+
+

जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैन : उपसभापति खड्का

'माओवादीलाई बाहिर राखेर एमालेसँग कांग्रेसको सहकार्य हुँदैन'

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १३:०१

२६ फागुन, काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन् ।

शुक्रबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको सालिकको दर्शनपछि सञ्‍चारकर्मीसँग यस्तो बताएका हुन् ।  उनले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए ।

उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए ।  ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ। सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौं ‘ उनले भने, ‘दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ। जसपालाई उपराष्ट्रपति दिने कुरा ८ दलको बीचमा प्रवेश गरिसकेको छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ।’

उपसभापति खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन् । उनले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि वेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किए पनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताए ।

उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीवार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताए ।

‘नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर गएका थियौं । तत्कालीन गठबन्धनको बहुमत पुग्नेगरी मत परिणाम पनि आयो।’ उनले भने, ‘दुर्भाग्यवश पुस १० गते एजेण्डाहरुमा सहमत भएका दलहरु पदको कारणले, मैले भन्नुपर्छ, गठबन्धन भत्कियो । त्यसै दिनदेखि पनि हामीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो । र अन्ततोगत्वा यो परिस्थिति बन्यो ।’

उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताए । उनले अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए ।

उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गरे । उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहार्‍याउने बताए । उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभई ५ वर्ष नै अघि बढ्ने दाबी गरे ।

उनले भने, ‘अब उनले कुन सन्दर्भमा कसरी त्यो कुरा राख्नुभएको छ । उहाँको कुरा हो । तर कांग्रेस माओवादीसहितको दलहरु हामी पुस १० गते भत्किएको कुरालाई फेरि कमजोरी र गल्ती स्वीकार्दै एजेण्डामा सहमति भएका दलहरु यी एजेण्डामा टसमस नभएर ५ वर्ष अघि बढ्छौं। कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ला, होला भन्ने कसैले नसोचे हुन्छ। त्यो सपनामा मात्रै सम्भव छ।’

उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको विस्तार हुने बताए । उनले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार विस्तार हुने बताए । उनले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र कांग्रेस पनि सरकारमा सहभागी हुने बताए ।

उनले भने, ‘सरकारको बारेमा हामीले छलफल प्रारम्भ गरेका छैनौं । प्रधानमन्त्रीजीले भन्नुभएको छ, उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको कुरा हुन्छ । अहिले हामी उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिएको केही दिनभित्र नै सरकार विस्तारको कुरा हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार अघि बढ्छ । कांग्रेस सहभागी हुन्छ ।’

उपसभापति खड्काले द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने बताए । उनले भने, ‘द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत जसरी मुलुकु शान्तिमा रुपान्तरण भयो, त्यसकै जगमा हामीले संविधान सभा गर्‍यौं। त्यही संविधान सभाको जगमा संविधान बन्यो । १२ बुँदे शान्ति सम्झौता गर्दा हामीले द्वन्द्वकालीन सबै खालका समस्याको समाधान कानून बनाएर ती आयोगहरुमार्फत निरुपण गर्छौं भनेर जसरी सहमति भएको थियो, जुन जगमा मुलुक यहाँ पुगेको छ, त्यसैले संक्रमणकालीन न्यायको समाधान गर्ने प्रतिबद्धताअनुसार नै जान्छ । संक्रमणकालीन र द्वन्द्वसँग जोडिएका सबै विषयहरु त्यहीं गएर टुंगिन्छ ।’

प्रधानमन्त्री दाहालविरुद्ध दर्ता भएको रिट सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?