+
+

डोल्पा जाँदा हामी हरायौं

सोवित ठकुरी सोवित ठकुरी
२०७९ फागुन २७ गते १९:३०

हामी हरायौं !

बाटाहरु थिएनन् । टाढाटाढासम्म आँखा फ्याँक्दा पनि कुनै मान्छको कुनै गतिविधि देखिएन । दृश्यभरि हिमालमात्रै थियो, पहाडमात्रै थियो । कहाँ छौं र कहाँ पुग्नुपर्ने थाहा नहुनु भनेको हराउनु हो रहेछ, हो हामी हरायौं !

हुन त हामीलाई रुकुमको मैकोटाबाट ठाडो उकालो उक्लिंदै दुलेसम्म पुग्नुथियो । तर, बीचबाटोमै बाटो हराएका थियौं । रुकुमका विद्यालयमा केही दिनको कार्यक्रम सकेपछि पदयात्रामा निस्किने पूर्ववत् योजनाअनुसार नै उकालो उक्लिएका थियौं । तर, उकालोले मात्रै कहीं नपुगिने निश्चितजस्तै भइसकेको थियो ।

सायद यो क्षेत्र पदयात्राका लागि त्यति प्रख्यात नभएर पनि होला, बाटोमा खानाबस्नको उचित व्यवस्था थिएन । पदयात्रा र पुग्नुपर्ने कुनै गन्तव्यको निशान थिएन । राति दुले पुगेर बास बस्ने हाम्रो योजना थियो । दुलेबाट ढोरपाटन शिकार आरक्ष सुरु हुन्छ र यात्रा सहज हुन्छ भन्ने हाम्रो रुमानी सोच थियो ।

तर, दुले र मैकोटको अनकन्टार जंगलभित्रै कतै हरायौं । त्यहाँ हामीले बाटोमात्रै हराएका थिएनौं, सँगै पाइला चालिरहेका सहयात्री नै हराएका थियौं । बिहान सँगै एउटै समूहमा उकालो उक्लेका साथीहरु दुई समूहमा बाँडिइसकेका थियौं ।

जंगलको बीचमा फोन लाग्ने कुरै थिएन । जंगलमा चिच्याउँदै एकले अर्कासँगको सम्पर्क गरिरहेकै थियौं । त्यो पनि केहीबेरमा छुट्यो । फोनको सम्पर्क टावर खोज्दै अझै माथि डाँडा उक्लिन खोज्यौं । भाग्यवश ! फोन लाग्यो, हराएका हामी कम्तिमा सम्पर्कमा आयौं ।

साँझको ७ः३० भइसकेको थियो । हिमाल छुँदै आएको हावाको चिस्सो झोंक्का सहिनसक्नु थियो । हावाको वेग छल्दै केही गहिरो कुनो खोज्यौं । केही सुकेका पातपतिंगर, गोबर जोहो गरेर आगो बालेर ताप्यौं । अर्को ग्रुप सम्पर्कमा मात्रै थियो, तर कहाँ छन् थाहा थिएन ।

‘हामीले गोठ भेट्यौं । नजिकै पानी पनि छ । आजको बसाइँ यतै होलाजस्तो छ,’ अर्को समूहबाट फोन आयो । मनमा एकप्रकारको शान्ति छायो । दिनभरको हिँडाइले थाकेका गोडामा एकाएक जाँगर पलाएर आएजस्तो भयो । अर्को समूहसँग सम्पर्कमा आउन चिच्यायौं । उनीहरुले लाइट बाले ।

तर, जब उनीहरूको संकेत मेरो आँखामा पर्‍यो । मेरा पाइला टक्क रोकिए । अघि सर्नै मानेनन् । नजिकै देखिए पनि उनीहरु हामीभन्दा अन्दाजी २ घन्टा बढीको समय टाढा थिए । उनीहरु हाम्रै समूहका होइनन् कि भन्ने पनि लाग्यो । मित्र राजु दासलाई फेरि फोन गर्न लगाएँ । लाइट बालेर संकेत गर्ने हाम्रै समूह रहेछ ।

झनक्क रिस उठेर आयो । ‘दुई घन्टा माथि उक्लिसकेका हामी कसरी फेरि तल झर्ने ? यहाँबाट एक पाइला सर्नेवाला छैन,’ जहाँ थियौं, त्यहीं ठिंग उभिएँ । राजुजीलाई अप्ठेरो पर्‍यो । जाऊँ मैले नजाने अड्डी कसिसकेको थिएँ, नजाऊँ उनीहरुलाई आउँछौं भनेर वचन दिइसक्नु भएको थियो ।

दुले पुग्न त्यहाँबाट ३ घन्टा लाग्ने हाम्रो अन्दाज थियो । अनि कसरी फर्किनु २ घन्टा तल ? ‘भाइ अरु तल फर्किर्ए पनि तिमी र भए पनि दुले गइन्छ, होइन ?’ भाइ कृष्ण पौडेललाई सोधें ।
‘हुन्छ,’ कृष्ण राजी भए । मलाई पनि ढुक्क भयो ।

हामीले नजाने जिद्दी गरिसकेपछि तल बसेको समूह पनि माथि नै उक्लिने नै भयो ।

उनीहरुलाई ‘विस्तारै आउँदै गर्नु है !’ भन्दै उकालो लाग्यौं ।

फेरि हरायौं !

केही बाटो हिँडेपछि पो थाहा भयो, फेरि गलतै बाटो हिँडिएको रहेछ । रिस साँच्चिकै हानिकारक नै हुनेरहेछ । अहो ! रिसैरिसमा भाइ र म २ जनामात्रै हिँडेको भए त झन् जंगलमै अलपत्र परिने रहेछ । एकाएक मन चिसो भएर आयो ।

फोन सम्पर्क गर्दै सहि बाटो पहिल्याउँदै केही पर पुगेपछि बल्ल अर्को समूहसँग भेट भयो ।

उनीहरू छोटो बाटो भएर हामीभन्दा पहिले नै दुले पुग्ने मुख्य बाटो समाइसकेका रहेछन् ।

हाम्रा लागि नयाँ ठाउँ, नयाँ बाटो र नयाँ नै पाइला । केही सहज होस् भनेर सामान बोक्न मैकोटबाट ३ जना साथी पनि लगेकै थियौं । संयोग के भने २ जना अर्को समूहमा थिए ।

रातको ११ः३० बज्यो । हामी जंगलमै थियौं । खाना त के मुखमा दिउँसैदेखि पानीको थोपासमेत परेको थिएन । निरन्तर हिँडेपछि थाहा लाग्यो, अझै केही पर केही घर छन् । बल्ल दुले आइपुग्न लाग्यौं भनेर ढुक्क हुन सकियो ।

दुलेमा पनि ३/४ वटामात्रै घर थिए, सबै सुनसान । एउटा घरमा सानो उज्यालो झिल्का देखेपछि मनै उज्यालो भयो । निष्पट्ट अँध्यारोमा उज्यालोको झिल्को पनि सूर्य बराबर हुँदो रहेछ ।

तर, घर देखेर खुसी भएका हामीलाई हाम्रो खुसीको पर्खाल त्यतिबेला ढल्यो । जतिबेला हामीले थाहा पायौं-घरमात्रै रहेछन्, मान्छे नरहेछन् ।

हामी भोकले आकुलव्याकुल भइसकेका थियौं । बाँकी बचेका घरमा मान्छे छन् कि भनेर केही साथीहरु खोज्नतिर लागे, कोही आँगनमा रहेका ड्रम हल्लाउन । पछि थाहा पायौं, ‘हिउँ पर्ने मौसम भएकाले यो पदयात्रामा कोही हिँड्दैनन् । बढी चिसो हुने भएकाले त्यहाँ बसोबास गर्ने मान्छेहरु पनि बेंशी झर्छन् ।’

आधा रात बितिसक्यो । घरमा मान्छेहरु छैनन् भनेर हाम्रो थकान, भोक, प्यास तिर्खाले मान्नेवाला थिएन । केही उपाय निस्किन्छ कि भनेर घरघर चहार्दै हिँड्न थाल्यौं । एउटा घरको दलीनमा सानो प्वाल रहेछ । सानो लाठीको सहाराले खोल्न लाग्यौं । धन्न ! खुल्यो !

यस्तो हालतमा थियौं कि घर फोडेर बस्न पनि तयार थियौं । मनबाट पाप, आरोपको भय सबै हराइसकेको थियो । भोकको अघि हाम्रो आदर्श झुकिसकेको थियो । भित्र छिर्‍यौं, स्वर्गकै द्वारा छिरेजस्तो आनन्दानुभूति भएर आयो ।

कोही बाहिरबाट दाउरा ल्याएर आगो फुक्न आट्यौं भने कोही पानी खोज्न । साथीहरुसँग केही चाउचाउ थियो, त्यही चाउचाउ पकाएर खायौं । हामीसँगै मैकोटबाट गएको एकजना भाइले मद -स्थानीय उत्पादित रक्सी) बोतलमा हालेर ल्याएका रहेछन् । सबै केही साथीहरु मिलेर एकएक कप खायौं । केहीबेरमा ज्यान तातिएपछि स्लिपिङ ब्यागभित्र छिर्‍यौं ।

अल्कोहलबाट टाढै बसेको मलाई त्यही एक कपले रिमरिम पारिसकेको थियो, त्यसमाथि दिनभरको हिँडाइ । कतिबेला निदाएछु, थाहै भएन । निद्रा खुल्दा २ः२७ बजेको रहेछ । जाडो भइरहेको थियो ।

चिसोका कारण निद्रा लाग्न सकेन । बाहिर निस्किएँ । आगो निभिसकेको रहेछ । बालेर ताप्दै बसें । बिहान सबै विस्तारै उठ्दै यात्रालाई निरन्तरता दियौं । चिसो र हुस्सुले ढाकिएको उकालो बाटो, त्यसमाथि अनिँद्रा र खानाको अनियमितता । हिँड्नै गाह्रो भइरहेको थियो ।

बल्ल भेटियो, गुरिला पदमार्ग । अर्थात् तत्कालीन जनयुद्धमा छापामार हिँडेको बाटो !

पहिलेको पदमार्गभन्दा यो केही व्यवस्थित थियो । बाटाबाटामा सांकेतिक बोर्ड थिए, प्रतीक्षालयहरु पनि थिए । यात्रा केही सहज हुने भयो ।

त्यही गुरिला पदमार्ग हुँदै डोल्पा सदरमुकाम निस्किने भन्दा केही स्थानीयले अविश्वास गरे, ‘गाह्रो छ बाबुहरु नजानुस्, बेक्कारमा दुख पाउनुहोला फेरि ।’ तर, हामी हार मान्नेवालामा थिएनौं ।

मित्र राजु दास राम्रो ट्रेकर हुनुहुन्थ्यो र म आफू पनि थोरङलाः, मनास्लु, लार्केलाः, तिलिचो अन्नपूर्ण बेस्क्याम्प, धवलागिरिजस्ता ६ हजार मिटर आसपास उचाइका पदयात्रा गरिसकेकाले आत्मविश्वास ज्युँदै थियो । हामीसँग गएका अरु भाइहरु पनि सानातिना पदयात्रा गरिसकेकाले सक्छन् भन्नेमा हामी ढुक्क थियौं ।

हामी उकालो लाग्यौं, डोल्पातिर ।

केही उकालो हिँडेपछि केही समथर भाग आयो र चौतारीमा थकान मार्न थाल्यौं । मैकोटबाट हामीसँग आएका स्थानीयले डोल्पा उक्लन अरुचि देखाएपछि त्यहींबाट बिदाइ गर्‍यौं । डोल्पा राति १०, ११ बजे त पुगिन्छ भन्ने अनुमान थियो । र, लाग्यौं- याङ्खर भिरको बाटो ।

‘शीर फूल शीरैमा वन फूल वनैमा, हिउँको फूल धौलासिरिमा …’, ‘पेल्माको तिरैतिर याम्खारको भिरैभिर’ अमृत गुरुङको गीत गुन्गुनाउँदै, सुन्दै, फोटो खिच्दै लाग्यौं । सबैमा छुट्टै जोस, जाँगर थियो । यात्रा र प्रकृतिको सुन्दर दृश्यले हिजोको पीडा कसैलाई याद थिएन ।

खै कताबाट जोस पलायो कुन्नि ? निसान लामिछाने भाइ सबैभन्दा छिटो उकालो तय गरे ।

सँगसँगै सरोज तिवारी भाइ पनि । उनीहरु डाँडामा पुगेर पनि ध्यानमा बस्न थालेछन् । म पुग्दा उनीहरु रमाउँदै थिए । त्यहाँबाट देखिने ३६० डिग्रीको हिमाली दृश्य सायदै कल्पना गरियो होला !

हिमाल, पहाड र निलो आकासमा हामी रमाइरहेकै थियौं । झल्यास्स याद आयो – हामी फेरि हराएछौं ।

‘दाइ हेर्नु त यहाँबाट त बाटो नै छैन,’ निशान भाइले पत्तो पाएछन् । सबैको ध्यान केन्दि्रत भयो । बाटोको पुछारमा हेर्दा त फेरि हिजै बास बसेको दुले देखियो । थाहा लाग्यो, ‘हामी फेरि गलत बाटो आएछौं ।’

उकालो चढिसकेका हामी फेरि चुपचाप ओरालो झर्न थाल्यौं । बाटो नसकिएको देख्दा र हराएको देख्दा हैरान भइसक्यो । भोकले सबै याकुलव्याकुल थियौं । बोकेका पानी पनि सकिन लागिसकेको थियो । केही सीप नलागेपछि हिउँ बोतलमा राखेर मुख भिजाउँदै हिँड्यौं ।

दिउँसोको २ बजिसकेको थियो । यति लामो यात्रामा पनि बाटोमा न कुनै घर भेटिए न कुनै मान्छे । खाजा खाने कि खाना ? दुविधामा थियौं । पानी खोज्दै जाँदा एउटा ठूलो पहाडको खोंचमा मूल भेटियो ।

केही खानेकुरा खाएर फेरि लागियो, पुपाल उकालोतिर । जुन उकालो सकिएपछि रूकुमको यार्सागुम्बा उपत्यका क्षेत्र आउँदो रहेछ । त्यही क्षेत्र पछि पुपाल ताल रूकुम, पुपाल लेक (४५५० मिटर) सकिएपछि सिस्ने पास (५२०० मिटर) । सिस्ने पास सकिएपछि जंगला भञ्ज्याङ पास (४३३४ मिटर) डोल्पा आउँदो रहेछ ।

साँझको ६ बजिसकेको थियो । भाइ सरोज र म बल्ल पुपाल लेक पुग्यौं । अरू पछि आउँदै थिए । करिब एक घन्टापछि राजु सर आइपुग्नु भो र भन्नभो, ‘भाइ निसानलाई हाइटले गाह्रो भएजस्तो छ ।’ हामी त्यही बस्यौं र सरोजलाई निशान लिन पठायौं ।

उचाइमा समस्या आए एकजनालाई मात्रै होइन, सबैलाई गाह्रो पार्न सक्थ्यो । कुनै उपाय थिएन । न फोन लाग्थ्यो न कुनै सम्पर्क सूत्र । मुटुमा चिसोसँगै डरले ढ्याङ्ग्रो ठोक्न थाल्यो ।

करिब पौने ७ बजेतिर निशानलाई लिएर सरोज पुपाल आइपुगे । आधा छाक खाएर हिँडेका हामी, त्यसमाथि नाकै ठोक्किने याम्खारको भीर । तर, निशानलाई भेटिसकेपछि भने मनमा सन्तोष मिल्यो, सहिसलामत नै रहेछ स्वास्थ्यावस्था ।

सबैको आस थियो, ‘यो पास कटेपछि पक्कै पनि छोडेको भएनि रैथाने गोठहरु होलान् । केही नमिले पनि बास बस्न त मिल्ला !’ चारैतिर हिमाल टलटल टल्किराखेका थिए । भूइँ पनि हिउँले सेताम्मे थियो । बाटो हिउँले पुरिएको थियो, हामी अन्दाजको भरमा हिँडिराखेका थियौं । फर्किऊँ ? सम्भव थिएन ।

हिमालको उज्यालोबाहेक अर्थोक केही थिएन । अन्धकार छाइसकेको थियो । भएको लाइट पनि अति चिसोले काम नगर्ने भइसकेको थियो । मोबाइलको टर्च बालेर भए पनि हिँडिरहेकै थियौं । त्यो पनि विस्तारै मधुरो हुँदै बन्द हुँदै थिए । लड्दै, उठ्दै हिँडिरहृयौं ।

अब हामीसँग समय हेर्न घडी पनि थिएन । रातको करिब १० बजेको हुँदो हो । म पनि लडें । बोकेको झोला एकातिर, लट्ठी एकातिर र म अर्कोतिर उछिटि्टएँ । लडेर धेरै नै तल पुगिसकेको रहेछु । केही सेकेन्डभित्रै बाबु, सानु र ममी सबैको याद आयो । हातको एउटा कुहिनाले हिउँमा अडि्कएको थिएँ, बाँच्दिनँ होल भन्ने भइसकेको थियो । किनकी आँखा अगाडि अन्दाजी ८ सय मिटरभन्दा अग्लो हिउँले भरिएको भीर थियो । हात छुटे, जिन्दगी छुट्थ्यो ।

लामो समय लगाएर साथीहरुले माथिबाट तान्न त सफल भए । तर, चिसो र डरले ज्यान लुगुलुगु काँपिरहेको थियो । बिहानसम्म यतै बसूम् बस्न मिल्ने ठाउँ थिएन, हिँडूँ बाटो थिएन । अलिअलि गर्दै विस्तारै अगाडि बढेपछि एउटा खोला आइपुग्यो । ‘अब लडे नि भीरमा परिन्नँ,’ मन ढुक्क भयो ।

खोला जमेर पानी थिएन, बरफ थियो । त्यहाँ हिँड्न पनि उस्तै डर थियो, कहीं खाल्डोमा पो परिने हो कि ! हिउँ केही पातलिएपछि फेरि उकालो चढ्न थाल्यौं । डाँडामा पुगेपछि थाहा भयो-जुन डाँडा चढेका थियौं, त्यही डाँडामा मात्र पातलो हिउँ रहेछ । बाँकी अरू दायाँ बायाँ सबै सेतामै हिउँले भरिएका रहेछन् ।

केही उपाय निस्किन्छ कि भनेर डाँडा चढेका हामी झनै रनभुल्लमा पर्‍यौं । त्यहाँबाट एकातिर पहिरो देखियो अर्कोतिर बडेमानको खोंच । चिसो, भोक र प्यासले गर्दा पाइलाहरू चलाउनै सकिएको थिएन । न बाटो भेटिन्छ, न त बस्न मिल्ने ठाउँ नै न पानी ! हामी आफैं हिउँजस्तै चिसो हुनमात्रै बाँकी थियो ।

त्यसरात त्यही डाँडामा बस्ने निधो भयो । भोलि मरिन्छ या बाँचिन्छ थाहा छैन । तर, रात जसोतसो कटाउने सहमति भयो । हावा एकतमासले चलिरहेकै थियो । अन्दाजी ४३/४४ सय मिटरको उचाइमा खुल्ला आकाश मुनि थियौं । बाँच्न लेखेरै होला त्यो राति हिउँ परेन । हिउँ पहिराहरू पनि आएनन, हावा बेस्मारी चल्यो । तर, हुस्सु लागेन । केही ढुक्क हुँदै गयौं ।

बिहानै फेरि यात्रा सुरु भयो । हराउँदै हिँड्ने यात्रा तल जंगललाः फेदीमा पुग्यौं । कलकल बगिरहेको खोलाको छेउमा पानी तताएर खान लाग्यौं । बोकेको चाउचाउ सकिइसकेको थियो । कोहीकोहीसँग बचेको बिस्कुट, चक्लेट बाँडिचुँडी खायौं । त्यही थियो, हाम्रो ब्रेकफास्ट, हाम्रो लन्च ।

त्यसपछि सुरु भयो, जंगलाः उकालो । सबैको मनमा थियो, जंगला पास सकिएपछि गाउँ छ । यही आशको जोसमा जंगल पास पुगियो । हिउँ र हिमाल देख्दा दिक्क लागिसकेको थियो । जंगला पास पुगिसकेपछि फेरि सुरु भयो, हाम्रो हराउने अर्को सिलसिला ।

उता डोल्पा भेगमा घाम कम लाग्ने रहेछ । झनै बाक्लो हिउँ । बाटो त कता हो कता अन्दाज पनि गर्न सकिएन । तल धेरै तल एउटा हरियो वन देखियो टार्गेट त्यही हरियो वन बन्यो ।

झर्ने क्रममा म र कृष्ण भाइ अघिअघि थियौं । साथीहरू सजिलो बाटो खोज्दै थिए । कुनै पनि पास क्रस गर्दा बिहानको १२ बजेभित्र काटिसक्नुपर्ने हुन्छ । थाहा थियो । तर, बाटो हराएको हुँदा पास क्रस गर्दा रात नै पर्‍यो ।

भाइ र म धेरै नै तल पुग्यौं । अरू सबै पछाडि नै भए । बाटोमा कोही भेटिए जानकारी पाइन्थ्यो कि भन्ने आशै आशमा हामी हिँडिरहेकै थियौं । यात्रा आशा नै आशाको रहृयो ।

बाटोमा तोरण र मान्हेपेम्हेः देख्दा बस्ती आयो कि भन्ने भयो । कति बज्यो ? कति हिँड्नु छ ? केही थाहा छैन । हिँड्दा हिँड्दा रात पर्न लागिसक्यो बस्ने ठाउँ आएकै छैन । गाईबस्तु हिँड्ने बाटा भेटिए । केही ठुल्ठूला सल्लाका बुटाहरू ढलाएर राखेको भेटियो। लाग्यो-गाउँ आयो । तर, त्यो पनि आशमात्र रहृयो ।

बेलुका ७ बजिसकेको थियो । हामी दुई जानमात्रै थियौं । हामीसँग न लाइट थियो न फोन । धेरै तल आएपछि केही उज्यालो देखियो । टाढाबाट बाटोमा सेतो घोडा चरिरहेको पनि देखियो । घोड पछ्याउँदै हिँड्यौं, घोडा पनि हामीजस्तै हराएको रहेछ ।

निकै बेर हिँडेपछि डोल्पाको टुपीसेरा भन्ने गाउँमा आउन सफल भयौं । रातिको समय नयाँ ठाउँ, नयाँ मान्छे बास पाउन गाह्रो भो । एक जना दाइलाई धेरै बेर रिक्वेस्ट गरेपछि बल्ल बस्न पायौं । त्यहाँ भने सानो माइक्रो हाइड्रोको बिजुली रहेछ । फोन चार्ज गर्न पायौं ।

भाइ सन्देशको फोन आयो । अरू पनि हाम्रैपछि आएका रहेछन् । र त्यही गाउँका २ जना स्थानीयलाई खानेपानी लिएर लिन पठायौं । २ घन्टापछि सबै सँगै भयौं । भोलिदेखिको यात्रा नहराई डोल्पा सदरमुकाम दुनै हुँदै पोखराको आइपुग्यौं ।

कहिले यात्रामा त कहिले जिन्दगीमा हराउँदै हराउँदै चलिरहेछ । अहिले पोखरा आएर सम्झिएँ, ‘त्यो यात्रा कठिन पक्कै थियो र अविष्मरणीय ! अब सायदै मिल्ला त्यो अनुभव !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?