+
+

कसरी बनाइन्छ छोयला ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०७९ फागुन २२ गते १०:०५

काठमाडौं । छुयाला अर्थात् छोयला राँगाको मासुलाई पोलेर बनाइने विशेष नेवारी परिकार हो । नेवार समुदायको भोजभतेरमा यो नछुट्ने खानेकुरा हो ।

छोयला बनाउने खास तरिका हुन्छ । राँगाको फलमासु अर्थात् छाला र हाड नभएको मासु पहिले ठीक गर्नुपर्छ । त्यसरी छुट्याइएको मासुलाई लामो डोरीजस्तो गरी काट्ने गरिन्छ । त्यसपछि त्यसलाई दुसु (दुवै साइड सियोजस्तो भएको फलामको सामग्री) मा राखेर पोल्नुपर्छ ।

मासुलाई पोल्नका लागि पहिले पराल वा छ्वालीको प्रयोग गरिने गरिएको भएपनि हिजोआज ग्यासमा नै पोल्ने गरिन्छ । मासु कालो कालो पाकेको जस्तो भएपछि निकालेर आफ्नो इच्छाअनुसार टुक्रा बनाएर काट्ने गरिन्छ । त्यसपछि स्वादअनुसार नुन, मरमसला हाल्ने, रातो खुर्सानी भुटेर, पिनेर हाल्ने, लसुन, अदुवा पनि पिनेर हाल्ने गरिन्छ ।

छोयलामा भटमास र सूर्यमुखीको तेल हालिंदैन, यसमा शुद्ध तोरीको तेल नै प्रयोग गरिन्छ । सबै मरमसला हालिसकेपछि मज्जाले हातले मोल्ने गरिन्छ । त्यसपछि तयार हुन्छ स्वादिलो छोयला ।

छोयला नेवार समुदायमा पोलेर नै बनाइने भएपनि होटल–रेस्टुरेन्टतिर भने तारेर वा उसिनेर पनि बनाएको पाइन्छ ।

राँगाबाहेक हाँस, कुखुरा र खसीको पनि बनाउन सकिन्छ

छोयला भनेपछि राँगाकै परिकार हो भनेर चिनिन्छ । तर पछिल्लो समय हाँस, कुखुरा र खसीको पनि छोयला बनाउने गरिएको पाइन्छ । नेवार समुदायमा हाँस, कुखुरा वा बोकालाई देउतास्थानमा लगेर बलि चढाएको छ भने त्यसको थोरै भएपनि पोलेर छोयला बनाउने चलन छ ।

राँगाको छोयलामा हाड, छाला हुँदैन भने कुखुरा, हाँस र खसीको छोयलामा भने हड्डी र छाला पनि मिसिएको पाइन्छ ।

(कुम्पाख खाजाघरका सञ्चालक तुलसीनारायण कुम्पाखसँगको कुराकानीमा आधारित)

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?