+
+

पीएनजीसँग हार्‍यो यूएई, एकदिवशीय मान्यता खतरामा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १६:५२

२६ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम शृंखलाको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएपछि यूएईको एकदिवशीय मान्यता खतरामा परेको छ ।

लिग टूको शीर्ष पाँचभित्र रहेर एकदिवशीय मान्यता जोगाउन यूएईले शृंखलामा बाँकी तीनै खेल जित्नुपर्छ । यूएईको ३३ खेलबाट ३१ अंक छ । पूरै ३६ खेल खेलिसकेको अमेरिकाको ३५ अंक छ । यूएईले दुई खेल जितेमा अमेरिकासँग अंक बराबर हुन्छ । तर, हेड टू हेडमा अमेरिका अगाडि हुने भएकाले शीर्ष पाँचमा हुने सम्भावना कम हुनसक्छ ।

३३ खेलबाट नेपालको ३४ अंक छ । एकदिवशीय मान्यता जोगाउन नेपाललाई शृंखलाको बाँकी तीनमध्ये कम्तिमा १ जित आवश्यक हुनेछ । ३४ खेलबाट ११ अंक बनाएको पीएनजीको भने एकदिवशीय मान्यता गुम्ने निश्चित भइसकेको छ ।

लिग टूमा शीर्ष तीन टोलीले एकदिवशीय विश्वकपको ग्लोवल छनोटमा सिधा स्थान बनााउनेछन् भने शीर्ष पाँचमा रहने टिमले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछन् । अन्तिम दुई स्थानमा रहने टिमलाई एकदिवशीय मान्यता फर्काउने अर्को अवसर भने हुनेछ ।

यही मार्च अन्तिममा नामिवियामा हुने एकदिवशीय विश्वकप ग्लोवल क्वालिफायर प्लेअफमा शीर्ष दुईमा रहन सके एकदिवशीय मान्यता फर्किनेछ । त्यो प्रतियोगितामा लिग टूका अन्तिमका चार र क्यानडा तथा जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा २४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १९० रनमै समेटियो । यूएईले सुरुवात राम्रो गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न सकेन । लिग टूमा यूएईले पीएनजीसँग लगातार तेस्रो हार ब्यहोरेको छ । अघिल्लो साता घरेलु भूमिमा भएको शृंखलाको दुवै खेलमा यूएईले पीएनजीसँग हारेको थियो ।

यूएईका लागि आर्यन लाक्राले सर्वाधिक ५१ रन बनाए । उनले ७२ बलमा ५ चौका र एक छक्का प्रहार गरे । ओपनर मोहम्मद वजिमले २७ बलमा ४ चौका र ३ छक्का सहित ४१ रन जोडे । अर्का ओपनर आशिफ शेख ११ रन बनाउँदै क्याच आउट भए ।

सातौं विकेटपछि केही संयमित बनेका यूएईका ब्याटर जवार फरिद र कार्तिक मैयापनले ३८ रनको साझेदारी गरे । यूएईले आठौं विकेटका रुपमा जवार फरिदलाई गुमायो । फरिदले २६ बलमा २ चौका सहित १९ रन बनाए । केही सम्हालिए पनि कार्तिक मैयापन २५ बलमा १४ रन बनाउँदै हेकुरेको बलमा स्टम्पिङ भए ।

बलिङमा पीएनजीका लागि रिले हेकुरेले सर्वाधिक ३ विकेट लिए । कबुए मोरिए, अशद भालाले समान २–२ विकेट लिए । नोरमान भनुवा र सिमो कामियाले १ –१ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले तीनजना ब्याटरको अर्धशतक सहयोगमा ९ विकेट गुमाएर २४६ रनको योगफल बनाएको थियो ।

पीएनजीका किप्लिन डोरिगा, हिरी हिरी र सेसे बाउले अर्धशतकीय योगदान गरे । हिरी हिरी र बाउले शतकीय साझेदारीसमेत पूरा गरे । पीएनजीले सुरुवात उत्कृष्ट गरेको थियो । पावर प्लेमा ७१ रन जोडेको उसका लागि डोरिगाले ४४ बलमा ८ चौका र २ छक्कासहयोगमा ५५ रन बनाए ।

नियमित ओपनर टोनी उरा वार्मअपको समयमा घाइते भएपछि सेसे बाउले पीएनजीको ओपनिङ संहालेका थिए । उनले तेस्रो नम्बरमा आएका हिरी हिरीसँग मिलेर दोस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गरे । ३० ओभरको समाप्तिमा पीएनजीले १ विकेट गुमाएर १८० रनको योगफल बनाइसकेको थियो ।

तर, ३२औं ओभरमा यूएईका आयन अफ्जल खानले लगातार बलमा विकेट लिएपछि पीएनजीले त्यसयता लगातार विकेट गुमाइरह्यो । एकदिवसीय अन्तर्राष्ट्रिय करिअरकै उत्कृष्ट ब्याटिङ गरेका हिरीहिरीले ८५ बलमा ५ चौका र ४ छक्कासहित ७७ रन बनाएर आउट भए । पीएनजीले अन्तिम २० ओभरमा ८ विकेट गुमाएर ६६ रनमात्र थप्न सक्यो ।

ओपनिङमा आएका सेसे बाउ ८१ रनमा अविजित रहे । उनले १०६ बलमा १० चौका प्रहार गरे । बलिङमा यूएईका युवा स्पिनर आयान खानले १० ओभरमा ३ मेडन राख्दै ३४ रन खर्चेर ३ विकेट लिए । जुनेद सिद्धकीले ९ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिए । जहोर खानले ७ अ‍ेभरमा ४९ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफा, कार्तिक मेइयाप्पनले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?