+
+

पोखरा महानगरलाई थाहै छैन कति हो मणिपालले तिर्नुपर्ने कर ?

विकास रोकामगर विकास रोकामगर
२०७९ फागुन २३ गते २१:०१

२३ फागुन, पोखरा । गत ८ असारमा पोखरा महानगरपालिकाको ११ औं नगरसभा बैठकमा सार्वजनिक लेखा समितिका संयोजक झपट रानाभाटले मणिपाल शिक्षण अस्पतालले ८ करोड रुपैयाँ भन्दा बढी राजस्व तिर्न बाँकी रहेको दाबी गरे ।

यथार्थ हिसाब सार्वजनिक नभए पनि प्रारम्भिक अनुमान भन्द उनले ८ करोडको हिसाब सुनाएका थिए । ‘मणिपालसँग धेरै विषय जोडिएका रहेछन् । बाँकी राजश्वहरु पनि लामो समयदेखि नतिरेको पाइयो’, उनले भने, ‘किन र के भएर भइरहेको छ अध्ययन हुन जरुरी छ ।’

महानगरलाई कहिलेदेखि कति राजश्व तिर्न बाँकी रहेको भन्ने विषयमा अनलाइनखबरले महानगरसँग सूचना मागेको थियो । तर, लिखित सूचना माग गर्दासमेत महानगरले बक्यौता रहेको रकमबारे स्पष्ट जवाफ दिएन । बरु कर बक्यौता देखिएको र उठाउन महानगरले ताकेता गरिरहेको जवाफ दियो ।

विवाद बढ्दै गएपछि महानगरले गत माघमा कर हिसाब गर्न पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ ।

राजश्व महाशाखा प्रमुख झंकनाथ पौडेल एक हप्ताभित्र आफूहरुले मणिपालको सम्पूर्ण बक्यौता रकमबारे यथार्थ जानकारी बाहिर ल्याउने बताउँछन् । ‘अहिले समितिले अध्ययन गरिरहेको छ । एक हप्ताभित्र सत्यतथ्य बाहिर ल्याएर दिन्छौं’ उनले भने ।

राजश्व परामर्श समिति संयोजकसमेत रहेकी महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले समितिले बक्यौता रकमबारे अध्ययन प्रतिवेदन दिएपछि कारवाही प्रक्रिया अघि बढाइने बताइन् । उनले प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा मणिपाल व्यवस्थापनसँग वार्ता गर्नेसमेत राजश्व परामर्श समितिले निर्णय गरेको जानकारी दिइन् ।

‘विगतको वर्षहरुमा केहीकेही त आइराखेको छ । यो पटक पनि… पत्रचाहिँ गइराखेको छ । अस्ति राजश्व परामर्श समितिको बैठक बसेर एक पटक हाम्रो प्रमुख प्रशासकीय अधिकृत बसेर कुरा गर्ने र त्यो पछि के रिपोर्ट आउँछ त्यसपछि हामीले कुरा गर्ने भनिएको छ,’ गुरुङले भनिन् ।

‘कति हो महानगरले जानकारी दिएन’

मणिपाल शिक्षण अस्पतालका निर्देशक कृष्णमोहन श्रेष्ठले भने महानगरलाई तिर्नुपर्ने बक्यौता रकमबारे आफूहरुले पनि खोजिरहेको बताए । आफूहरु बक्यौता राजश्व तिर्न तयार रहेको तर, त्यसका लागि महानगरबाट यथार्थ हिसाब आउनुपर्ने बताए ।

‘हामीले त तिर्छौं भनेर भनिराखेकै छौं । यति करोड, उति करोड भनेर हामीलाई जानकारी त दिनुपर्‍यो नि !’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यो हाम्रो कारण होइन, महानगरकै कारण विलम्ब भइराखेको हो ।’

भारतीय लगानीमा सन् १९९४ मा खुलेको मणिपाल काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज हो । मणिपाल समूहले ४९ वर्षसम्म करिब १९३ रोपनी जग्गा उपभोग गर्न पाउने सरकारसँग सम्झौता थियो ।

तर, सम्झौता म्याद बाँकी छँदै ०७८ भदौमा उक्त कलेज बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेजका नारायण पौडेलको ‘बपौ’ समूहलाई बिक्री गरेको सार्वजनिक भएको थियो ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?