+
+

२५ दिनदेखि तुलसी सहकारी बन्द, १० हजार बचतकर्ताको डेढ अर्ब जोखिममा

हरि अधिकारी हरि अधिकारी
२०७९ फागुन २५ गते २०:५८

२५ फागुन, विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था २५ दिनदेखि बन्द हुँदा सर्बसाधारणको डेढ अर्ब रुपैयाँ जोखिममा परेको छ । सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि सहकारीको कार्यालय फागुन १ गतेदेखि बन्द छ ।

उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने प्रहरी नियन्त्रणमा छन् । उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार आरोपमा अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार दुई जना पक्राउ परेपनि अध्यक्ष केदारनाथ शर्मा फरार छन् । सहकारीबाट एक करोड भन्दा बढी रकम बचत फिर्ता नपाएको भन्दै केही उजुरी परेको छ । उजुरी थपिने क्रममा छ ।

प्रहरीका अनुसार २०७१ सालमा खुलेको सहकारीले झापाको दमक र उदयपुरको गाइघाटमा शाखा कार्यालय खोलेको छ । विराटनगर, दमक र उदयपुरमा गरी १० हजार बढी सर्वसाधारणले एक अर्ब ४९ करोड रुपैयाँ हाराहारी बचत गरेका छन् ।

सचिव न्यौपाने क्यानडा जाने तयारी गरेपछि सर्वसाधारणले बचत फिर्ता माग्दै कार्यालय घेराउ गरेका थिए । त्यही बेला प्रहरीले उपाध्यक्ष गौतम र सचिव न्यौपानेलाई पक्राउ गरेको हो ।

सहकारीले न्यूनतम १५ प्रतिशत ब्याज दिने भन्दै बचत संकलन गरेको थियो । तर अहिले बचत जोखिममा परेको बचतकर्ता युवराज गौतमले बताए । सञ्चालक भागेपछि दुःख गरेर कमाएको पैसा डुब्ने अवस्थामा पुगेको उनले बताए ।

सहकारीमा एक व्यक्तिले ७५ लाख रुपैयाँसम्म बचत गरेका छन् । सम्पत्ति बिक्री तथा जागिरबाट अवकाश पाएपछि एकमुष्ट पाएको रकम राखेका हुन् । ‘हाम्रो घरबाट मात्रै ७५ लाख रुपैयाँ बचत छ’, नाम खुलाउन नचाहेका ती बचतकर्ताले भने, ‘हिजो विभिन्न आश्वासन दिए, अहिले सञ्चालक सम्पर्कविहीन छन् ।’

सहकारीका पूर्र्व कर्मचारीका अनुसार सर्वसाधारणबाट बचत फिर्ता नपाउनुको कारण सहकारीको कानुन विपरीत सदस्य बाहिर गरेको लगानी हो । ती कर्मचारीका अनुसार सहकारीले कृषि व्यवसाय, राइस मिल, घडेरी खरिदलगायतका क्षेत्रमा सर्वसाधारणको बचत प्रयोग गरेको छ ।

अध्यक्ष र सचिवले सहकारीबाट निजी व्यवसायमा पनि खर्च गरेका कारण बचत जोखिममा रहेको ती कर्मचारीको दाबी छ ।

अध्यक्ष फरार

सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारत पुगेका छन् । बचत फिर्ताका लागि सहकारी खोल्न आग्रह गरिएको तुलसी बहुद्देश्यीय सहकारी संस्थाका बचतकर्ता सन्तोष आचार्यले बताए । ‘सहकारी बन्द हुँदा बचत फिर्तामा अन्योल हुने भयो, सञ्चालन भयो भने लगानी उठाएर फिर्ता गर्ने भनेका छन्’, उनले भने, ‘सहकारी खोलेर बचत फिर्ता गर्नुहोस् भनेका छौं ।’

सहकारी सञ्चालकले बजारमा भएको लगानी उठाएर र सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्ने आश्वासन दिएको उनले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?