+
+

नेपालको गाउँघरमा चुपचाप उपचारमा खटिएका विदेशी डाक्टर

मनिषा थापा मनिषा थापा
२०७९ फागुन २७ गते ११:३०

काठमाडौं । सेवाका लागि कुनै भौगोलिक सिमाना, भेषभूषा र संस्कृतिले फरक पार्दैन भन्ने गतिलो उदाहरण हुन् डा. माइक सीएफ स्मिथ । ७० वर्षीय डा. स्मिथ राष्ट्रियताले बेलायती हुन् । तर उनी ४० वर्षदेखि ग्रामीण क्षेत्रका नेपालीको उपचार खटिरहेका छन् ।

विकट र दुर्गम क्षेत्रका नेपालीको नाक, कान र घाँटीको उपचार गरिरहेका उनलाई नेपालले यसरी तानेको छ कि अन्तिम सास रहँदासम्म यतै सेवा गर्न चाहन्छन् । स्मिथ नेपाललाई आफ्नो दोस्रो घर मान्छन् । आफ्नो सेवाको सबैभन्दा बढी समय नेपालको पश्चिमी क्षेत्रमा खार्चिएका उनले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र विभिन्न समयमा देशको पश्चिमी कुना-काप्चाको क्षेत्रमा विशेषज्ञ सेवासहितको सेवा दिएका छन् ।

सुविधासम्पन्न देशमा जन्मिएपनि फलको आशा नगरी नेपालको विकट क्षेत्रमा रहेर सेवा प्रदान गरेकै कारण उनलाई त्यहाँका बासिन्दाले भगवानभन्दा कम ठान्दैनन् । तर अफसोच उनलाई सरकारले भने चिन्दैन । ‘सरकारले मलाई वर्षैपिच्छे भिसा प्रक्रियामा सबैभन्दा बढी अल्झिने व्यक्ति भएकाले मेरो नाम चाहिं याद गरेको होला,’ अनलाइनखबरसँग उनी भन्छन् ।

यसरी बन्यो नेपाल कर्मथलो

उनी पहिलोपटक नेपाल सन् १९७४ मा एक साताका लागि घुम्न आए । ‘नेपाल पहिलोपटक आउँदा म एक साधारण विद्यार्थी मात्र थिएँ । नेपालको हिमाल हेरेपछि एक सातापछि म स्वदेश फर्किएँ,’ स्मिथ सुनाउँछन् । त्यसपछि पुनः उनलाई नेपालको प्रकृतिको सुन्दरता र यहाँको आत्मीय व्यवहारले तान्यो । र, एभरेस्ट बेस्ट क्याम्प ट्रेकिङ गर्ने योजनाका साथ सन् १९७६ मा नेपाल आए ।

उनी बेलायत गएर विवाह गरे । आफ्नो पढाइलाई निरन्तरता दिए । सेन्ट म्यारी अस्पताल मेडिकल स्कुलबाट एमबीबीएस सकेपछि तेस्रोपटक सन् १९८० मा उनी नेपालमै केही गर्ने सोचले आए । त्यतिबेला उनी २८ वर्षका थिए ।

‘म एक जुनियर चिकित्सक, कुनै रोगको विशेषज्ञता मसँग थिएन । बेलायतमा शिक्षा निःशुल्क छ । निःशुल्क पाएको शिक्षा खाँचो भएको देशमा सदुपयोग गर्छु भन्ने लाग्यो तर कुन देश जाऊँ भन्ने दोधारमा थिएँ,’ स्मिथ भन्छन्, ‘धेरै संस्थालाई चिठ्ठी पठाए, जसमध्ये नेपालमा कुष्ठरोगका बिरामी धेरै छन् र जवान डाक्टरको खाँचो छ भन्ने कुरा आयो ।’

साथीहरुले पनि नेपाल गएर सेवा गर्दा राम्रो हुन्छ भनेर सुझाएपछि श्रीमती फायोनासहित उनी नेपाल आए ।

त्यससमय उनले भर्खरै नाक कान घाँटीको तालिम सुरु मात्र गरेका थिए । तर पोखरामा कुष्ठरोगका बिरामी बढी थिए तर चिकित्सक थिएनन् । जसकारण पोखराको कुष्ठरोग उपचारको लागि स्थापना भएको हरियो खर्क अस्पतालमा जुनियर डाक्टरको रुपमा काम गरे । अस्पतालकै कम्पाउण्डमा साधारण घरमा उनी बस्थे ।

‘पोखरामा कुनै कुष्ठरोग विशेषज्ञ थिएन, जसकारण मैले त्यहाँ काम गर्ने अवसर पाएँ,’ उनी सुनाउँछन्,’ ‘हात खुट्टा नै नचल्ने अवस्थाका बिरामी थिए, कुष्ठरोगसम्बन्धी केही तालिम लिएको थिएँ, त्यसबारे सिक्दै, सिकाउँदै काम गरें ।

त्यसबेलाको परिवेश उनले सम्झिए, ‘पोखरा एउटा दुर्गम क्षेत्र थियो । सानो ढुंगा र खरले छापेको घरमा म र श्रीमती बस्थ्यौं । बत्तीको सुविधा थिएन । लाल्टिन बाल्ने गथ्र्यौं । दुई वर्षपछि श्रीमतीका बुबा बिरामी भएकाले स्वदेश फर्किएँ ।’

रोयल कलेज अफ सर्जियन लण्डनबाट सन् १९८५ मा नाक कान र घाँटीमा एफआरसीएस पास गर्नुका साथै उच्च शल्य चिकित्सा विशेषज्ञ प्रशिक्षणको प्रमाणपत्र लिएपछि आठ वर्षको काम गरेको अनुभवले उनलाई अब यस विधामा पोख्त छु भन्ने लाग्यो । पश्चिमाञ्चल अस्पतालमा ईएनटी सेवामा ठूला डाक्टरको अभाव छ र त्यहीं जानुपर्छ भनेर उनी नेपाल फर्किए ।

‘मलाई थाहा थियो, बेलायतमा भन्दा नेपालमा चिकित्सकको खाँचो छ । जहाँ स्वास्थ्यको पहुँच छैन, उपचार गराउन आर्थिक अवस्थाले भ्याउँदैन त्यहाँ सेवा दिनुपर्छ भन्ने लाग्यो र म फर्किएँ,’ उनी भन्छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आबद्ध भएपछि उनले धेरै शल्यक्रिया गरे । उनका अनुसार कोहीको ठूलो कानको ट्युमर, क्यान्सर, कान पाकेको बिरामी लाभान्वित भए ।

‘स्रोत साधन केही थिएन, चिकित्सकको अभाव, विभिन्न असुविधाको बाबजुद पनि काम निरन्तर गरिरहयौं,’ उनी भन्छन्, ‘त्यहाँका धेरै आमाबुबाले मलाई सम्झिनुहुन्छ मलाई । अभावमा पनि सेवा दिन पाउँदा खुसी लाग्थ्यो ।’

पहिला काम गर्न धेरै कठिन

अंग्रेजीभाषी स्मिथलाई उपचार सेवा दिने क्रममा भाषाको समस्या हुन्थ्यो । त्यसैले उनले दैनिक एक घण्टा कक्षा नै लिएर नेपाली भाषा सिके । ‘सानो बच्चाको किताब पनि पढें । ओपीडीमा शिक्षक नै लगेर बिरामीको अवस्थाबारे कसरी सोध्ने भनेर सिकें,’ उनी सुनाउँछन्, ‘मेरो नोटबुकमा हजारौं शब्द टिपेको छु तर धेरै याद भने छैन । अझै पनि सिक्दै छु ।’

त्यतिबेला नेपालको सञ्चारको अवस्थाबारे पनि उनी सुनाउँछन् । उनकी श्रीमती बिरामी भएर बेलायत फर्किंदा उनी पोखरामा एक्लै भए । श्रीमतीको अवस्था बुझ्न फोन गर्नुपर्ने थियो । त्यसका लागि काठमाडौं आउनुपथ्र्यो । १० घण्टा लगाएर काठमाडौं आएपछि बेलुकीसम्म पर्खिएर केही मिनेट बोलेर फेरि पोखरा फर्किएको दिन उनले सम्झिए ।

पश्चिमाञ्चल अस्पतालमा प्रयोगशाला थिएन । न त पर्याप्त नर्स, न त प्याथोलोजिस्ट थिए । शल्यक्रिया कक्ष पनि थिएन । एक बालिकाको ट्युमर थियो । ट्युमर त निकाले तर ट्युमर के हो भनेर प्रयोगशाला र प्याथोलोजिस्ट नभएकै कारण पत्ता लागेन । त्यस्ता धेरै तीता अनुभव छन् स्मिथसँग । उपकरण नहुँदा किटलीमा पानी तताएर धेरै किसिमको जुक्ति लगाएर उपचार गरेको उनीसँग अनुभव छ । धेरैजसो बिग्रेको उपकरण बेलायतबाट ल्याएर बनाएर उनले उपचार गर्ने गर्थे ।

‘आधा रातमा पनि बिरामी आउँथे तर स्रोत, साधन र जनशक्तिको अभावमा उपचार गरेका बिरामीमध्ये धेरैले ज्यान गुमाए,’ उनी सुनाउँछन् ।

उनकी श्रीमती फियोनाले बालबालिकाको फिजियोथेरापिस्ट थिइन् । उनी पनि सोही अस्पतालमा फिजियोथेरापी सिकाउने काम गर्थिन् । सन् १९९२ मा त्यही अस्पतालमा उनीहरुकी कान्छी छोरी जन्मिइन् । यसअघि दुई सन्तान थिए ।

केही समयपछि छोराछोरीको शिक्षादीक्षाका लागि उनीहरु फेरि बेलायत फर्किए । तर पनि स्मिथको मन भने नेपालमै थियो । त्यसैले बेलायतमा अनपेड बिदामा वर्षको दुईपटक दुई साताका लागि नेपाल आउन पाउनेगरी अनुमति लिए । १७ वर्षमा उनी प्रत्येक वर्ष दुई पटक गरेर ३४ पटक नेपाल आएर शिविर चलाए । शिविरका क्रममा हरेकजसो जिल्लमा उनी र उनको टोलीको पुगेको हुन्थ्यो ।

‘शिविरमा मात्र १५० जति शल्यक्रिया गरियो । बिहान सबैरेदेखि रातिसम्म काम गथ्यौं, उनी सुनाउँछन्,’ ‘उपचारपछि बिरामीमा देखिने खुसी र दिने आशिर्वादले काम गर्दाको थकानलाई राहत मिल्थ्यो ।’ शिविर सञ्चालन गर्दा ठूलै उपचार गर्नुपरेमा पोखरामा अर्को टोली तैनाथ हुन्थ्यो, जसलाई आवश्यक पर्दा बोलाइन्थ्यो ।

तर शिविर स्वास्थ्य समस्याको दिगो समाधान होइन भन्नेमा उनी ढुक्क थिए । त्यसैले विशेष तालिम केन्द्रको उनले योजना बनाए । उनको योजनामा साथ दिए स्वीट्जरल्याण्डका साथी डा. लुकास एबरले । उनी पनि नाक कान घाँटीका चिकित्सक हुन् ।

एबरले तालिमका लागि पैसा उठाए । उनी प्रत्येक दुई वर्षमा एकपटक आउने गर्थे । उनले आफ्नै देशमा एक मिलियन डलर उठाए । उक्त रकम जुटेपछि सन् २०१५ मा आईएनएफ इन्टरनेसनल नेपाल फेलोसिप अन्तर्गत ग्रीन पास्चर (हरियो खर्क) अस्पतालमै एयर सेन्टर खोले । जुन २० शैय्याको बन्यो । त्यहाँ जटिल खालका कानको अप्रेसन हुन थाले ।

त्यसले विपन्न वर्गका बिरामीको लागि सहयोग पनि गर्छ । त्यहाँ हाल तीन जना सर्जन, दुई सय जना कर्मचारी छन् । तर दुर्भाग्य एबर सन् २०१६ मा सडक दुर्घटनामा परे । उनको ब्रेन ड्यामेज भयो । हाल उनी स्विटजरल्याण्डकै न्युरोलोजिकल अस्पतालको शैय्यामा छन् ।

उपचारका क्रममा स्मिथको मानस्पटलमा आइरहने धेरै घटना छन् । जुम्लाकी ११ वर्षीया बालिकाको नाकको हड्डीमा संक्रमणले मुख खोल्न नसक्ने अवस्थामा थिइन् । जन्मिएको तीन वर्ष भएदेखिको उक्त समस्या झेलिरहेकी ती बालिकाको पोखरा अस्पतालमा मेरुदण्डको हड्डीलाई लगेर नाकको हड्डी फेरियो । त्यसपछि उनले मुख खोल्न सकेकी थिइन् । उनी खुसी हुँदै अब जुम्लाको स्याउ खान सक्छु भनेको कुरा बिर्सिन नसक्ने डा. स्मिथ बताउँछन् ।

सेवासुविधामा बेलायत धेरै माथि

बेलायतमा स्वास्थ्य, शिक्षा सबै निःशुल्क छ । तर नेपालमा निजी अस्पताल र सरकारी अस्पताल भनेर विभाजित छन् जसले बिरामी कहाँ उपचार गराउने, उपचार महँगो हुँदा कसरी उपचार गर्ने भन्ने कुरामा दोधारमा पर्छन् । धेरैले त उपचार खर्च नभएर नै उपचारबाट वञ्चित भएका छन् । ‘त्यसो त आधारभूत आवश्यकता पूरा गर्न विकट क्षेत्रमा बसोबास गनेलाई सधैं हम्मे-हम्मे छ । घरमा कोही थला परे उपचार नै नपाउने अवस्था धेरैको देखिन्छ,’ स्मिथ भन्छन् ।

अहिले र पहिलेको स्वास्थ्य सेवा 

पहिले र अहिलेको नेपालको स्वास्थ्य अवस्थालाई तुलना गर्दै डा. स्मिथ भन्छन्, ‘२०, ३० वर्षअघि नेपालमा त्यो पनि दुर्गम क्षेत्रमा बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने धारणा नै थिएन । विकट ठाउँमा न अस्पताल थिए न त चिकित्सक नै । औषधि र रगत परीक्षण गराउने सानो प्रयोगशालाको समेत अभाव थियो ।’

चिकित्सकलाई पनि विकट ठाउँमा काम गर्न जान एकातर्फ आफ्नो परिवार र अर्को काम गर्न जाने ठाउँ सुविधाजनक नहुँदा कठिन रहेको उनी सुनाउँछन् । जिल्ला अस्पतालमा चिकित्सक नै नहुँदा धेरै शय्या खाली नै हुन्थे ।

तर अहिले नेपालको स्वास्थ्य प्रणालीमा धेरै सुधार आइसकेको स्मिथको अनुभव छ । सहरमा सुविधाजनक अस्पतालहरु खुलेका छन्, हरेक रोगको उपचार नेपालमै हुन थालेको छ । तर पनि विकट भेगको अवस्थामा भने उल्लेखनीय सुधार अझै हुन नसकेको उनको बुझाइ छ ।

‘गाउँका व्यक्ति बिरामी पर्दा उपचारका लागि सहर आउनुपर्छ । त्यसमा पनि काठमाडौं नै ल्याउनु पर्दा पैसा जति होटेलमै सकिने अवस्था छ । बीमा भयो भने उपचार नै नपाई मर्नुपर्ने अवस्था आउँदैनथ्यो होला,’ डा. स्मिथ भन्छन् ।

नाक कान घाँटीमा अपेक्षित सुधार

नाक, कान र घाँटीरोगको सेवा पहिलेभन्दा राम्रो भएको उनी बताउँछन् । ‘बच्चामा कान पाक्ने समस्या र घाँटीको क्यान्सर बढी देखिन्छ । जन्मजात नै कान नसुन्ने र बहिरोपन भएकाहरुका लागि कक्लियर प्लान्ट सेवा नेपालमा विस्तार हुन नसक्दा समस्या भएको छ,’ उनी भन्छन् । महंगो भएकाले सरकारले एउटा अस्पतालमा मात्रै अनुदान दिएको र जसकारण मन हुँदाहुँदै पनि आफूले गर्न नसकेको उनी बताउँछन् ।

सेवाका लागि आउन खोज्छन् तर भिसा प्रक्रिया कठिन

धेरै विदेशी चिकित्सक नेपालमा आएर आफ्नो विज्ञता प्रदर्शन गर्न खोज्छन् तर भिसा प्रक्रिया झन्झटिलो हुँदा समस्या भएको डा. स्मिथको बुझाइ छ ।

४० वर्षदेखि नेपालमा सेवा दिइरहेको भएपनि उनलाई जाने आउने गर्दा भिसा प्रक्रिया निकै झन्झटिलो लाग्छ । तर असहजताको बाबजुद पनि उनी निरन्तर आएर सेवा दिइरहेका छन् । वीर अस्पतालमा पनि सहकार्यमा सिकाउने शल्यक्रिया गर्ने जस्ता काम निमन्त्रणामा आएर काम गरिरहेका हुन्छन् । कहिले होटल, कहिले साथीकहाँ बसेर भएपनि उनले सेवा दिइरहेका छन् ।

डा. स्मिथ एयर सेन्टरमा बेलाबखतमा आउने गर्छन् । र, अन्य नेपालका अस्पतालमा भने तालिम दिन र जटिल शल्यक्रिया गर्नका लागि निमन्त्रणा भएको बखतमा आउने गर्छन् । नेपालसँगै उनले थाइल्याण्ड, ब्राजिल, युगान्डा, भारत पनि घुमेका छन् । तर पनि नेपाल नै आफ्नो लागि प्रिय र पहिलो रोजाइ बनेकाले अन्यत्र जान मन नलागेको उनी सुनाउँछन् ।

सन्तानको नाम पनि नेपालीमै

नेपालप्रतिको माया उनमा यति छ कि आफ्ना सन्तानको नाम पनि नेपालीमै राखेका छन् । जेठी छोरीको नाम ज्योति, छोराको नाम जीवन र कान्छी छोरीको नाम माया राखेका छन् । जेठी छोरी बेलायतमा कीट विज्ञान विशेषज्ञ, छोरा अष्ट्रेलियामा आर्किटेक्ट छन् भने कान्छी छोरी बेलायतमा छिन् । श्रीमती र उनी भ्याएसम्म नेपाल आउने गर्छन् ।

बेलायतमा साताको दुई दिन उनी हियरफोर्ड कन्ट्री अस्पताल र ल्यान्ड्रिनडोड वेल्स मेमेरियल अस्पतालमा काम गर्छन् । बाँकी समय आफ्नो रुचिअनुसारको काम गर्छन् । पानीमा चल्ने ढुंगा बनाउने, हातले नै कानमा लगाउने गरगहना बनाउने, चित्र बनाउने, माटोको भाँडा बनाउने काममा उनको गहिरो रुचि छ । अनि साना नातिनातिनासँग खेल्नु उनको अर्को दिनचर्या हो ।

स्मिथलाई नेपालको सबैभन्दा मन परेको ठाउँ शे-फोक्सुण्डो ताल हो । उनलाई धेरै नेपाली मनकारी, दयालु र सादा जीवन बिताउने खालको लाग्छ । भन्छन्, ‘पकेटबाट हराएको सामान पनि फिर्ता ल्याइदिएका धेरै उदाहरण छन् ।’

उनलाई बिरामीलाई होच्चाएर सम्बोधन गरेको पटक्कै मन पर्दैन । ‘कान नसुन्नेलाई बहिरो, बोल्न नसक्नेलाई लाटो जस्तो शब्दबाट सम्बोधन गरिन्छ । जुन सुन्दा नरमाइलो लाग्छ,’ उनी भन्छन् ।

सम्मानको नाममा उनले नेपालबाट एक मात्र अवार्ड पाएका छन् । पश्चिमाञ्चल क्षेत्रमा नाक कान घाँटीसम्बन्धी सेवा र तालिम दिएका कारण सन् १९९७ मा कल्याणमणि आचार्य दीक्षित मेमोरियल ट्रस्ट सर्टिफिकेट प्राप्त गरेका थिए ।

बेलायतमा भने दुई महिनाअघि मात्र उनले नेपालमा ओईबी अवार्डबाट सम्मानित भएका छन् । नेपालमा श्रवणशक्तिविहीन र विपन्न वर्गको उपचार सेवा गरेवापत डा. स्मिथलाई बेलायतका राजाले उक्त सम्मान प्रदान गरेका हुन् ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?