२१ फागुन, काठमाडौं । आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरका बीएएमएस २२औं ब्याचका विद्यार्थी र क्याम्पसबीच सहमति भएको छ ।
१८ दिनदेखि आन्दोलनरत विद्यार्थीहरु र क्याम्पस प्रशासनबीच आज (आइतबार) ६ महिना आयुर्वेद चिकित्सालय नरदेवी र ६ महिना आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्नसीप गर्ने सहमति भएको हो ।
क्याम्पसको तेस्रो अस्थायी परीक्षा नतिजा प्रकाशन भएसँगै इन्टर्नसीप गर्ने भनिए पनि क्याम्पस र चिकित्सालयको सम्झौताका कारण इन्टर्नसीप हुन सकेको थिएन। यसअघि पनि क्याम्पस र नरदेवीमा आधा÷आधा समय विद्यार्थीहरुको इन्टर्नसीप हुँदै आएकोमा विगत केही समय यता रोकिएको थियो ।
विद्यार्थीहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै विगत ८ दिनदेखि क्याम्पसमा तालाबन्दी गरेका थिए । तर आज क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच ६÷६ महिना दुवै शिक्षण संस्थामा प्राक्टिल गर्न पाउने समझादारी भएको हो ।
सहमतिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयुर्वेद इन्टर्न डा. सुनिल भुसालले १८ दिनसम्म धर्नामा बसिसक्दासमेत क्याम्पसले चासो नदेखाएको आरोप लगाए। उनले शिक्षा आयोगले तोकेको न्युनतम कार्यक्षेत्र पनि १० प्रतिशत प्राक्टिकल नकटाइ दक्ष डाक्टर भनेर लाइसेन दिने अवस्था देखिएपछि त्यसको बिरोधमा आफूहरु उत्रिएको स्पष्ट पारे ।
उनले भने, ‘हामी १८ दिनसम्म धर्नामा छौँ । क्याम्पस प्रशासनमा तालाबन्दी गरेको ८ दिन भयो । चिकित्सा शिक्षा आयोगले तोकेको मिनिमम क्राइट एरियाको पनि १० प्रतिशत प्राक्टिकल नकटाइ दक्ष डाक्टर भनेर लाइसेन दिने अवस्था भेटियो ।’
उनले एउटा ओपीडीमा एक महिनामा एक जना बिरामी हेरेर आफूहरुलाई दक्ष चिकित्सक घोषणा गरेको आरोप लगाउँदै त्यो अस्वीकार गरेर आन्दोलन गर्न बाध्य भएको बताए । उनले भने, ‘एउटा ओपीडीमा एक महिनामा एक जना बिरामी हेरेर हामीलाई दक्ष चिकित्सक भनियो । यो स्वीकार्य नभइसकेपछि हामीले आन्दोलन गरेका हौँ ।’
इन्टर्नसीपमा परीक्षार्थीहरुलाई सुनको लड्डु देखाएर क्याम्पसले पित्तलमा ठगेको उनको आरोप छ । उनले भने, ‘अन्तर्वार्तामा धेरै सुविधा देखाइयो । तर भित्र आउँदा वास्तविकता हेर्दा अर्कै रहेछ । सुनको लड्डु देखाएर पित्तलमा ठगिएको रहेछ ।’
त्यस्तै नेपाल लोकतान्त्रिक आयुर्वेद शिक्षण संघका अध्यक्ष डा. वंशदीप शर्मा खरेलले कुनैपनि इन्टर्नसीपमा गइसकेको विद्यार्थीहरुलाई उनीहरुको अभ्यासबाट कसैलेपनि रोक्नु नहुने बताए ।
उनले आजको छलफलमा विद्यार्थीहरु र क्याम्पसबीच विद्यार्थीहरुलाई पूर्ववत रुपमा नै अभ्यास गराउने र शिक्षण अस्पताललाई स्तरोन्नति गर्ने सहमति भएको बताए । उनले भने, ‘कुनै पनि इन्टर्नसीपमा गइसकेको विद्यार्थीहरुलाई उनीहरुको अभ्यासबाट कसैले पनि रोक्नु हुँदैन । कुनै पनि बहानामा । आज सम्झौता भएको छ । यसमा विद्यार्थीहरुलाई पूर्ववत रुपमा नै अभ्यास गराउने सहमति भएको छ । शिक्षण अस्पताललाई स्तरोन्नति गर्ने भन्ने निस्कर्ष छ ।’
त्यस्तै नेपाल आयुर्वेद चिकित्सक संघका निःवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीले विद्यार्थीहरुको चाहनालाई क्याम्पसले आजबाट समझदारी गरेको तर त्यसलाई कार्यान्यन हुनुपर्ने बताए । उनले भने, ‘विद्यार्थीहरुले पढ्न पाउनुपर्ने र त्यो अनुसारको प्राक्टिकल इन्टर्नसीप पाउनुपर्ने भन्ने विषयवस्तु हो । यहाँ पनि अस्पताल चलिरहेको छ तर बढी चलिरहेको छैन । उनीहरुले नरदेवीमा नै प्राक्टिकल होस् भन्ने विद्यार्थीहरुको चाहना छ । त्यसले अवरोध भएको हो ।’
उनले सकेसम्म एउटै क्याम्पसबाट विद्यार्थीहरुलाई इन्टर्नसीप गराउने व्यवस्था मिलाउनुपर्ने बताए । ‘क्याम्पसले धेरै ठाउँमा लगेर विद्यार्थीको इन्टर्नसीप गराउनु भन्दा एकै ठाउँमा यसमा नै बिरामीहरुको संख्या कसरी बढ्छ त्यो सोचेर एकै ठाउँबाट काम सक्दा राम्रो हुन्छ,’ उनले भने, ‘अहिले पनि नरदेवीमा नै प्राक्टिकल गर्न पाउने उनीहरुको माग छ, सहमति भएको छ, सहमति कार्यान्वयन होस् । यो क्याम्पसमा पनि यसमा पनि बिरामी फ्लो बढाउनुपर्छ ।’
नेपाल आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष डा. सन्तोषकुमार ठाकुरले आयुर्वेदका विद्यार्थीहरुका लागि परिषद्ले करिकुलम अनुसारको स्किलको व्यवस्था इन्टर्नसीपमा नै हुनेगरी व्यवस्था अघि बढाउन लागेको बताए ।
उनले स्किल टेस्टिङको विकास भएको छ वा छैन भन्नेकुरा पाठ्यक्रमकै एउटा पार्ट बनाएर हेर्नेगरी काम गरिरहेको बताए । उनले भने, ‘करिकुलम अनुसारको स्किलको कुराहरु त्यो हामी अब निकट भविष्यमा नै कलेजको पाठ्यक्रमभित्रै जाँच नहुनेगरी त्यसको स्किल टेस्टिङको विकास भयो कि भएन भनेर संयन्त्र बनाउने र त्यसलाई इन्टरसिपको पार्ट बनाएर पाठ्यक्रमकै एउटा पार्ट बनाएर हामीले स्किल पनि हेर्नेछौँ ।’
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरले विद्यार्थीहरुका माग सम्बोधन नगरेको भन्दै विद्यार्थीहरुले आन्दोलन शुरु गरेका थिए ।
उनीहरुले गुणस्तरीय शिक्षाको सुनिश्चितता नगरेको, विद्यार्थी एवं संस्थाको स्तरोन्नतिको प्राथमकितामा नराखेको र विद्यार्थीहरुलाई हतोत्साहीत गरेको आरोप लगाउँदै आएका थिए ।
 
                    










 २०७९ फागुन  २१ गते १८:०५
                        २०७९ फागुन  २१ गते १८:०५                     
                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                                         
                             
                             
                             
                             
                                         
                         
                         
                         
                         
                             
                             
                             
                                         
                             
                                         
                             
                             
                                        
प्रतिक्रिया 4