+
+

७ तरिका : बालबच्चाका लागि यसरी छनोट गरौं विद्यालय

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ फागुन २४ गते १४:०४

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा अभिभावकहरू आफ्ना छोराछोरीलाई विद्यालय भर्नाको तयारीमा छन् । कतिपय अभिभावक पुरानै विद्यालयमा भर्ना गर्ने सोचमा छन् भने कतिपय भने विद्यालय परिवर्तन गर्न चाहन्छन् ।

विद्यालय परिवर्तन गर्ने सोच बनाएका अभिभावकहरू कसरी राम्रो स्कुल रोज्ने भन्ने दुविधा हुन सक्छन् । आमाबाबुले आफ्नो बच्चाको भविष्य राम्रो होस् भन्ने चाहन्छन् । बच्चाको भविष्य राम्रो बनाउन महत्त्वपूर्ण कुरा बच्चाको शिक्षा हो ।

किनभने बच्चाको पालनपोषण बाहेक शिक्षाले उसको राम्रो भविष्य निर्माण गर्न सक्छ । त्यसैले बच्चाको लागि विद्यालय छनोट गर्नुअघि अभिभावकले धेरै कुरामा ध्यान दिनुपर्छ । विद्यालय विद्यार्थीका लागि भएकाले अभिभावकले सबैभन्दा पहिले बच्चाको राय बुझ्न आवश्यक भएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् ।

‘बच्चालाई अहिले पढिरहेकै विद्यालय पढ्न मन छ कि परिवर्तन गर्न मन छ ? भनेर सोध्नुपर्छ,’ उनी भन्छन्, ‘विद्यालय छनोट गर्दा आफ्नो बच्चाहरू कस्तो खालको विद्यालयमा पढ्न चाहन्छन् । विद्यालयमा कस्तो सुविधा चाहन्छन् भन्ने कुरालाई अभिभावकले ख्याल गर्नुपर्छ ।’

शिक्षाविद् डा. विद्यानाथ कोइराला । फाइल तस्वीर

विद्यार्थी अनुकूल वातावरण हुनुपर्छ

अभिभावकले विद्यालय छान्दा विद्यार्थी अनुकूल वातावरण भएको विद्यालय छान्नुपर्छ ।  बच्चाको रुचि पढाइमा धेरै छ भने पढाइलाई बढी महत्त्व दिने विद्यालय छनोट गर्नुपर्छ । तर यदि तपाईंको बच्चा पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय छ भने त्यही अनुसारको विद्यालय छनोट गर्नुपर्ने मनोरम प्रि-स्कुलकी प्रधानाध्यापक सम्झना केसी बताउँछन् ।

विद्यालयमा तपाईंको बच्चाले पढ्न चाहेको विषय छ कि छैन ? प्रयोगात्मक विधिबाट पढाइन्छ कि पढाइन्न ? भन्ने कुरा बुझ्नु पर्छ । साथै अतिरिक्त क्रियाकलापलाई पनि समेट्न सक्ने विद्यालय छनोट गर्न केसी सुझाउँछिन् ।

विद्यालयको अवलोकन गर्नुपर्छ

अभिभावकले बच्चालाई विद्यालयमा भर्ना गर्नुअघि आफैं गएर विद्यालयको अवलोकन गर्नुपर्छ । विद्यालयको वातावरण कस्तो छ ? शिक्षकहरू कस्ता छन् ? फुड कल्चर कस्तो छ ? लगायतबारे बुझ्नुपर्छ । केसी भन्छिन्, ‘विद्यालयको प्रत्यक्ष अवलोकन गर्दा विद्यालयको बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ ।’

शुल्कमा ध्यान दिनुपर्छ

अक्सर अभिभावकहरू सोच्छन् कि महंगो स्कुलले मात्र राम्रो शिक्षा दिन सक्छ । तर महंगो शुल्क तिर्दैमा त्यो विद्यालय राम्रो हुन्छ भन्ने हुँदैन । बच्चालाई महंगो विद्यालयमा भर्ना गर्दा, तपाईंको बच्चाले विद्यालयमा शुल्क जस्तै सुविधा पाउनुपर्छ । त्यसैले यसका लागि शुल्कको आधारमा केही विद्यालयलाई सूचीमा राखेर तुलना गर्नुपर्ने शिक्षाविद् कोइराला सुझाउँछन् । ‘त्यो शुल्क तिर्न तपाईंको आयस्रोतले भ्याउँछ कि भ्याउँदैन भन्ने कुरा पनि ध्यानमा राखेर विद्यालय चयन गर्नुपर्छ,’ उनी भन्छन् ।

बच्चाको सुरक्षामा सचेत हुनुपर्छ

बच्चाहरू विद्यालयमा लगभग ६-७ घण्टा बस्छन् । त्यो समयमा बच्चाको सुरक्षाको बारेमा पनि सचेत हुनुपर्छ । बच्चाको सुरक्षाको लागि विद्यालयले कस्तो व्यवस्था गरेको छ भन्ने कुरामा ध्यान दिनुपर्ने मनोरम प्रि-स्कुलकी प्रधानाध्यापक केसी बताउँछिन् । ‘खेल मैदान बच्चामैत्री छ कि छैन ? शौचालय बच्चामैत्री छ कि छैन ? अभिभावकबाहेक अरू कसैले  बच्चा लिन जाँदा विद्यालयले पठाउँछ कि पठाउँदैन ? लगायतका जानकारी लिएर मात्र विद्यार्थी भर्ना गर्नु उपयुक्त हुन्छ,’ उनी सुझाउँछिन् ।

मनोरम प्रि-स्कुलकी प्रधानाध्यापक सम्झना केसी

पढाइको प्रणालीबारे जानकारी लिनुपर्छ

विद्यालयको शिक्षा प्रणालीबारे जानकारी लिनु उत्तिकै जरुरी छ । बच्चालाई कसरी कक्षा दिइन्छ, गृहकार्य कति दिइन्छ, विद्यालयले विगतका शैक्षिक क्षेत्रमा गरेको प्रगति, विद्यालयको विगतको नतिजा, पढाइने शैली, शिक्षक-शिक्षिकाको व्यवहारबारे जानकारी लिनु जरुरी रहेको शिक्षाविद् कोइराला बताउँछन् ।

विद्यालयको वार्षिक क्यालेन्डर हेर्नुपर्छ 

केसीका अनुसार बच्चालाई विद्यालय भर्ना गर्नुअघि विद्यालयको वार्षिक क्यालेन्डर पनि हेर्नु जरुरी छ । घरमा बच्चा हेर्न परिवारमा अन्य सदस्य छन् भने त समस्या हुँदैन । तर अहिले प्रायः सबै अभिभावक व्यस्त हुन्छन् ।

यस्तोमा बच्चाको बिदा धेरै हुन्छ त्यो समयमा अभिभावकको बिदा छैन भने समस्या हुन्छ । त्यसैले बच्चाको विद्यालयको वार्षिक क्यालेन्डर र अभिभावकको कार्यालयको वार्षिक क्यालेन्डर हेरेर विद्यालय छनोट गर्दा सहज हुन्छ ।

विद्यालयको बारेमा प्रतिक्रिया लिनुपर्छ

कुनै पनि विद्यालयमा बच्चालाई भर्ना गराउनुअघि त्यो विद्यालयको बारेमा प्रतिक्रिया लिनु उचित हुने केसी सुझाउँछिन् ।

त्यो विद्यालयमा अध्ययनरत वा उक्त विद्यालयबाट अध्ययन गरेका बालबालिका तथा अभिभावकसँग विद्यालयको बारेमा सोध्नुपर्छ । उनीहरूले विद्यालयको बारेमा भनेका कुराले विद्यालयको बारेमा धेरै जानकारी सही रूपमा प्राप्त गर्न सकिन्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?