 
																			२७ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सत्तारुढ दलका विद्यार्थी संगठनले काठमाडौंका तीन जिल्लामा मात्रै तालमेल गरेका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका क्याम्पसमा कांग्रेसको नेपाल विद्यार्थी संगठन, माओवादीको अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूले तालमेल गर्ने निर्णय अनुसार भागवण्डा गरिएको छ ।
अन्य जिल्लामा तालमेलको निर्णय हुन नसकेको नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले जानकारी दिए । तालमेल गर्दा अध्यक्ष लिएको स्थानमा सचिव र कोषाध्यक्ष अर्को संगठनबाट उम्मेदवार हुने मापदण्ड बनाइएको छ ।
कर्णका अनुसार नेविसंघले १५ क्याम्पसमा अध्यक्षमा उम्मेदवारी दिएको छ । अखिल क्रान्तिकारीले १० र अनेरास्ववियूले ३ क्याम्पसको सभापति उठाउने सहमति बनेको छ । तालमेल गर्दा विगतमा जितेको आधार र संगठनको बललाई आधार बनाइएको कर्णले बताए ।
नेविसंघले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, पद्मकन्या, शंकरदेव, पब्लिक युथ, नेपाल कमर्श क्याम्पस, मीनभवन, महाराजगञ्ज चिकित्सा क्याम्पस, पशुपति, पाटन, आयुर्वेद क्याम्पस, जनप्रशासन, ग्रामीण आदर्श, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालिमाटी, शिक्षा क्याम्पस, विश्वभाषा क्याम्पसको सभापति पाएको छ ।
त्रिचन्द्र नेविसंघको भागमा परेपनि मतदाताका विषयमा विवाद भएपछि चैत ५ मा भने उक्त क्याम्पसमा स्ववियु निर्वाचन नहुने भएको छ ।
माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारीले नेपाल ल, सरस्वती, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठीमी, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पस लगायतमा सभापति पाएको छ ।
नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूले रत्न राज्यलक्ष्मी, महेन्द्र रत्न ताहाचल र बानेश्वर क्याम्पसमा सभापति पाएको छ ।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेविसंघले सभापति पाएका ठाउँहरुमा नेविसंघकै अर्को समूहले बागी उठाएको छ । संस्थापन पक्षले श्यामराज ओझालाई केन्द्रीय क्याम्पसमा सभापतिको उम्मेदवारको टिकट दिएपछि विष्णु बडेलाले पनि उम्मेदवारी दिएका छन् । संस्थापनइतरको समर्थनमा बडेला सभापतिको उम्मेदवार बनेका हुन् ।
जनप्रशासन क्याम्पसमा संघका अध्यक्ष दुजाङ शेर्पाले श्याम पाण्डेलाई टिकट दिएपछि शिशिर पाण्डेले बागी उम्मेदवारी दिएका छन् । नेपाल ल क्याम्पस क्रान्तिकारीको भागमा परेपछि नेविसंघ निकटका मोहम्मद माजिद परवेजले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
शंकरदेवमा सुशान्त सिंह बस्नेतले सभापतिको टिकट पाएका छन् । तर सुशील धामी नेविसंघको बागी उम्मेदवार बनेका छन् । शंकरदेव नेविसंघको भागमा परेपनि माओवादी क्रान्तिकारीले समेत उम्मेदवारी दर्ता गएको छ । पब्लिक युथमा नविन पाण्डेले टिकट पाउँदा शोभा बस्ताकोटी बागी उम्मेदवार बनेकी छन् ।
नेविसंघको भागमा परेका क्याम्पसको उम्मेदवार चयन गर्न तीन जनाको समिति बनेको थियो । अध्यक्ष शेर्पा सहित शेखर–गगन पक्षबाट प्रेमिका रानामगर र विद्यार्थी नेता सिर्जना मल्ललाई टिकट वितरणको जिम्मेवारी दिइएको थियो । नेविसंघले सभापति उठाउने क्याम्पसमा अध्यक्ष शेर्पाले एकलौटी गरेको इतर पक्षको आरोप छ ।
पुल्चोक क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता हुन सकेन । रत्न राज्यलक्ष्मी, नेपाल कमर्श क्याम्पस, बानेश्वर क्याम्पस, काेटेश्वर क्याम्पस, ग्रामीण आदर्श क्याम्पसमा विभिन्न संगठनको तालाबन्दी छ। वाल्मीकी विद्यापीठमा आइतबार उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4