
२५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं उपत्यकाका सम्पदा निर्माणको शैली चिनियाँ शहरमा प्रवर्द्धन गर्न चाहेको बताएका छन् ।
नेपालका लागि चीनका राजदूत चेन सङ्गको भेटमा उनले यस्तो बताएका छन् । बालेनको कार्यकक्षमा भएको भेटमा आपसी सहयोग र दीगो सम्बन्धका विषयमा कुराकानी गर्दै साहले काठमाडौंका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्द्धन गर्न चाहेका हुन् ।
‘काठमाडौंसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ,’ उनले भने, ‘यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका शहरमा निर्माण गर्न चाहन्छौं ।’
उनले दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्ने, भेषभूषा र खानपान एउटै हुन सक्ने भन्दै यो सम्बन्धबाट नागरिक स्तरमा प्रवर्द्धन गर्न सकिने बताए । उनले भने, ‘नेपाल र चीन विचको व्यापारिक सम्बन्ध २ हजार वर्षभन्दा पनि पुरानो छ । काठमाडौँले चीन र भारतको व्यापारिक सम्बन्ध जोडेको थियो । यो सम्बन्धलाई हामीले बिर्सन हुँदैन ।’
भेटका क्रममा राजदूत सङ्गले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताए । यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौं । ‘काठमाडौंको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन्’ राजदूत सङ्गले भने । कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ स्टेसनलगायत सहरी व्यवस्थापनका विषय थिए ।
प्रतिक्रिया 4