+
+

‘मिसन ग्रासरुट’ले एमालेलाई थप बलशाली बनाउँछ’

शंकर पोखरेल शंकर पोखरेल
२०७९ फागुन २१ गते १२:४१

यतिबेला नेपालको राष्ट्रिय राजनीतिमा तीन वटा समस्या देखापरेको छ । पहिलो हो, राजनीतिक अस्थिरता र अराजकता । हामी सोसल अनार्किज्म (सामाजिक अराजकता) तर्फ बढिरहेको देख्छौं ।

दोस्रो, सांस्कृतिक मूल्यहरूको विघटन प्रक्रिया तीव्र गतिमा बढेको छ, सांस्कृतिक अतिवाद वा विचलनका रूपमा । जसलाई धार्मिक अतिवाद अथवा धर्मान्तर पनि भन्न सकिन्छ । यसले नेपाली सांस्कृतिक मूल्यको विघटन गर्ने प्रवृत्तिलाई प्रतिनिधित्व गरिरहेको छ ।

तेस्रो, आर्थिक संकट हो । विश्व अर्थतन्त्रको प्रभावले मात्रै नभएर नेपालको शासकीय कमजोरीका रूपमा आर्थिक संकट तीव्र भइरहेको छ ।

यी तीनवटै संकट हल गर्न दलहरू बलियो हुन जरूरी छ । तर सत्ताको प्रश्नमा मात्रै केन्द्रित भएमा दलहरू सबल बन्दैनन् । यद्यपि, राजनीतिक दलको कर्तव्य सरकार दिनु पनि हो । तसर्थ नयाँ जनादेशपछि जनतालाई सरकार दिने प्रक्रियामा हामी सामेल भयौं ।

तर मुख्य कुरा दललाई सबल बनाउने नै हो । त्यसकारण एमाले आफूलाई थप योग्य बनाउन ‘मिसन ग्रासरुट’ अभियानमा जाने निर्णयमा पुगेको हो ।

अर्कातिर यो अभियान चुनावको समीक्षासँग जोडिएको विषय पनि हो । यो मिसनबाट पार्टी सदस्यलाई उद्देश्यमा आधारित बनाउँदैछौं । अभियानबाट एमालेका कार्यकर्ता क्रियाशील, सिद्धान्तनिष्ठ, अनुशासित र एकताबद्ध हुनेछन् ।

अभियानमा एक जना केन्द्रीय सदस्य बराबर तीन वटा पालिका परेको छ । प्रदेशबाट जाने एक जनाले एउटा पालिका र जिल्लाबाट जानेले वडा प्राप्त गरेको छ । यसअर्थमा, केन्द्रीय नेताको नेतृत्वमा प्रदेश र जिल्लाका नेताहरू वडाभन्दा तल जान्छन् ।

त्यहाँ सबैभन्दा पहिले पार्टी सदस्यसँग भेट हुन्छ । हरेक पार्टी सदस्यलाई भेट्न नेताहरू पुग्छन् । उनीहरूको गुनासा सुन्छौं, भौतिक उपस्थितिमै सदस्यता नवीकरण गर्छौं र नयाँ शिराबाट पार्टीमा आवद्ध गर्छौं । यो मिसनपछि एमालेका अदृश्य सदस्य रहने छैनन् । अदृश्य गुनासाहरू पनि हुने छैन, त्यस्तो सदस्यता समाप्त पार्छौं ।

हाम्रा जति सदस्य हुन्छन्, उनीहरू देखिने, भेटिने र सक्रिय हुन्छन् । त्यो भनेको क्रियाशील सदस्य मात्रै एमालेका सदस्य रहन्छन् । सँगै, सबै टोल र बस्तीमा कमिटी निर्माण गर्छौं । एउटै वडामा दर्जनौं कमिटी निर्माण हुन्छ, जसलाई टोल कमिटी भन्छौं । बस्ती-बस्तीमा कमिटी बनाउने काम यो अभियानमा हुन्छ । त्यसपछि नयाँ युवाहरूलाई कमिटीमा जोड्छौं ।

जनसंगठनका सञ्जाल निर्माण गर्छौं । जनसंगठन पनि आधारभूत तहमा निर्माण गर्छौं । अहिले जनसंगठनहरू सदरमुकामकेन्द्रित छन्, उनीहरूलाई बस्ती र गाउँकेन्द्रित गर्छौं ।

जनअपेक्षा संकलन

अभियानमा सबैभन्दा महत्वपूर्ण कुरा आधारभूत तहका जनताको अपेक्षा सुन्ने हुन्छ । उनीहरूको अपेक्षाबारे स्थानीय अगुवाहरूसँग संवाद गर्छौं । एमालेप्रतिका अपेक्षा संकलन गरेर पार्टी रूपान्तरणमा लाग्छौं ।

जनअपेक्षा बुझ्न संगठनात्मक प्रणालीमा पनि नयाँ अभ्यास गरिनेछ । अहिले अवस्था कस्तो छ भने पार्टी कार्यकर्ता नै जनसंगठनका नेता बन्छन् । त्यो परम्परा बदलेर अब हामी जनसंगठनहरूलाई गैरपार्टी संगठनका रूपमा स्थापित गर्छौं । त्यसको मूल नेतृत्व पार्टी सदस्यले गर्लान्, तर समर्थनको दायरा आमजनताको स्तरमा पुर्‍याउँछौं । त्यसो गर्दा जनताको एजेण्डा पहिचान गर्न सकिन्छ ।

किनकि कहिलेकाहीं हामीले काम गरिरहे पनि जनताले मूड बदलिसकेका हुँदारहेछन्, खासगरी शहरी क्षेत्रमा । पछिल्लो समय एमाले नेतृत्वको सरकार हुँदा ठूलाठूला लगानी भए । तर जनताको मूड राष्ट्रिय पार्टीतर्फ देखिएन । त्यसैले जनताको एजेण्डा बुझ्न ग्रासरुटमै जाने निष्कर्षमा हामी पुगेका हौं ।

यो मिसनले भोलिका दिनमा जनताबीच जान हामीसँग राजनीतिक विषय मात्रै होइन, सामाजिक र आर्थिक विषय पनि हुनेछ । यो मिसन चलाउनुपर्ने अर्को कारण एमालेका कार्यकर्तालाई जनतासँग जोड्नु हो । अहिले जिल्लाका नेता जिल्ला सदरमुकाममा, प्रदेशका नेता प्रदेश सदरमुकाममा र केन्द्रका नेता केन्द्रतर्फ बढी केन्द्रित हुने देखियो । यसले जनतासँग दूरी बढ्ने जोखिम देखियो । यस्तो प्रवृत्ति बदल्न नेताहरू फेरि आधारभूत तहमै जाने, पार्टीप्रति उनीहरूको दृष्टिकोण बुझ्ने र त्यसको आधारमा सम्बन्ध सुधार्ने हो ।

नेतृत्व लिने पहलकदमी

फरक भूगोलमा नेताहरू पठाउँदाको लाभ राम्रा विशेषतालाई ग्रहण गर्ने र नराम्रोलाई हटाउन सुझाव दिने हुन्छ । अभियानको अनुभवको आधारमै हामी संगठन प्रणाली रूपान्तरण गर्दैछौं

त्यसै पनि दलहरू समाज बदल्नका लागि हो । कम्युनिष्ट घोषणापत्र प्रकाशन गर्दा माक्र्सले भनेको एउटा महत्वपूर्ण उक्ति छ- ‘आजसम्मका विद्वानले समाजको विश्लेषण र व्याख्या गरे, मुख्य प्रश्न समाजलाई बदल्ने हो ।’

त्यसअर्थमा प्रगतिशील राजनीतिक पार्टीको कर्तव्य समाजलाई बदल्ने हो । समाज बदल्नु नेतृत्वको मुख्य प्रश्न हो । मदन भण्डारीले भन्नुभएको छ- ‘विगतमा नेतृत्वको प्रश्न क्रान्ति र विद्रोहको माध्यमबाट हल भयो । अब हामी प्रतिस्पर्धाका माध्यमबाट, लोकतान्त्रिक विधिको माध्यमबाट नेतृत्वको प्रश्न हल गर्ने बाटोमा आइपुगेका छौं ।’

जसलाई हामी जनताको बहुदलीय जनवाद भन्छौं । नीति र सिद्धान्तले नै जनताको बीचबाट नेतृत्व स्थापित गर्ने विधिमा जाने भएपछि स्वाभाविक रूपमा पार्टीलाई जनतासँग जोड्नुपर्छ ।
अर्कातिर, दुनियाँको क्रान्तिले नेतृत्वको प्रश्न हल गरेको छ, तर नेपालको राजनीतिक क्रान्तिले नेतृत्वको प्रश्न हल गरेको छैन । प्रणाली बदलियो । तर, समाज बदल्न बाँकी छ । त्यसअर्थमा समाज बदल्न नेतृत्वको प्रश्न हल हुनुपर्छ ।

यही चुनावको प्रणालीबाट कांग्रेसले नेतृत्व हासिल गर्छ भने त्यसले समाज बुर्जुवा समाजतर्फ बदल्नेछ । यही समाजमा, यही चुनावमा नेकपा एमालेले नेतृत्व हात पार्छ, यही समाज आर्थिक-सामाजिक विकासका माध्यमबाट समाजवादतर्फ रूपान्तरित हुनेछ ।

त्यसअर्थमा नेतृत्वको प्रश्न हल गर्ने ठाउँ पनि चुनाव नै हो र त्यो चुनावमा बहुमत ल्याउन सकिएन भने नेतृत्वको प्रश्न कहिल्यै हल हुँदैन । क्रान्ति सधैं अपूर्ण रहिरहन्छ ।

असफल अभ्यासको सिकाइ

हामीले नेतृत्व सबल बनाउने सवालमा भन्ने गरेका छौं- एकता, संघर्ष र रूपान्तरण । तर अभ्यासमा सफल हुन सकेनौं । खासगरी नेकपाकालमा लाभभन्दा धेरै क्षति व्यहोर्‍यौं भन्ने लाग्छ ।

यद्यपि त्यसबेला तीन वर्ष सरकार चलायौं । त्यो सरकारका माध्यमबाट रणनीतिक महत्वका कामहरू थालनी गरेका छौं । परराष्ट्र सम्बन्धमा नयाँ आयाम कायम गर्‍यौं । त्यही सरकारले विकास र समृद्धिमा तीव्रता ल्याएको थियो । जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई एमाले नेतृत्वबाट समयमै बलियो बनाउने काम भयो । सापेक्षित सुशासनको समय पनि त्यसैबेला भयो ।

तर एमालेलाई करप्सनमा होइन, कन्ट्रोभर्सीमा आरोप लगाइयो । कन्ट्रोभर्सी आफैंमा शासकीय कमजोरी मान्न सकिएला, तर कन्ट्रोभर्सीलाई करप्सनको तहमा चर्चा गरेर बदनाम गर्ने कोशिश गरियो ।

यस्तो हुनुमा हाम्रै नीतिगत नेतृत्वका आधारमा जित हासिल गर्न नसक्नु थियो । माओवादी केन्द्रसहितको बहुमतको सरकार भनेको नीतिगत एकता विनाको बहुमत थियो । एकप्रकारले एउटै पार्टी, तर दुईवटा ज्यान जस्तो । अध्यक्ष नै दुई वटा बनाएका थियौं । र, वैचारिक एकत्व थिएन ।

त्यो एकताबाट नेतृत्व लिने अभ्यास असफल भएपछि हामी विचार, संगठन र कार्यशैलीमै एकताबद्ध एमाले बनाउने प्रक्रियामा छौं । यद्यपि एमालेभित्र पूर्ण रूपमा समस्या हल भयो भन्ने ठान्दिनँ । किनकि हामीले टिकट पाउने र नपाउने बीचको द्वन्द्व पनि व्यहोरेका छौं ।

तर यो दुई महिने मिसनपछि परम्परागत संगठनको ढाँचालाई थप बलशाली बनाउँछौं । त्यो हिसाबले यो रेडिकल अभियान हो । त्यसका लागि कोही पनि नेतालाई आफ्नो कार्यक्षेत्रमा पठाएका छैनौं, कार्यक्षेत्र भन्दा बाहिर छन् । त्यसले नयाँ क्षेत्रको समस्या छिटो पहिचान हुन्छ । किनभने आफैंले गरेको गल्ती आफैं पत्ता लगाउन सकिंदैन । अर्को ठाउँको गल्ती छिटो पत्ता लाग्छ ।

अर्कोतर्फ अर्को ठाउँको विशेषता उसले पहिचान गर्न सक्छ । र, आफ्नो ठाउँमा लागू गर्न सक्छ । त्यसरी फरक भूगोलमा नेताहरू पठाउँदाको लाभ राम्रा विशेषतालाई ग्रहण गर्ने र नराम्रोलाई हटाउन सुझाव दिने हुन्छ । अभियानको अनुभवको आधारमै हामी संगठन प्रणाली रूपान्तरण गर्दैछौं ।

(नेकपा एमालेका महासचिव पोखरेलसँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?