+
+

राँगाको मासुबाट बनाउन सकिन्छ २१ परिकार

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०७९ फागुन २३ गते १५:१६

काठमाडौं । नेवार समुदाय संस्कृतिमा जति धनी छ, त्यति नै सम्पन्न छ परिकारमा पनि । चाडपर्वपिच्छे नेवार समुदायमा छुट्टाछुट्टै परिकार पाक्छन् । राँगाको परिकार यो समुदायको खास प्रिय हो भन्दा पनि हुन्छ ।

राँगाको मासुबाट धेरै परिकारहरु बन्छन् । धेरैलाई राँगाबाट बन्ने परिकार केही थरी मात्रै थाहा हुनसक्छ, जस्तै– छोयला, सम्यबजी, दायकाःला । तर यीबाहेक झण्डै २१ थरीका परिकार राँगाको मासुबाट बनाउन सकिन्छ ।

राँगाको मासुबाट बन्ने यी परिकार

राँगाको मासुबाट करिब २१ वटा परिकार बनाउन सकिन्छ । जसमा छुयाःला अर्थात् छोयला (पोलेर बनाएको मासु), दायकाःला (उमालेर बनाउने मासु), काचीःला (काँचो मासुबाट बनाउने परिकार), ह्याकुःला (एक प्रकारको मासुको परिकार), जँःला (मासुको प्रकार), सेंःला (कलेजोबाट बनाइने मासुको परिकार) पर्छन् ।

यस्तै टिस्य (ढाडमा हुने एक किसिमको परिकारबाट बन्ने), तखाःला (मासुलाई उमालेर फ्रिज गरेर बनाइने मासु), सङाख्वा (मासुको झोलबाट बनाइने परिकार), माङाही (रगतबाट बनाइने मासुको परिकार), भुटन (भुँंडी, नली आदिलाई भुटेर बनाइने मासुको परिकार) र तकोला (मासुलाई ठूल्ठूलो रुपमा काटेर बनाइने मासु) राँगाकै मासुबाट बनाइन्छ ।

टाउकोको परिकारमा स्यू (राँगाको विशेष अंग जस्तो सिंग, जिब्रो, पुच्छर आदि छुटाई विशेष प्रकारले बनाइने मासु) पर्छ । अन्य अंगका पनि छुट्टाछुट्टै परिकार बनाउन सकिन्छ । न्हेयपु (गिद्धि), ङख (सिंग), न्हेप (कान), भख्व (बंगारा), मे (जिब्रो), वक, छुपे (पुच्छर)लगायतका परिकार राँगाबाट बनाउन सकिन्छ ।

कुन तरीकाबाट बनाइन्छ यी परिकार ?

कुनै काँचै त कुनै पोलेर, अनि कुनै पकाएर, भुटेर (फ्राइ), उसिनेर र जमाएर राँगाका मासुका परिकारहरु बनाइएको हुन्छ ।

काचीला (काँचो फलमासु साधेको), छोयला, कलेजो पोलेर, ह्याकुला (पातलो छालासहितको ढाडको मासु), जँला (पातलो छाला), टिस्य साधेर, टाउकोको परिकार पकाएर तयार गरिन्छ ।

मिश्रित हड्डी र छाला भएको मासुलाई पकाएर झोलसहितको मासु माटोको भाँडामा राखी जमाएको परिकारलाई टखा हो । अर्को सङाख्वा भनेको मासुलाई मज्जाले पकाएर पिरो र धेरै मरमसला हालेर पकाएको झोल मात्र जमाएर बनाएका परिकार हुन् । यसमा मासु हुँदैन । यी परिकार जाडो महिनामा मात्रै बनाउने प्रचलन छ । किनभने जाडोमा पकाएर लामो समयसम्म खान मिल्नेगरी बनाइएको हुन्छ । यो गर्मी महिनामा जमाउन नसकिने भएकाले उपयुक्त हुँदैन ।

यस्तै तकोला (ठूल्ठूलो गरी काटेर बनाएको मासु), माङही (उसिनेको रगतको परिकार) परिकार उसिनेर बनाइन्छ भने भुटन र खागो (भूँडीको परिकार) फ्राइ गरेर पकाउने गरिन्छ । सपुम्यचा पातलो खागोभित्र न्हेपु (गिदी) भित्र राखेर बनाएको परिकार हो ।

(कुम्पाख खाजाघरका सञ्चालक तुलसीनारायण कुम्पाखसँग कुराकानीमा आधारित)

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?