+
+

उपेन्द्र यादवको पथविचलन, तर सजिलो छैन संसदयात्रा

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ फागुन २८ गते २०:३३

२८ फागुन, काठमाडौं । उपराष्ट्रपति चुनावमा अहिलेकै समीकरणले काम गरे जसपा सांसद रामसहाय प्रसाद यादवले जित्नेछन् । उनले जितेमा बारा क्षेत्र २ खाली हुनेछ । तर यो खबरले उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई कुनै खुसखबरी ल्याउने छैन । कारण, खुद जसपा अध्यक्ष उपेन्द्र यादव रामसहायको खाली ठाउँ भर्न आइपुग्नेछन् ।

सम्भवतः कुशवाहले आफ्नै उम्मेदवारीका पक्षमा जोड लगाउलान् पनि । तर गठबन्धनका अघिल्तिर दलको केही नलाग्ने अवस्थामा उनी पछि हट्ने सम्भावना आकलन गर्न कठिन छैन ।

गत मंसिरको चुनावमा सप्तरी– २ मा प्रतिद्वन्द्वीभन्दा आधा अन्तरले हारेका उपेन्द्र यादव अब बारा–२ को उपचुनाव लड्न चाहन्छन् । कुनै विशिष्ट प्रतिभा भएर रामसहाय  उपराष्ट्रपति बन्न लागेका होइनन् । यसै पनि राष्ट्रपतिमा पुरुष खस आर्य समूहका रामचन्द्र पाैडेल चुनिइसकेकाले बाँकी उपराष्ट्रपति पदमा अब महिला जानुपर्ने अपेक्षा हुँदै हो । त्यसमाथि जसपाबाटै प्रमिला कुमारीको उम्मेदवारी समेत यो पदका लागि परिसकेको छ ।

एउटै दलबाट एउटै पदका लागि दुईजनाको उम्मेदवारी पर्नु आफैंमा अनौठो घटना हो, भलै यसको अन्तर्यमा उनै रामसहायको अनुमोदन गर्ने अनि उनको क्षेत्रमा खाली ठाउँ भर्ने उपेन्द्र चाहना लुकेको छैन । पार्टी अध्यक्ष उपेन्द्रको जसरी पनि सांसद बनिछाड्ने महत्वाकांक्षा पूर्ति गराउनका लागि रामसहायलाई उपराष्ट्रपति प्रत्यासी बनाइएको छ ।

जसपा उच्च स्रोतका अनुसार, भोलि या पर्सि प्रमिला कुमारीको वक्तव्य आउनेछ, जसमा उनले आफ्नो उम्मेदवारी निष्क्रिय गराएर रामसहायका पक्षमा खुल्नेछिन् ।

मधेश राजनीतिमा उपेन्द्र स्थापित हुँदैगर्दा त्यसभन्दा पहिलेका अधिकांश अनुहारहरु पदलोलुपताका कारण बदनाम बन्दै थिए । उपेन्द्रले तिनको थप ‘एक्सपोज’ गर्दै अब मधेश सत्ताको सौदाबाजी होइन, अधिकारको लडाईंमा अब्बल बन्ने आश जगाउँदै थिए । उनै उपेन्द्रले जस्केलाबाटै भए पनि सांसद बनिछाड्ने संकल्प गरेको देख्न सकिन्छ । त्यसका लागि संविधानको धारा ७० मा रहेको फरक लिंग या समुदायको भन्ने शब्दलाई आफू अनुकुल प्रयोग गराउँदै उनी महिलाको सट्टा पुरुष उपराष्ट्रपति उम्मेदवार खडा गर्न लागेका छन् ।

जसपा प्रवक्ता मनिष सुमन भने उपराष्ट्रपति उम्मेदवार खडा गरेकै आधारमा उपेन्द्र यादव संसद आउन खोजेको निष्कर्ष निकाल्नु हतारो हुने दाबी गर्छन् । पहिले आफ्नो उम्मेदवारले चुनाव जित्नुपर्ने, त्यसपछि मात्रै उपचुनावको बारेमा सोचिने उनको तर्क छ ।

‘हुन त हाम्रो अध्यक्ष संसदमा नहुँदा त्यसको प्रत्यक्ष असर संघीयता पक्षधरहरुलाई पर्न थालिसकेको छ, त्यसैले पनि उहाँ यो संसदमा जान आवश्यक पात्र हो’, सुमनले भने, ‘तर यसको मतलब उहाँ नै उम्मेदवार बन्न लाग्नुभयो भन्ने होइन ।’

उसो भए बारा २ मा जसपाको उम्मेदवार को त ?

सुमनले संकेतमा भने, ‘पार्टीले रामसहायजीजस्तै बलियो, अझै बलियो पात्रलाई उठाउँछ ।’

जसपा नेताहरुको भनाईले उपेन्द्र नै संसद हुँदै सत्तायात्रा गर्न चाहन्छन् भन्ने प्रष्ट खुल्छ । उनै उपेन्द्रलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य मन्त्रालय खोसेर कानुनमन्त्री बनाउँदा समेत अप्ठेरो नमानी क्याबिनेटमा बसिरहेका थिए ।

विश्लेषक सीके लाल यस्तो प्रवृत्तिलाई कमजोर व्यक्तिहरुको मनोवृत्तिसँग जोड्छन् । अनि यसका पछाडि मनोवैज्ञानिकमात्रै नभई समाजशास्त्रीय कारणसमेत जिम्मेवार रहेको ठहर्‍याउँछन् ।

‘कमजोर व्यक्तिहरुमा विश्वास गरिहाल्ने प्रवृत्ति हुँदैन, अहिले उपेन्द्र त्यस्तै हालतमा छन्,’ लाल भन्छन्, ‘यस्तो प्रवृत्तिले अप्ठेरो बेलामा त जोगाउला पनि, तर सहज बेलामा राम्रो काम गर्नबाट रोक्छ ।’

यस्तै बानीका कारण उपेन्द्रले यो बेलामा आफूलाई चरम असुरक्षित महसुस गरिरहेको लालको भनाइ छ । आफू संसदमा नभएकै बेला अशोक राई, राजेन्द्र श्रेष्ठ या यस्तै अरु पात्रहरुबाट आक्रमण हुन सक्ने आशंकाले समेत उपेन्द्र शक्तिमा पुग्न हतारिएको उनको बुझाइ छ ।

उपेन्द्रको सम्भावित संसद यात्रा त्यति सजिलो भने हुने छैन । किनभने गत चुनावमा जनमत पार्टी अध्यक्ष सीके राउतसँग पराजित उनलाई फेरि पनि जित्न नदिन विभिन्न चलखेल हुन सक्ने स्वयं उनको दलको आकलन छ ।

त्यस्तो चलखेलको पहिलो सुरुवात हुन सक्छ– स्वयं रामसहायलाई उपराष्ट्रपति चुनाव हराएर ।

जसपा सूत्रका अनुसार एमालेले अष्टलक्ष्मी शाक्यलाई खडा गर्दैगर्दा संघ र प्रदेशसभा दुवैतर्फका सांसदहरुमा यसअघि नै महिला सेन्टिमेन्ट, अनि अथक राजनीतिक संघर्षको सन्देश प्रवाह भइसकेको छ । कांग्रेस, माओवादी लगायत दलका सांसदहरुले समेत भोट क्रस गर्न सक्ने आशंका त्यहाँ पैदा छ । अनि जनमत पार्टी लगायतबाट परेको मधेसी महिला उम्मेदवारी रामसहायका लागि अर्को चुनाैती हाे ।

दोस्रो चलखेल उपचुनावमा हुन सक्छ । कथं रामसहायले जितिहालेमा बारा २ को सम्भावित उपचुनाव उम्मेदवारी नै आन्तरिक तथा बाह्य राजनीतिक चलखेलको हिस्सा बन्न सक्छ । राजनीतिक वृत्तमा चर्चा हुनेगर्छ– गत मंसिरको सप्तरी चुनाव उपेन्द्रले आफ्नो कमजोरीका कारणले मात्रै हारेका होइनन्, बरु सीके राउतको बढ्दो क्रेज, अनि त्यसलाई बल दिनेगरी भएका ‘दृश्य–अदृश्य’ गतिविधि पनि जिम्मेवार थिए ।

बारा २ मा फेरि त्यो नहोला भन्न सकिँदैन । जसपा नेताहरुले उपेन्द्रलाई हराउनैका लागि भनेर विभिन्न उम्मेदवारहरु खडा गर्ने सम्भावना रहेको समेत औंल्याए ।

तेस्रो चलखेल स्वयं गठबन्धनमा हुन सक्छ । माओवादी या कांग्रेस कसैले, या दुवै दलले आफ्ना उम्मेदवार स्थानीय तवरमा खडा गर्ने परिस्थिति तयार भएमा केन्द्रको निर्देशनमात्रैको भरमा स्थानीय मत प्रभावित नहुन सक्छ । यसअघिका चुनावमा पनि केन्द्रका सबै निर्देशन कामयाबी छैनन् ।

विश्लेषक सीके लालको भनाइमा यिनै आशंका र अविश्वास समेत उपेन्द्रको सम्भावित यात्राका अवरोधक बन्न सक्छन् । पदमा रहेमात्रै सुरक्षित भइने नेताहरुको लालसाले राजनीति भने स्तरहीन बन्दै गएको उनको भनाइ छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?