+
+
कांग्रेस नेता कार्कीसँग वार्ता :

‘अंकगणितलाई नकार्न सक्दैनौं, माओवादी त एउटा शक्ति हो’

शेरबहादुर देउवाका निमित्त प्रधानमन्त्री पद गौण हो । अहिलेको हाम्रो कार्यभार भनेको मुलुकको स्थिरता, दिगो शान्ति र आर्थिक उन्नति हो । त्यो कार्यभार पूरा गर्न देउवाले अहिलेको सरकारलाई पूर्ण रूपले सहयोग र समर्थन गर्नुहुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १०:०५

२४ फागुन, काठमाडौं । नेकपा एमालेका नेताहरू राष्ट्रपति निर्वाचनपछि सत्ता गठबन्धनमा हेरफेर हुनसक्ने दाबी गर्छन् । माओवादीलाई छाडेर आए कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघाउने एमाले नेताहरूको खुला प्रस्ताव छ । तर कांग्रेस नेताहरू नयाँ समीकरणको सम्भावना नकार्छन् ।

कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति निर्वाचनपछि कांग्रेससँग गठबन्धन हुन्छ भनेर एमाले नेताहरूले अफवाह फैलाएको बताउँछन् । कांग्रेस र देउवाका लागि प्रधानमन्त्री पद गौण रहेको भन्दै उनले भने, ‘त्यो अफवाह र भ्रममै सीमित रहनेछ ।’

१० पुसलाई राजनीतिक दुर्घटना मान्ने उनी ९ दलको गठबन्धन बन्नुलाई कोर्स करेक्सन भन्छन् । र, कांग्रेस नेतृत्वमा बनेको ९ दलको गठबन्धन पाँच वर्षसम्म टिक्ने उनको दाबी छ ।

प्रस्तुत छ, कांग्रेस नेता कार्कीसँग अनलाइनखबरका सइन्द्र राई लिलु डुम्रेले गरेको कुराकानी :

दुई महिनाभित्रै सत्ता गठबन्धनमा फर्कनुभयो । तर राजनीतिक अस्थिरता निम्त्याएको आरोप खेप्नुपर्‍यो, होइन ?

राजनीतिक अस्थिरताको चर्को–चर्को बहस बौद्धिक जगतबाट छेडिएको देखिएको छ । तर यो अस्थिरता होइन, स्वाभाविक गठबन्धन हो र यसले मुलुकलाई स्थिरताको बाटोतिर अग्रसर गराउँछ ।

२०७४ सालको आमनिर्वाचनमा झण्डैझण्डै दुई तिहाइ बहुमत नेपाली जनताले कम्युनिस्ट पार्टीलाई दिए । २०१५ सालपछि सबभन्दा ठूलो अवसर केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारलाई थियो । त्यो अवसर ऐतिहासिक थियो । त्यसलाई केपी ओलीले गुमाउनुभयो । झण्डै दुई तिहाइको सरकार हुने गरी जनताले जुन अपेक्षा गरेर मत दिएका थिए, त्यसको ठीक विपरित काम भयो । आफ्नो सरकार स्थिर बनाउनुभयो, तर सबै संस्थाहरूलाई अस्थिर बनाइयो । मुलुकलाई संविधानले चाहे अनुसार होइन, आफूले चाहे अनुसार निर्देशित गर्ने भावना जागृत भयो । संविधानको अक्षर र भावना विपरित २/२ पटक प्रतिनिधिसभालाई विघटन गरियो । मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको त्यो बेला संविधान र लोकतन्त्र रक्षा तथा मुलुकलाई स्थायित्व दिन पाँचदलीय गठबन्धन बनेको हो ।

शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन बन्दा नागरिकको जीवन रक्षा गर्ने ठूलो चुनौती थियो । कोभिडपछि अस्तव्यस्त अवस्था थियो, अर्थतन्त्र अस्थिरतातर्फ उन्मुख थियो । प्रधानमन्त्री हुनासाथ देउवाजीले संसदमा खोप–खोप–खोप भनेर सरकारको प्राथमिकता भन्नुभएको थियो । आज कोभिड विरुद्धको खोप लगाउनेहरूमा दक्षिण एशियामै हामी अग्रपङ्तिमा छौं । मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाला कि भन्ने चिन्ता सबैलाई थियो । श्रीलंकाकै बाटोमा अर्थतन्त्र गइदिए हुन्थ्यो भन्ने पनि कसैलाई थियो होला ! मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउने काम भयो । तीन तहको निर्वाचन सम्पन्न भयो । त्यो निर्वाचनमार्फत अभिव्यक्त भएको जुन जनमत छ, त्यसलाई पूरा गर्ने दायित्व पनि पाँच दलकै काँधमा थियो ।

पाँच दलको गठबन्धन त टुटिसकेको थियो, मुलुकको अर्थतन्त्र त अहिले पनि संकटमा छ । एमालेसँग मिलेर सरकार बनाएका प्रचण्डलाई दुई महिनामा नै आफ्नो नेतृत्वको गठबन्धनमा ल्याउनुको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण नै छ, तर अँध्यारो छैन । यो चुनौतीलाई हामी अवसरको रूपमा प्रयोग गर्न सक्छौं । त्यस दिशातर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ । यसका निम्ति लगानीमैत्री अवस्थाको सिर्जना गर्नुपर्‍यो, जनतामा विश्वास दिलाउन सक्नुपर्‍यो । त्यो काम गर्ने जिम्मेवारी इतिहासले यो सरकारलाई दिएको छ । त्यो काम यो सरकारले पूरा गर्दछ/गर्नुपर्दछ ।

जहाँसम्म गठबन्धनमा दुई महिनामै किन तल–माथि आयो भन्ने छ, प्राविधिक रूपमा भन्नुपर्दा १० पुस राजनीतिक दुर्घटना थियो । आज कोर्स करेक्सन भएको छ ।

हिजो पाँच दलले जसरी लिक बाहिर गएको राजनीतिलाई ट्रयाकमा ल्याएका थिए, यो कोर्स करेक्सनले राजनीतिलाई एउटा लिकमा ल्याउँछ । नेपाली जनताले धेरै ठूलो–ठूलो अपेक्षा गरेका छैनन् । राम्रो सडक, सुविधा सम्पन्न अस्पताल, आर्थिक विकासको आशा गरेका छन् । र, यसलाई अघि बढाउने अवसर हामीलाई छ ।

राष्ट्रपति पाउन तपाईंहरू प्रचण्डसँग नजिकिनुभयो । अब प्रधानमन्त्री पाउन एमालेतिर जाने हो कि भन्ने आशंका पनि छ नि ?

यसपटक जनताले कांग्रेसलाई तीनै तहमा सबभन्दा ठूलो दल बनाएका छन् । कांग्रेसलाई राष्ट्रपति, दोस्रो ठूलो दल एमालेलाई सभामुख र तेस्रो दलबाट प्रधानमन्त्री हुने अवस्था बनेको छ । यो गठबन्धन मुलुकको आवश्यकता हो । यो गठबन्धन पाँच वर्ष चल्नुपर्दछ÷चल्छ । निर्वाचनमार्फत जनताले जे चाहना अभिव्यक्त गरेका छन्, त्यसलाई पूरा गर्ने दिशामा हामी अग्रसर भएर अघि बढ्नुपर्दछ ।

तर एमाले नेताहरूले त सार्वजनिक रूपमै अर्को गठबन्धन बन्ने बताइरहेका छन् नि ?

सपना देख्न पाइन्छ । तर त्यो सपना यो पाँच वर्ष पूरा हुँदैन ।

१० पुसमा प्रधानमन्त्री छोड्न नमानेको प्रचण्डलाई अहिले राष्ट्रपति पदका निम्ति स्वीकार्नुभएको छ । संविधानको धारा ७६ (३) को लाभ उठाउनुहुन्न भन्नेमा कसरी विश्वास गर्ने ?

नेपाली कांग्रेस पदको पछाडि छैन । मुलुकको राष्ट्रियता, सार्वभौमिकता, जनताको स्वाभिमान र जनताकै श्रीवृद्धि गर्नका निम्ति कांग्रेस पार्टीको स्थापना भएको हो । यसलाई केन्द्रमा राखेर कांग्रेस अगाडि बढ्छ, कांग्रेसका निम्ति सत्ता गौण कुरा हो ।

एमाले नेताहरूले सार्वजनिक रूपमै प्रस्ताव गरेका छन्, भित्र भइरहेको छैन भन्ने कसरी पत्याउने ?

यही सञ्चारमाध्यममार्फत भन्छु, यो गठबन्धनले पाँच वर्ष पूरा गरेर जनताले निर्वाचनमार्फत अभिव्यक्ति गरेको भावना पूरा गर्ने इमानदारीका साथ अगाडि बढाउँछौं ।

तर १० पुसमा पनि कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउन खोजेकै हो, भोलि फेरि नहोला भन्ने छ र ?

त्यो कुरा इतिहास भइसकेको छ । इतिहास भइसकेको कुरालाई विवेचना गरौंला, क–कसको के–के भूमिका रह्यो, त्यसबारे पनि चर्चा परि–चर्चा गरौंला । अहिले यति मात्रै भन्न चाहन्छु, यो गठबन्धन मुलुकको आवश्यकता अनुसार पुनर्निर्माण भएको छ । यो गठबन्धन पाँच वर्ष सहज रूपले अगाडि बढ्छ ।

एमाले नेताहरूले राष्ट्रपतिको चुनावपछि कांग्रेसको निर्णय बदलिन्छ भनेर किन भने होला त ?

उहाँहरू भ्रम सिर्जना गर्न खोजिरहनुभएको छ, अफवाह फैलाइरहनुभएको छ । त्यो अफवाह र भ्रममै सीमित रहनेछ ।

तर संवैधानिक र राजनीतिक आधारले हेर्दा एमाले नेताहरूको अभिव्यक्तिमा आशंका त हुनेभयो नि ?

शेरबहादुर देउवाका निमित्त प्रधानमन्त्री पद गौण हो । अहिलेको हाम्रो कार्यभार भनेको मुलुकको स्थिरता, दिगो शान्ति र आर्थिक उन्नति हो । त्यो कार्यभार पूरा गर्न देउवाले अहिलेको सरकारलाई पूर्ण रूपले सहयोग र समर्थन गर्नुहुन्छ ।

अहिलेकै गठबन्धनबाट चक्रीय प्रणालीमा सरकारको नेतृत्व गर्ने विश्वास गर्नुहुन्छ ?

यो गठबन्धन पाँच वर्षसम्म अगाडि बढ्छ । सरकारकै कारण अस्थिरता निम्तियो भन्ने ठाउँ दिंदैनौं । किनकि हामी इतिहासप्रति पनि जिम्मेवार हुनुपर्छ । २०५१ सालतिरको इतिहासलाई पनि मध्यनजर गरेर मुलुकलाई स्थिरता दिने बाटोमा कांग्रेसले आफ्नो पूर्ण सामर्थ्य र इमानदारीका साथ अगाडि बढ्छ ।

तर दलहरूको भूमिका हेर्दा त प्राथमिकता सत्ता नै हो भन्ने देखिन्छ, होइन र ?

प्राथमिकता सत्ता नै हो भन्ने पर्न पनि सक्छ । तर अहिले जुन गठबन्धन निर्माण भएको छ, त्यो देश, जनता, मुलुकको दिगो शान्ति, आर्थिक प्रगति, कानुनी शासन, सुशासन र मुलुकलाई अस्थिरताबाट बचाउनका निमित्त बनेको हो ।

केही कठिनाइका बावजुद निर्माण भएको छ । म दोहोर्‍याएर भन्न चाहन्छु, यो गठबन्धन पाँच वर्षसम्म रहन्छ । जनताको अपेक्षा अनुसार सरकारले काम गरेर देखाउनुपर्दछ । हामीलाई इतिहासले दिएको जिम्मेवारी हो, यो दायित्व पूरा गर्नुपर्दछ । प्रतिपक्ष, सञ्चारमाध्यमले सरकारलाई ‘वाचडग’का रूपमा हेर्नुपर्छ ।

चुनाव भएको तीन महिनामा सुदूरपश्चिममा दुई मुख्यमन्त्री बनिसके । अरू प्रदेशमा सरकारको परिवर्तन ओपन सेक्रेट जस्तै हो । संघमा पनि आलोपालो प्रधानमन्त्री भन्ने छ । यो सबै अस्थिर शासनको इन्डिकेटर होइन र ?

सरकार निर्माण हुन केही दिन लाग्छ । तर त्यसपछि जनताले अपेक्षा गरे अनुसारको काम–कारबाहीलाई सरकारले तीव्र गति दिएर अगाडि बढाउने छ ।

तपाईंहरूलाई पनि अप्ठ्यारो छ है ! माओवादीलाई छाडौं, एमालेसँग मिल्ला भन्ने डर, साथमा लिंदा कांग्रेसले आफ्नो विचार, सिद्धान्तमा सम्झौता गर्नुपर्छ, होइन ?

हामी विभिन्न दल छौं, हाम्रो आ–आफ्नो आस्था छ । तर संविधानलाई मानेर यो गठबन्धन अगाडि बढेको छ । संविधान नै हाम्रो विचारधारा हो, जनताको उन्नति नै हाम्रो केन्द्रविन्दु हो । भाषणमा र दस्तावेजमा मात्रै होइन, जनताले अनुभूत गर्ने गरी विकास गर्न सकेनौं भने निराशा उत्पन्न हुन्छ । यो कुरालाई केन्द्रमा राखेर काम गर्नुपर्नेछ ।

त्यसो भए ‘जय नेपाल र लालसलाम’ गौण हुनेभयो ?

नेपालमा संविधानको परिधिभित्र रहेर नारा लगाउन, आ–आफ्नो भावना, दृष्टिकोण पेश गर्न पाउँछन् ।

संविधानले पूर्ण अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानवअधिकार, मौलिक हकको जुन व्यवस्था गरेको छ, त्यसलाई समृद्ध गर्दै अगाडि बढ्नुपर्छ । धेरै सम्भावना भएको मुलुक नेपाललाई छिटोभन्दा छिटो दक्षिणएशियाको एउटा विकसित देशको रूपमा निर्माण गर्ने बाटोमा अगाडि बढ्नुपर्छ ।

संविधान गतिशील दस्तावेज हो, आवश्यकता अनुसार धाराहरूमा पुनर्विचार गर्दै संसदलाई जीवन्त बनाएर अगाडि बढ्नुपर्नेछ । कमसेकम दक्षिणएशियामा ‘भाइब्रेन्ट डेमोक्रेसी’ भएको मुलुक नेपाल हो भन्ने सावित गर्न ढिलाइ गर्नुहुन्न ।

त्यस्तो डेमोक्रेसी चाहिं गठबन्धनकै प्रणालीबाट सावित हुन्छ ?

संविधानमा जस्तो व्यवस्था छ, त्यसले साझा सरकारकै संस्कृतिलाई समृद्ध गर्नुपर्नेछ । किनकि हामीले समानुपातिक र प्रत्यक्ष निर्वाचित हुने मिश्रित व्यवस्था अपनाएको हुनाले एउटै दलले पूर्ण बहुमत प्राप्त गर्न गाह्रो छ ।

तर कतिपय देशहरूमा गठबन्धनबाट बनेका प्रधानमन्त्री नै पाँचै वर्ष चलेको पाइन्छ । तपाईंहरूले चाहिं २० वर्ष गठबन्धन टिक्छ भनेर चुनाव लड्नुभयो, तत्कालै भत्कियो । फेरि दुई महिनामा जोडियो, लोकतन्त्र कसरी बलियो हुन्छ ?

हामीले सच्याइसक्यौं त ! अब फेरि दुर्घटना हुन्न । किनकि यो मुलुकको आवश्यकता हो । यो आवश्यकतालाई नेतृत्वले पूरा गर्नुपर्छ ।

३२ सिटको माओवादीलाई नेतृत्व दिएर सबभन्दा ठूलो दल पछिलाग्नु पनि मुलुकको आवश्यकता हो ?

यसलाई पनि लोकतन्त्रको सुन्दरता नै भन्नुपर्छ । किनभने यसमा सबैभन्दा ठूलो कुरा नम्बरकै खेल छ ।

म भारतकै उदाहरण दिन्छु, चन्द्रशेखर एकपटक प्रधानमन्त्री हुनुभयो । तर उनीसँग मन्त्रिपरिषदमा राख्ने मान्छे पनि थिएनन्; भारतजस्तो लोकतन्त्र भएको देशमा । त्यसो हुनाले लोकतन्त्रमा हामीले अंकगणितलाई नकार्न सक्दैनौं । र माओवादी केन्द्र पनि यो मुलुकको शक्ति हो । यो कुरालाई हामीले नजरअन्दाज गर्‍यौं भनेदेखि आन्तरिक एकताको बाटोमा मुलुक नहिंड्न सक्छ । त्यसैले सबैलाई समेटेर, संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुपर्छ ।

किनभने २००७ सालदेखि आजसम्म सधैं संक्रमण भनेका छौं । अब हामीले द्वन्द्वपीडित मुलुकको नागरिक, गरिब देशको नागरिक भनेर संसारमा चिनिरहनुहुँदैन । हाम्रो परिचय पनि बदल्नुपर्नेछ । अब हामी एउटा सभ्य, सुन्दर र समृद्ध देशको नागरिक भनेर परिचय बनाउनुपर्नेछ । त्यसका निमित्त हाम्रा आगामी काम–कारबाही र यो कुरालाई हेरेर अगाडि बढ्नुपर्छ ।

कांग्रेस सरकारमा गएको छैन, तर राजनीतिक रूपमा गठबन्धनको नेतृत्व लिइसक्यो । यो सरकारको प्रतिबद्धता के हो ?

यो सरकारको ‘कमिटमेन्ट’ स्थिरता, सुशासन र जनताको विकास हो । र, अहिलेको अर्थतन्त्रलाई लयमा लैजानुपर्ने यो सरकारको प्राथमिकता हो ।

नौतिर फर्किएको ९ दलको गठबन्धन छ, त्यस्तो गठबन्धनको सरकारले यो सब गर्न सहज होला र ?

चुनौतीपूर्ण छ, यसमा कुनै सन्देह छैन । तर यो चुनौतीपूर्ण अभिभारा पूरा गर्नुपर्नेछ । निश्चय नै, सबैलाई मिलाएर लैजानु कठिन छ । तर अहिले सबैलाई मिलाएर लैजानु आवश्यकता हो । त्यो आवश्यकता पूरा गर्नुको अर्को विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?