+
+

महेन्द्र मोरङमा क्रान्तिकारीले छान्यो उम्मेदवार, अरु संगठनमा को-को दाबेदार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १७:४५

२४ फागुन, विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरु स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तयारीमा लागिसकेका छन् । ५ चैतमा हुने चुनावका लागि विद्यार्थी संगठनहरु उम्मेदवार छनोट र प्रचार प्रसारमा लागिसकेका छन् ।

चुनावका लागि १० वटा संगठन दर्ता भएका छन् । निर्वाचनको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु), अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी यूनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वियू), लोकतान्त्रिक विद्यार्थी संघ लगायत १० वटा संगठन दर्ता भएका छन् । मुख्य प्रतिस्पर्धी भने एमालेको अनेरास्ववियु, कांग्रेसको नेपाल विद्यार्थी संघ र माओवादीको अखिल क्रान्तिकारी हुन् ।

चुनावका लागि अखिल क्रान्तिकारीले रोहितकुमार यादवलाई सभापतिको उम्मेदवार बनाएको छ । नेविसंघबाट जसवन्त पौडेल र अनेरास्ववियुबाट नविन पहाडी सभापतिको आकांक्षी छन् । नेविसंघले पौडेल र अखिलले पहाडीलाई उम्मेदवारको रुपमा अघि सारेपनि औपचारिक घोषणा भने गरेको छैन ।

माओवादी केन्द्र प्रदेश १ कमिटी सदस्य देवा यादवले अन्य संगठनसँग तालमेल नगरिने बताए । अखिल क्रान्तिकारीले सचिवमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरेको छ । बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताए ।

यसअघि २०६५ सालमा भएको स्ववियु चुनावमा महेन्द्र मोरङको सभापति अखिल क्रान्तिकारीले जितेको थियो । त्यसयता स्ववियू निर्वाचन नभएपनि संगठनको आधार बलियो भएका कारण एकल रुपमा जाने उनले बताए ।

अनेरास्ववियु र नेपाल विद्यार्थी संघले पनि तालमेल नगरी अघि बढ्ने तयारी गरेका छन् । नेकपा एकिकृत समाजवादी निकट अनेरास्वियू र जसपा निकट समाजवादी विद्यार्थी युनियनले तालमेल गरेर जाने निर्णय गरेका छन् ।

महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन २१ सदस्यीय हुनेछ । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुनेछन् । पदाधिकारीमा उपसभापति र सहसचिव समानुपातिक मतका आधारमा निर्वाचित हुनेछन् ।

२१ सदस्यीय कार्यसमितिमा ११ जना निर्वाचित र १० जना समानुपातिक विधिबाट निर्वाचित हुनेछन् । महेन्द्र मोरङमा निर्वाचनका लागि ५ हजार ९४२ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?