+
+

पूर्व माओवादीहरू : मिल्न मन छ, बाटै मिल्दैन

शान्ति प्रक्रियामा आएको १७ वर्षमा स–सानो समूहमा माओवादीहरु कति टुटफुट भए कुनै लेखाजोखा छैन । निरन्तरको विभाजनमा ‘रमाएका’ माओवादी नेताहरु द्वन्द्वकालीन मुद्दाको विषय आउनासाथ आफ्नो बचाउमा एकै ठाउँमा उभिन्छन् र फेरि एक हुनुपर्नेमा जोड दिन्छन् ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ फागुन २१ गते २१:३३

२१ फागुन, काठमाडौं । सशस्त्र विद्रोहबाट आएकाहरु एक हुनुपर्छ भन्दा पूर्वमाओवादीहरु रोमाञ्चित हुन्छन् । संक्रमणकालीन न्यायको मुद्दामा एक ठाउँमा आउँछन्, किनकी १० वर्षे ‘जनयुद्ध’लाई आपराधिकरण गर्छ कि भन्ने डर छ ।

तर मिल्नुपर्छ भन्दा भन्दै माओवादीहरु शान्ति प्रक्रियामा आएको करिब १७ वर्षमा १७ भन्दा बढी टुक्रा भइसकेका छन् । पछिल्लो पटक देखिने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओलीहरु अलग भए ।

तर उनीहरु पनि पूर्व माओवादीहरु मिल्नुपर्छ भन्न छाड्दैनन् । आइतबार एउटै मञ्चमा भेला भएका नेताहरुले माओवादी धारबाट आएकाहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।

माओवादी युद्धका शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले गरेको कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला लगायतका नेताहरु एउटै मञ्चमा देखिए । मोहन वैद्यले भने पार्टीको बैठकका कारण उपस्थित हुन नसक्ने भन्दै प्रतिनिधि पठाएका थिए ।

संक्रमणकालीन न्यायको मुद्दामा एक ठाउँ

कार्यक्रममा नेताहरुले सशस्त्र विद्रोह (उनीहरुको शब्दमा जनयुद्ध)लाई आपराधीकरण गर्न खोजिएको भन्दै आक्रोश पोखेका छन् । पछिल्लो पटक सर्वोच्चले प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिनु त्यसको प्रमाण भएको उनीहरुको तर्क थियो ।

सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने प्रचण्डको १ माघ २०७६ को अभिव्यक्तिलाई लिएर फैजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध निवेदन परेपछि संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुविरुद्ध भ्रम छर्ने र घेरा हाल्ने षड्यन्त्र भइरहेको बताए । ‘हामी विभिन्न धारामा भए पनि यिनीहरू एक ठाउँ उभिन सक्छन्, त्यसको प्रभाव जबर्जस्त रहनेछ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले भ्रम छर्ने, घेरा हाल्ने षड्यन्त्र गरिराखेकै छन्’, उनले भनेका छन् ।

नेपाल समाजवादी पाटीका अध्यक्ष रहेका डा. भट्टराईले माओवादीहरु विभाजित भएर कमजोर भएकै कारण मुद्दा चलाउने प्रयास भएको टिप्पणी गरे । ‘माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने कोशिश भइरहेको छ,’ उनले भने, ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’

अर्का नेता विप्लव झन कडारुपमा प्रस्तुत भए । उनले माओवादीलाई अपराधी बनाउने अधिकार लोकतन्त्रमा कसैलाई नभएको भन्दै त्यस्तो गर्नेलाई ठेगान लगाउने चेतावनी दिए । ‘प्रचण्डजी के गर्नुहुन्छ, उहाँको कुरा हो,’ विप्लवको आक्रोश पोखे, ‘तर माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगाउन लगाउने तागत हामीसँग छ । हामी ठेगान लगाइदिन्छौं ।’

तर निरन्तर विभाजन

१ फागुन २०५२ मा सुरु भएको सशस्त्र विद्रोह अन्त्य गर्दै १२ बुँदे समझेदारी र बृहत शान्ति सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएको थियो । २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा २२० (प्रत्यक्षतर्फ १२० सिटसहित) जित्दै पहिलो शक्ति बनेको माओवादी त्यसयता निरन्तर ओरालो लागेको छ ।

२०६९ सालमा मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापा बादल, सीपी गजुरेल, नेत्रविक्रम चन्द लगायतका नेताहरु तत्कालीन एकीकृत नेकपा माओवादीबाट बाहिरिएका थिए । २०७० को दोस्रो संविधानसभा चुनावमा माओवादी तेस्रो दल बन्यो । २०७२ मा संविधान जारी भएपछि भट्टराईले माओवादी छाडे । त्यसयता बैद्यले नेतृत्व गरेको पार्टी फुट्यो, बैद्यबाट अलग भएर विप्लवले बनाएको पार्टी पनि फुट्यो । शान्ति प्रक्रियामा आएको १७ वर्षमा स–सानो समूहमा माओवादीहरु कति टुटफुट भए कुनै लेखाजोखा छैन ।

निरन्तरको विभाजनमा ‘रमाएका’ माओवादी नेताहरु द्वन्द्वकालीन मुद्दाको विषय आउनासाथ आफ्नो बचाउमा एकै ठाउँमा उभिन्छन् र फेरि एक हुनुपर्नेमा जोड दिन्छन् ।

‘हामी माओवादीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ’, माओवादी आन्दोलन एउटा ठूलो प्रवाहका रुपमा आएको र शान्ति प्रक्रियापछि विभिन्न भंगलातिर विभाजित भएको भन्दै प्रचण्डले भने, ‘अब फेरि ती भंगालाहरु एक ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो ।’

नेसपाका अध्यक्ष भट्टराईले त एक हुने विकल्प नै सुझाए । ‘विचार मिल्नेहरु एकै ठाउँमा आएर एउटै पार्टी बनाउ, विचारमा अलि फरक हुनेहरुको बीचमा मोर्चाबन्दी गरौं’, आफूले त मन बनाएर नजिकको साथीलाई समेत भनिसकेको भन्दै भट्टराईले भने, ‘त्यो पनि नहुने हो भने अहिले कार्यगत एकता गरौं ।’

विप्लव, धर्मेन्द्र बस्तोला लगायतका नेताहरुले पनि पूर्व माओवादीको एकतामा जोड दिए ।

तर उनीहरुले बाटो नै यस्तो रोजेका छन्, जसको मिलन तत्काल सम्भव देखिएको छैन । प्रचण्ड–बाबुराम अहिलेको चुनावी प्रतिस्पर्धाबाटै अगाडि बढ्न चाहन्छन् । दुबैले नेतृत्व गरेको दलका नेताहरुलेबीच पार्टी एकता गरेर माओवादी नाम छाड्ने, चुनाव चिन्ह नै परिर्वतन गर्नेसम्म छलफल चलिरहेको छ ।

मोहन बैद्य, विप्लव, धर्मेन्द्र बास्तोहरु भने प्रचण्ड–बाबुरामले हिँडेको बाटो नै हिड्न तयार छैनन् । माओवादी आन्दोलनकै तथ्यमा तोडमोड गरेको आरोप भट्टराईमाथि लगाएका बास्तोलाले ‘अपुरो क्रान्ति’का लागि मात्रै एकता हुने विचार राखे । ‘अहिले हामी सबै माओवादीहरु एक ठाउँमा हुन जरुरी छ, तर अगाडि जानको निम्ति,’ बास्तोलाले भने, ‘नेपालमा अधुरो रहेको सहिदको सपना पूरा गर्नको निम्ति । सहिदका सपना पूरा गर्ने भनेको नयाँ जनवादी क्रान्ति पूरा गर्ने । वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने कुरा हो ।’

विप्लवले पनि वैज्ञानिक समाजवादमा जानका लागि मात्र माओवादीहरुको एकता हुनुपर्ने बताए । ‘सबै माओवादीलाई एकै ठाउँमा ल्याउने हो, ल्याउनै पर्छ,’ आइतबारको कार्यक्रममा विप्लवले भने, ‘तर नयाँ विचारमा, नयाँ दृष्टिकोणमा ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?