+
+

रेमिट्यान्स वृद्धि र आयात नियन्त्रणले बाह्य क्षेत्रमा सुधार

‘आन्तरिक आर्थिक गतिविधि बढाउने चुनौती’

विजय पराजुली विजय पराजुली
२०७९ फागुन २८ गते २०:२०

२८ फागुन, काठमाडौं । रेमिट्यान्समा वृद्धि, आयातमा नियन्त्रण र उच्च ब्याजदरका कारण मागमा आएको कमीका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको छ । उच्च आयात र रेमिट्यान्स गिरावटका कारण विदेशी विनियम सञ्चिती घट्दै गएका बेला बाह्य क्षेत्रमा देखिएको दबाव कम भएको नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को सात महिना अर्थात् गत साउनदेखि माघ मसान्तसम्ममा व्यापार घाटा गत आर्थिक वर्षको तुलनामा १८.७ प्रतिशतले कम भएर ८ खर्ब २५ अर्ब ७३ करोडमा झरेको छ । रेमिट्यान्स भने २७.१ प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड पुगेको छ । यसको सकारात्मक प्रभावस्वरुप शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब रुपैयाँ भन्दा बढी बचतमा छ । विदेशी विनिमय सञ्चिती गत असार मसान्तको तुलनामा १३.८ प्रतिशतले वृद्धि भएर १३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

विदेशी मुद्राको यो सञ्चिती ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकको प्रक्षेपण छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिती कायम राख्ने लक्ष्य लिएको थियो । आर्थिक वर्षको आधा अवधि सकिँदा उक्त सूचक लक्ष्यभन्दा धेरै माथि रहेकाले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

शोधनान्तर घाटा चुलिँदै गएर विदेशी विनियम सञ्चितीमा चर्को दबावको अवस्था देखिएपछि २०७८ पुसदेखि राष्ट्र बैंकले आयात नियन्त्रणको लागि विभिन्न उपाय लगायो । विदेशबाट सामान आयात गर्न एलसीमा नगद मार्जिन, आयात कर्जाको जोखिम भार वृद्धि जस्ता उपायले पनि आयात नियन्त्रण नभएर बाह्य क्षेत्रमा दबाव बढ्दै गएपछि २०७९ वैशाखमा नेपाल सरकारले केही वस्तुको आयात नै रोक्ने निर्णय गर्नुपरेको थियो ।

तर, अहिले अवस्था ठीक विपरीत हुन पुगेको छ । राजश्व प्रणाली आयातमा आधारित भएकाले बाह्य क्षेत्रमा सुधार भए पनि सरकारी वित्तमा भने दबाव बढिरहेको छ । साउनयता सरदर मासिक १ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । यसले बाह्य क्षेत्रमा देखिने गरी सुधार भएको छ ।

तर, आयात वृद्धि, निजी क्षेत्रमा जाने कर्जा लगायत आन्तरिक आर्थिक गतिविधि बढाउने तथ्यांकमा सुधार नभएको नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक थापा बताउँछन् । बाह्य क्षेत्रमा देखिएको सुधार नेपालमा आर्थिक गतिविधि स्थिर हुँदाको प्रभाव मात्रै रहेको थापाले बताए । ‘बाह्य क्षेत्र बलियो हुनपर्छ । तर, त्यसको लागि आन्तरिक आर्थिक गतिविधि संकुचन हुनुहुदैन’, उनले भने, ‘आयात रोकेर त्यसको अन्तराल प्रभाव बाह्य क्षेत्रमा देखिएको हो । निर्यात बढेर, पर्यटन क्षेत्र विस्तार भएर अथवा प्रत्यक्ष वैदेशिक लगानी बढेर सुधार भएको होइन ।’

बाह्य क्षेत्र सुधार हुँदैमा आन्तरिक आर्थिक गतिविधिमा भने सुधार नहुने भन्दै थापाले अबको आवश्यकता आन्तरिक आर्थिक गतिविधि बढाउनु रहेको बताए ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख श्रेष्ठ पनि बाह्य क्षेत्र सुधार भएपनि आन्तरिक अर्थतन्त्र भने दबावमै रहेको स्वीकार्छन् । ब्याजदर घट्दो क्रममा रहेको र तरलता सुधार हुँदै गएकाले आगामी दिनमा आन्तरिक आर्थिक गतिविधि पनि विस्तार हुने अपेक्षा गर्न सकिने उनी बताउँछन् ।

घट्यो निक्षेपको ब्याजदर

पुसमा ८.५१ प्रतिशत पुगेको निक्षेपको भारित औसत ब्याजदर माघमा ८.४१ प्रतिशतमा झरेको छ । यस्तै चैत मसान्तमा कर्जा र निक्षेपबीचको भारित ब्याजदर अन्तर (स्प्रेड दर) ४.२ प्रतिशत कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ४.४ प्रतिशत पुगेको स्प्रेड दर चैतमा ४.२ प्रतिशत कायम गर्नुपर्ने र निक्षेपको लागत पनि घटेकाले चैतदेखि कर्जाको ब्याजदर घट्ने अवस्था देखिएको छ ।

पुस मसान्तमा १०.९१ प्रतिशत रहेको बैंकहरुको औसत आधार ब्याजदर (बेसरेट) माघमा १०.७२ प्रतिशतमा झरेको छ । बैंकहरुले कर्जामा ब्याजदर निर्धारण गर्दा बेसरेटलाई नै आधार मान्ने हुनाले घटेको बेसरेटले कर्जाको ब्याजदर घटाउन थप सहयोग पुग्नेछ ।

अहिले निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको र तरलता पनि सहज बन्दै गएको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख श्रेष्ठले बताए ।

अर्थतन्त्रमा सुधार हुँदै गएपनि मूल्यवृद्धि भने सरकारको लक्ष्यभन्दा माथि देखिएको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले र मौद्रिक नीतिमार्फत राष्ट्रबैंकले मुद्रास्फीति ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएका थिए । डा. श्रेष्ठका अनुसार पुस मसान्तमा ७.२४ प्रतिशत रहेको वार्षिक बिन्दुगत मुद्रास्फीति माघ मसान्तमा ७.८८ प्रतिशत पुगेको छ । भारतमा मुद्रास्फीति बढ्दा त्यसको प्रभाव नेपालमा पनि परेको उनको भनाइ छ ।

भारतले गहुँ तथा चामलको आयातमा कडाई गर्दा नेपालमा मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकको अनुमान छ । माघमा थोक मुद्रास्फीति घट्न थालिसकेकाले विस्तारै उपभोक्ता मुद्रास्फीति पनि घट्ने राष्ट्र बैंकको आशा छ ।

रेमिट्यान्समा उल्लेख्य सुधार

गत साउनदेखि माघ मशान्तसम्म गरी नेपालमा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन सरदर महिनाको १ खर्ब हो । माघ महिनामा मात्र १ खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि धेरै बढेको छ । संस्थागत तथा व्यक्तिगत रुपमा नयाँ श्रम स्वीकृति नेपालीको संख्या गत वर्ष भन्दा ५७.३ प्रतिशतले बढेर ३ लाख १४ हजार ७६७ जना पुगेको छ । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १०.१ प्रतिशतले बढेर १ लाख ६७ हजार ७०८ पुगेको छ ।

सोधनान्तर स्थिति सहज

गत साउन र भदौमा घाटामा रहेको शोधनान्तर स्थिति असोजपछि भने लगातार बचतमा छ । आर्थिक वर्षको ७ महिना सकिंदा माघ अन्तिममा शोधनान्तर बचत १ खर्ब ३३ अर्ब २१ करोड पुगेको छ ।

पुस मसान्तमा ९७ अर्ब १० करोड रुपैयाँ रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै थप ३६ अर्ब ११ करोडले वृद्धि भयो । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा थियो ।

गत आर्थिक वर्षको ७ महिनामा ४ खर्ब ११ अर्ब ३४ करोड रहेको चालु खाता घाटा चालु आर्थिक वर्षको माघ मसान्तमा आउँदा २९ अर्ब ६४ करोड रुपैयाँले मात्रै घाटामा छ । व्यापार घाटा १८.७ प्रतिशतले घटेको र रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि हुँदा त्यसको प्रभाव शोधनान्तर स्थिति र चालु खातामा देखिएको हो ।

मुद्रास्फीतिमा भने चाप

माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत छ । गत वर्ष यही अवधिमा ६.२४ प्रतिशत थियो । केन्द्रीय बैंकको विवरणअनुसार गत साउनदेखि माघसम्म खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.१९ प्रतिशत छ भने गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ । गत वर्ष यस अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.९३ प्रतिशत र गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ६.४९ प्रतिशत थियो ।

गैरखाद्य तथा सेवा समूहमा १५.५८ प्रतिशत, स्वास्थ्यमा १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुमा ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिमा ८.८१ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

साउनदेखि माघ मशान्तसम्म काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मूल्यवृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । २०७८ माघ महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ६.९१ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मूल्यवृद्धि थियो ।

उपभोक्ता मूल्यवृद्धि लक्ष्यभन्दा माथि भए पनि थोकमा मूल्यवृद्धि केही कम छ । राष्ट्र बैंकको विवरणअनुसार गतवर्ष माघमा १०.३४ प्रतिशत रहेको थोक मूल्यवृद्धि यस वर्ष घटेर ९.६७ प्रतिशतमा झरेको छ । माघमा उपभोग्य वस्तु ३.४९ प्रतिशत, मध्यवर्ती वस्तु १४.०२ प्रतिशत र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ५.४४ प्रतिशत रहेको छ । माघमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.०७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?