीले थप सहजता पाउनेछ,’ महानिर्देशक तिवारीले भने, ‘यसले नेपालमा गैरआवासीय नेपालीको लगानी भित्र्याउन सहजीकरण हुने आशा गरेका छौं ।’

संशोधित शर्तअनुसार अब नेपाल सरकार र गैरआवासीय नेपालले संयुक्त लगानीमा स्थापना गरेको इन्भेष्टमेन्ट कम्पनी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेको क्षेत्रमा न्यूनतम १० करोडबाटै लगानी गर्न सक्ने छ ।

गैरआवासीय नेपालीले सरकारसँग मिलेर स्थापना गरेको इन्भेष्टमेन्ट कम्पनीलाई पूर्वाधार सम्बन्धी परियोजनाको बोन्ड र डिबेन्चरमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । यस्ता कम्पनीले आफ्नो कम्पनीबाटै विदेशी लगानी स्वीकृत गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ । गैरआवासीय नेपालीको लगानीको रकम नेपाल बाहिर लैजाने व्यवस्थाका लागि सरकारले छुट्टै प्रक्रिया तोक्ने पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?