
२५ फागुन, वीरगञ्ज । २५ वर्षीया गण्डकीकलीलाई मंगलबार बिहानैबाटै सुत्केरी व्यथा लाग्न शुरु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा उनी दोस्रो पटक गर्भवती भएकी थिइन् । प्राकृतिक रुपमा बच्चा जन्माउन समय लाग्ने हुँदा उनलाई पशु चिकित्सकको निगरानीमा राखिएको थियो ।
भिडियो एक्स रे गरेर हेर्दा पाठेघर नखुलेको देखेपछि चिकित्सक टोली घर फर्कियो । बुधबार बिहानै उनीहरु पुनः गण्डकीकली भएको ठाउँमा पुगे । योनीमा सानो पानीको पोका झुण्डिएको थियो । पाठेघर खुलेर बच्चाको आधा भाग बाहिर आएर बाँकी भाग बीचमा अड्केर बसेको देखे ।
भिडियो एक्स रे गरेर हेर्दा पछाडिको खुट्टा बाहिर रहेको थाहा भयो । बरिष्ठ पशु चिकित्सक विजय कुमार श्रेष्ठ भन्छन् ‘पछाडिको खुट्टा आएपछि त्यसैपनि गाह्रो हुन्छ । फेरि हात्तीको योनी गाइवस्तुको जस्तो मलद्वारसँगै हुँदैन । पेटतिर अर्थात पछाडिको तल्लो भागमा हुन्छ । पाठेघरबाट फिटस तल झर्नुपर्नेमा मलद्वार साइडमा अल्झिएको रहेछ ।’
उनका अनुसार औषधीहरु प्रयोग गर्दापनि कुनै उपलब्धी हुने छाँटकाँट देखिएन । त्यतिबेलासम्म बच्चाको अवस्था के छ भनेर थाहा थिएन । तर जोखिम मोलेर शल्यक्रिया गरेर बच्चा निकालिएको उनी बताउँछन् ।
‘माउ कनिरहेको थियो, छटपटाइरहेको थियो । मलद्वारमा तल जुन भागमा फिटस आएर अड्केको थियोे, भकुण्डो जस्तो देखिन्थ्यो’ उनले भने, ‘जोखिम मोलेर मलद्वारको तलतिर एक फिट जति चि¥यौं । दुईवटा खुट्टालाई डोरीले बाँधेर चिरेको ठाउँबाट फिटस निकाल्न सफल भयौं ।’
बच्चा निकाल्न सफल भएकोमा उनीहरु जति खुशी थिए, त्यति नै आत्तिए । किनकी उसमा कुनै चालगति थिएन । मुटुको धडकन बन्द थियो । त्यसपछि चिकित्सक टोलीले मुखबाट कृत्तिम स्वास दिएर उनलाई बचाउन सफल भए ।
‘मुखबाट कृत्रिम स्वास दियौं, मुटु चलेको भान भयो, तीन मिनेटपछि बल्ल उसले आफैंले सास लियो’, वरिष्ठ पशु चिकित्सक श्रेष्ठले भने, ‘मरिसकेको फिटस निस्कियो भन्ने भएको थियो, मुटुको चाल आएपछि ढुक्क भयौं, तर बच्चा उठ्न सकेन, सरसफाइ ग¥यौं । माउको पनि घाउहरु सफा गरेर फर्कियौं ।’
बच्चा उठेको छैन भनेपछि राति ९ बजेतिर गएर केहि औषधी र सलाइन दिएर फर्केको उनले बताए । ‘बच्चा राति १ बजेतिर आफैं उठेछ । माउ बच्चा दुवै स्वस्थ छन् । माउको घाउलाई संक्रमणबाट जोगाउन पर्नेछ’, उनले भने ‘आज बिहानै गएर घाउ सफा ग¥यौं, साल फाल्ने औषधी दिएपछि माउको साल पनि झ¥यो, बच्चा पनि उठेर हिँड्न सक्ने भएको छ ।’
समस्या अझै सकिएको छैन । गण्डकीकलीले बच्चालाई दुध खुवाउन त परको कुरा नजिक पनि पर्न दिइरहेकी छैन । एक दुई पटक मात्रै भएपनि दुध चुस्न दियो भने राम्रो हुन्थ्यो भनेर प्रयास गरिरहेको डाक्टर श्रेष्ठ बताउँछन् ।
गण्डकीकली पहिलो पटक पनि प्रश्रव पीडामा निकै छटपटाएकी थिई । पहिलो बेतमा बच्चाको दुईवटा खुट्टा योनीबाटै बाहिर निस्केको थियो, तर जन्माउन सकेकी थिइन । पशु चिकित्सक २५÷३० जनाको टोलीले बच्चाको खुट्टामा डोरी बाँधेर बाहिर निकालेका थिए ।
‘त्यो बेलामा बच्चा मरिसकेको थियो’, डाक्टर श्रेष्ठ भन्छन्, ‘माउमा मातृत्वको विकास नै हुन पाएन, त्यसैले उसले दुध खुवाउन नमानेको हुन सक्ने अनुमान हामीले गरेका छौं । त्यसका लागि प्रयासरत छौं ।’
वरिष्ठ पशु चिकित्सक श्रेष्ठलाई चितवन राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरेनरी टिमले सहयोग गरेका थिए । क्यानडाको भेटेरेनरी डाक्टर निकको साथ पनि उनले पाए । डाक्टर श्रेष्ठलाई हात्ती प्रजनन् केन्द्र खोरसोरका नासु मनिपुरन चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु चिकित्सक डाक्टर अमिर षडौला, डाक्टर विकल्प कार्की, वन्यजन्तु प्राविधिक किरण रिजालले पनि साथ दिएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले हात्तीले आफैंले बच्चा जन्माउन नसकेपछि पशु चिकित्सक टोलीले शल्यक्रिया गरेर सहजीकरण गरेको बताए । ‘बच्चाको खुट्टा अन्यत्र अल्झिएको रहेछ, सामान्य शल्यक्रिया गरेर बच्चाको खुट्टामा डोरीले बाँधेर तानिएको हो’, उनले भने, ‘हात्तीको बच्चा निकाल्न पहिलोपटक यसरी शल्यक्रिया गरिएको हो ।’
गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षीया प्रेरणाकलीकी छोरी हुन् । सामान्यतः पोथी हात्तीहरू बच्चा पाउन १४–१५ वर्षमा तयार हुन्छन् । ढोईले गर्भवती भएको २२ देखि २४ महिनामा बच्चा जन्माउँछ ।
२०५८ सालमा बच्चा जन्माउन नसकेर हात्तीका माउ बच्चा मरेका पनि थिए । खोरसोरमा ढोईहरू जंगली हात्ती ध्रुवे, रोनाल्डो, गोविन्देसँगको संसर्गबाट गर्भवती हुने गरेको प्रजनन केन्द्रका अधिकारीहरु बताउँछन् । ०५४ सालयता यहाँ ६२ वटा छावाहरू जन्मिएका छन् । प्रजनन केन्द्रमा गतवर्ष मात्रै ६ वटा बच्चा जन्मिएका थिए । बुधबार जन्मिएको बच्चा सहित प्रजनन केन्द्रमा ५३ वटा घरपालुवा हात्ती छन् ।
नेपालमा हात्ती प्रजनन केन्द्रको सुरुवात ६ वटा भाले र १४ वटा पोथी गरी २० वटा हात्ती ल्याई वि.स. २०४४ सालमा भएको थियो । २० वटा मध्ये १६ वटा भारतबाट ल्याइएको थियो भने २ वटा थाइल्याण्ड र २ वटा म्यानमारबाट ल्याइएको थियो । हात्तीको छावालाई २ देखि ४ वर्षको उमेरमा तालिम दिइन्छ । एउटा वयस्क हात्तीलाई दैनिक १ सय ५० किलो हरियो घाँस, ८० देखि १ ०० लिटर पानी चाहिन्छ ।
प्रतिक्रिया 4